बागलुङ, ५ जेठ– बागलुङमा मंगलबार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका बिभिन्न स्थानीय तहले संकलन गरेका नमुनाहरुको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । धौलागिरी अस्पतालमा गरिएको परीक्षणमा मंगलबार मात्रै ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । बागलुङमा सक्रिय संक्रमितको संख्या ९ सय २४ पुगेको छ । संक्रमित मध्ये ४८ जना अस्पतालका वार्डहरुमा र अरु सबै होम आईसोलेसनमा बसेका छन् । धौलागिरी अस्पताल बागलुङको आईसोलेसनमा ३८ जना संक्रमितको उपचार भैरहेको छ । ताराखोला अस्थायी कोभिड अस्पतालमा ५ जना, गलकोट अस्थायी कोभिड अस्पतालमा २ जना र बरेङ अस्थायी कोभिड अस्पतालमा ४ जनाको उपचार भैरहेको छ । त्यस्तै बागलुङ नगरपालिकाको आईसोलेसन सेन्टरमा ७ जना र निसीखोला गाउँपालिकाको आईसोलेसन सेन्टरमा ८ जनाको उपचार भैरहेको छ । मंगलबार १८ जना संक्रमण मुक्त भएका छन् ।





