
पोखरा, १७ जेठ– विश्वकप छनोट खेलको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलमा इराकसँग ६–२ ले हार व्यहोरेको छ । तर, नयाँ खेलाडी सम्मिलित नेपालको खेलस्तर भने अहिलेसम्मकै अविस्मरणीय देखियो ।
पहिलो हाफमा निकै उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा भने लय समात्न सकेन । सुरुआती समय २–१ को अग्रता बनाउन सफल नेपालले डिफेन्स लाइनमा ब्याक पासमा गल्ती गर्दा हार व्यहोर्न बाध्य भयो । पहिलो हाफको अन्त्यतिर लगातार ३ गोल खाएपश्चात खेल नेपालको पक्षबाट बाहिरिन पुग्यो ।
हार व्यहोरेपनि नेपालले अबको विश्वकप छनोट खेलका बाटो भने उत्कृष्ट गर्ने संकेत गरेको छ । नेपालले पहिलो हाफमा सोचेकोभन्दा धेरै माथिको खेलस्तर देखायो । नेपाल एकाएक आक्रामक र एकाएक डिफेन्स सम्हाल्न आइरहेको देखियो । यो प्रयास नेपालको सम्भवत पहिलो हो । नेपालले आक्रामक रणनीति अनुसार खेल खेल्ने बानी बसाल्ने हो भने छिट्टै खेलमा परिवर्तन देख्न सकिने सम्भावना मैत्रीपूर्ण खेलले देखाएको छ ।
फिफा वारियतामा नेपाल भन्दा १ सय ३ स्थानमाथि रहेको इराक विरुद्धको खेलमा नेपालले अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्न सफल रह्यो । खेलको दोस्रो मिनेटमै कर्नर प्रहारमा हेड गर्ने क्रममा विपक्षी खेलाडीसँग ठोक्ँिकदा मुख्य डिफन्डर रोहित चन्द घाइते हुन पुगे । खेलको ७ औं मिनेटमा इराकले फ्रिकिक मार्फत गोल गर्दै अग्रता लियो । इराकका कप्तान अला अब्दुल जहर खासिनले करिब २५ यार्डबाट प्रहार गरेको फ्रिकिकले सोझै जाली चुम्यो । गोलको खुसीयाली मनाउन नपाउँदै नेपालले पनि गोल गर्न सफल रह्यो । गोल खाएपश्चात बल चलाउन नपाउँदै नेपालले गोल ग¥यो ।
अन्जन विष्टको प्रहारमा गोलरक्षक फाहद तालिम रहिमल विट भइसकेको अवस्थामा इराकका डिफेन्डर खलाफले बचाउ गर्न लागेपनि बलले पोष्टको दिशा लियो । खेलको १३ औ मिनेटमा अन्जनले पाएको अर्को अवसर खेर फाल्यो । उनको प्रहार गोलरक्षक रहिमले बचाउ गरे । खेलको ३० औं मिनेटमा डेव्यु गरेका मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
नेपालले खेलको ३० औं मिनेटमा मनिषको गोलमा अग्रता लियो । उनले सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए । गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरेका थिए । खेलको ३८ औ मिनेटमा इराकले गोल गर्दै बराबरी बनायो ।
मोहमद अब्दुल्जारा ओबेदले करिब ६ यार्ड नजिक बाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसको एक मिनेट वित्न नपाउँदै इराकले गोल गर्दै अग्रता लियो । रोहित चन्दले ब्याकपासमा गल्ती गर्दा अयमन हुसेन गबधनले गोल गरे । ६८ औ मिनेटमा सुमन अर्यालले पनि रोहित चन्दकै गल्ती दोहो¥याउन पुगे ।
अर्यालले खराब ब्याकपास दिँदा इराकका वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले फाइदा उठाउँदै गोल गरे । ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै अन्तर फराकिलो बनाए । मैत्रीपूर्ण खेलपश्चात नेपाल विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थात गर्दैछ । नेपालले ३ खेल खेल्न बाँकी छ ।
यो नतिजाको सम्पूर्ण जिम्मेवारी म लिन्छ, आज निकै गल्तीभयो : प्रशिक्षक अलमुताइती
मैत्रीपूर्ण खेलको जिम्मा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले लिएका छन । उनले खेलमा रणनीति परिवर्तन गर्न नसक्दा हार व्यहोरेको स्वीकारे । उनले विश्वकप छनोट खेलमा भने उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाए ।
‘म सबै नेपाली समर्थकसँग खराब नतिजाको लागि माफी माग्न चाहन्छु । हामीले यो १०–१२ दिन प्रशिक्षण गरेर खेलेका हौं । हामीलाई अझै केहि समय चाहिन्छ । केही धैर्य गर्नुहोस् । यो नतिजाको सम्पूर्ण जिम्मेवारी म लिन्छु,’ उनले भनेका छन्, ‘खेलाडीहरुलाई दोष दिने कुनै ठाउँ छैन । हामीलाई अझ राम्रो प्रदर्शन गर्न केही समय लाग्छ । विश्वकप छनोटमा पक्कै राम्रो नतिजा आउनेछ ।’





