पोखरा,१० वैशाख–नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) भोलि देखि सुरु हुदैँ छ ।
नेपाल स्पोटर््स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुने लिगको विजेताले नगद ३५ लाख रुपैँया पाउने भएको छ । लिग सुरु हुनु एक दिन अघि पत्रकार सम्मेलन गर्दै आयोजकले पुरस्कार राशीको घोषणा गरेको हो । यस्तै लिग उपविजेताले नगद १५ लाख रुपैँया प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उदयीमान खेलाडीले समान १–१ लाख रुपैँया प्राप्त गर्नेछन् । लिग चरणका सबै खेलमा ए डिभिजन र विदेशी खेलाडी बाहेकका एक खेलाडीलाई उदयीमान खेलाडी घोषित गर्दै १० हजार रुपैँया प्रदान गरिने एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले जानकारी दिए । कोरोना भाइरस महामारीका कारण खेल विना दर्शक दशरथ रंगशालामा हुनेछ ।
लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । लिगमा पोखरा थन्डर्स, विराटनगर सिटी फुटबल क्लब, काठमाण्डौँ रेनर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी र बुटवल लुम्बिनी एफसी रहेका छन् । लिग अन्तर्गत पहिलो खेलमा काठमाण्डौँ र ललितपुर भिड्ने छन् । राउन्ड रोविनको आधारमा खेलाइने लिग जेठ १ गतेसम्म हुनेछ ।





