पोखरा, ४ असार–ब्राजिलमा जारी कोपा अमेरिका कपमा ब्राजिलले फराकिलो जीत हात पारेको छ । बिहिवार राती भएको खेलमा ब्राजिलले पेरुलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै दोस्रो जीत हासिल गरेको हो ।
घरेलु मैदान रियो दि जेनेरियोमा भएको खेलमा ब्राजिलका नयमार, सान्द्रो, एभर्टन रिवेइरो र रिचार्लीसनले गोल गरे । खेलको १२ औ मिनेटमा सान्द्रोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै खेलको २५ औ मिनेटमा फविन्होको प्रहार बिहिरीदाँ अग्रता दोब्बर गर्नबाट चुके । पहिलो हाफमा १ गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । ६८ औ मिनेटमा नेयमारले गोल गर्दै अग्रता दोब्बर पारे । ७३ औ मिनेटमा नेयमारको प्रहार गोलरक्षक गाल्लेसले उत्कृष्ट बचाउ गर्दा दोस्रो गोल गर्नबाट चुके । खेलको ७९ औ मिनेटमा पेरुले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । एलेक्स भालेराले करिब ६ यार्डबाट गरेको प्रहार क्रसबारमा लागि फर्किन पुग्यो । उता नेयमारले ८५ औ मिनेटमा प्रहार गरेको फ्रिकिक पोष्ट नजिकैबाट बाहिरीयो । ८९ औ मिनेटमा परिवर्तित खेलाडि रिवेइरोले गोल गर्दै जीत निश्चित गरेका थिए । निर्धारित समय सकिएपश्चात थप गरिएको समयमा अर्का परिवर्तित खेलाडी रिचार्लीसनले गोल गर्दै ब्राजिललाई फराकिलो अग्रता दिलाए ।
यस्तै बिहिवार रातीनै सम्पन्न कोलम्विया र भेनेजुएला बिचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।





