पोखरा, २८ जेठ– विश्व कप छनोट तथा एसियन कप छनोटमा रहेको नेपालले शुक्रबार अन्तिम खेल खेल्दैछ । नेपाल भन्दा निकै बलियो रहेको अस्टे«लियासँग एसियन कप छनोटका लागि लिइएको छ । विश्व कप छनोटका लागि भने नेपाल बाहिरिसकेको छ ।
यद्यपि यो खेललाई २ तरिकाले हेरिएको छ । विश्व कप छनोट अन्तर्गत समूह बि मा रहेको अस्टे«लियाको ६ खेलबाट १८ अंक छ भने ७ खेल खेलेको नेपालको ६ अंक छ । अस्टे«लिया समूह चरणको खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । शीर्षस्थानको टोलीसँग खेल्नु नेपाललाई निकै भारी पर्ने देखिएको छ । नेपालले अहिलेसम्म अस्टे«लियालाई जित्न सकेको छैन ।
नेपाल आज अष्टे«लियासँग नतिजा भन्दापनि खेल प्रदर्शन राम्रो गर्ने पक्षमा हुने देखिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि अस्टे«लियालाई जित हासिल गर्न नसकिने संकेत दिएका छन् । उनले खेल जितका लागि भन्दा पनि प्रदर्शनमा राम्रो गर्ने बताएका छन् । अस्टे«लियालाई जिते नेपाल एसियन कपका लागि चौंथो स्थानमा रहँदै छनोट हुनेछ । हार व्यहोरेमा प्लेअफ समीकरणबाट गुज्रिनु पर्ने बाध्यता नेपाललाई छ । एसियन कप छनोटको माग भने नेपालका लागि निकै कष्टपूर्ण रहेको देखिन्छ । दक्षिण कोरियाले छनोट चरणबाट आफ्नो सहभागिता निकाल्दा चाइनिज ताइपेईविरुद्धको खेलको जितसमेत नेपाललाई घाटा लागेको हो ।
खेल अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको लक्ष्य राम्रो प्रदर्सन गर्ने रहेको बताए । ‘नतिजा भन्दापनि राम्रो खेल खेल्ने लक्ष्य हुनेछ,’ उनले भने, ‘नेपालको अहिलेसम्मको इतिहासलाई हेर्दा लामो पास खेल्ने चलन थियो । त्यसमा परिवर्तन भएको छ । हामीले खेल शैलीमा केहि परिवर्तन गरिरहेका छौं । जसको नतिजा देखिदैँ गएको छ ।’ उनले नेपाली फुटबलको भविष्य निकै राम्रो रहेको प्रतिक्रिया दिए ।
प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबलमा आगामी दिनमा निकै परिवर्तन देख्न सकिने बताए । उनले साफ च्याम्पियनसिप अबको तयारी रहेको जानकारी दिए । अस्टे«लिया बलियो प्रतिद्वन्द्वी भएपनि आक्रामक फुटबल खेल्ने रणनीति रहेको उनको भनाइ थियो । उनले अस्ट्रेलियाविरुद्ध नयाँ खेलाडीलाई मैदान उतार्ने संकेत गरे । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले डेब्यु गर्दै जानुपर्छ,’ उनले भने ।
नेपाल सातौं खेलमा जोर्डनसँग ३–० ले हार व्यहोरेसँगै नेपालको विश्व कप छनोटको यात्रा समाप्त भएको थियो । यद्यपि अन्तिम खेलले एसियन कप छनोटका लागि भने प्रभाव पार्नेछ । अस्टे«लियालाई जिते एसियन कपका लागि सोझै छनोट हुनेछ । हार व्यहोरेका खण्डमा भने प्लेअफ खेल्नुपर्ने हुनेछ ।





