आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घरेलु मैदानमा नेपालले पहिलो पटक जित्यो ‘टी–२० सिरिज’

घरेलु मैदानमा नेपालले पहिलो पटक जित्यो ‘टी–२० सिरिज’


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७८, शनिबार

काठमाण्ठौ, ११ वैशाख– नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराउँदै नेपालले पहिलो घरेलु भूमिमा टी–२० सिरिजको उपाधि उचालेको हो ।
नेपालले दिएको दुई सय ३९ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७।२ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर म्याक्स ओडोउडले २०, कप्तान पिटर सीलारले १३ र सेबस्टियान ब्राटले अविजित २६ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा करण केसीले ३, सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ तथा अविनाश बोहराले एक विकेट हात पारे। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर दुई सय ३८ रन बनाएको यो ।
टी–२० अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको सर्वाधिक ठूलो रनको कीर्तिमानी लक्ष्य हो । यसअघि टी–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो ।

नेपालका लागि ओपनर कुशत भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले।​ भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन बनाए। जारी सिरिजमा उनको यो चौथो अर्धशतक हो ।

योसँगै उनले नयाँ कीर्तिमान बनाएका छन् । कुशलले एकै सिरिजमा नेपालको तर्फबाट टी–२० चार अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । यसअघि कुशलले डेब्यू खेलपछि लगातार तीन टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको विश्व कीर्तिमान बनाएका थिए ।

डेब्यू खेलपछि कुशलले लगातार तीन खेलमा अर्धशतक बनाएका थिए। ७७ रन उनको टी–२० करियरकै उच्च प्रदर्शन हो। यसअघि उनको सर्वाधिक स्कोर ६२ रन थियो ।
कुशल मल्लले २४ बलमा ५ छक्का र २ चौकासहित ५० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्कासहित ४८ रनको आक्रामक पारी खेले । मल्लको यो पहिलो टी–२० अर्धशतक हो । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३ चौका र २ छक्कासहित ३३ र आसिफले ८ बलमा २ छक्का र १ चौकाको मद्दतमा १६ रनको योगदान दिए ।

बलिङमा फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिए । नेपालले सन् २०१९ पहिलो पटक टी–२० सिरिज जितेको थियो । घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->