पोखरा, ४ असार – नेदरल्यान्डस जारी युरोकपको अन्तिम १६ मा पुग्ने दोस्रो टोली बनेको छ । विहिवार नेदरल्यान्डसको घरेलु मैदानमा भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै १३ वर्षपछि युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्यान्डसले खेलको ११ औ मिनेटमा मेम्फिस डिपाएले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए । अष्ट्रियाका कप्तान डेविड अलाबाले पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजलाई लडाएपछि नेदरल्यान्डसले पेनाल्टीको अवसर पाएको थियो । खेलको ४० औं मिनेटमा डिपाएले नै अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फाले । वोट वेघर्स्टले पेनाल्टी क्षेत्रभित्र लामो पासलाई नियन्त्रण गर्दै दिएको पासलाई डिपाएले पोस्टको दिशा दिन सकेनन् । गोलरक्षक र डिफेन्डर दुवै वेघर्स्टको पासमा झुक्किंदा डिपाएले लगभग खाली पोस्टमा गोल गर्न चुकेका थिए । त्यसअघि अष्ट्रियाका मार्टिन हिन्टरेगरको प्रहार बाहिरिंदा अष्ट्रिया खेलमा फर्कन सकेन ।
यस्तै खेलको ६७ औ मिनेटमा डेन्जेल डुम्फ्राइजले गोल गर्दै अग्रता दोब्बर पारे । जीतसंगै नेदरल्यान्डको २ खेलबाट ६ अंक रहेको छ । समान खेल खेलेको युके्रन र अष्ट्रियाको समान ३–३ अंक रहेको छ । नर्थ म्यासेडिनिया अंक विहिन रहेको छ ।
यस्तै विहिवार नै भएको अर्को खेलमा बेल्जियमले डेन्मार्कलाई २–१ ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा डेनमार्कले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । बेल्जियमको डिफेन्स कमजोरीको फाइदा उठाउँदै युसुफ पाउल्सेनले गोल गरेका थिए । उनले पिएर एमिल होएबिएरको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
बेल्जियमले पहिलो हाफमा गोलको केहि अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । पहिलो हाफमा १ गोलले पछिपरेको बेल्जियमले दोस्रो हाफमा कम्ब्याक गर्दै जीत हासिल गरेको हो ।
डे ब्रुएनको पासमा थोर्गन हाजार्डले ५५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र डे ब्रुएनले संयमित रहेर डिफेन्स लाइन तोडेपछि दिएको पासलाई हाजार्डले गोल गरेका थिए । ७१ औं मिनेटमा डे ब्रुएनले सानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले इडेन हाजार्डको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।





