पोखरा, १० वैशाख– गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले ५६ वटा पालिकामा ‘एक गाउँ एक खेल मैदान’ परियोजनाअन्तर्गत निर्माण कार्य सुरु भइसकेको बताएकी छन् । प्रदेश सरकारले यहाँका ८५ वटै स्थानीय तहमा खेलकुद मैदान बनाउने उद्घोष गरेको थियो । बिहीबार मन्त्रालयमै आयोजित गण्डकी प्रदेश खेलकूद परिषदका सदस्यहरु र जिल्ला खेलकूद विकास समितीका अध्यक्ष तथा पदाधिकारीहरुलाई मनोनयन पत्र वितरण तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै मन्त्री पुनले प्रदेश सरकारले अगाडी सारेका दुई महत्वपूर्ण परियोजनामध्ये हाई अल्टिच्यूड रंगशालाको निर्माण र गल्फ कोर्षका लागि खेलकूद परिषदले काम गर्नुपर्नेमा जोड दिइन् । मन्त्रालयका सचिव बिनोदबहादुर कुँवरले समृद्ध प्रदेशको रुपमा अगाडी वढाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । गण्डकी खेलकूद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले सामाजिक विकास र रुपान्तरणका लागि पनि खेलकूदको अपरिहार्य रहेको बताए ।





