पोखरा,५ असार–युरोकप अन्तगर्त शुक्रवार राती भएको खेलमा इंग्ल्यान्डले स्कटल्यान्डसंग अंक बाडेको छ । समूह डी अन्तर्गत भएको खेल गोलरहित बराबरीमा रोकिएपछि अंक बाड्न बाध्य भएको हो । इंग्ल्यान्डका गोल मेसिनको रुपमा रहेको ह्यारी केनलाई गोलको कुनै अवसर नदिदाँ स्कटल्यान्डले बराबरीमा रोकेको हो । केनले पहिलो हाफमा पेनाल्टी क्षेत्रमा एक पटक मात्र बल छुन पाए । स्कटल्यान्डले रक्षापंक्तीमा बलियो बनाएपछि इंग्ल्यान्डले गोल गर्ने अवसर पाएन । खेलको ११ औ मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सको हेडरमा क्रसवार बाधक बन्यो । ३० औ मिनेटमा स्कटल्यान्डका स्कट ओडनलले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार इंग्ल्यान्डका गोलरक्षक पिकफर्डले उत्कृष्ट बचाउ गरे । उक्त रिवाउन्ड भएको बलमा चे एडम्सको हेडर बाहिरीयो । खेलको ६२ औ मिनेटमा स्कटल्यान्डका लिन्डन डाइक्सले हाफ भली प्रहार गर्दा गोलरक्षक पिकफर्डलाई लाग्दै पोष्टको दिशा लिन खोज्दा डिफेन्डर जेम्सले हेड मार्फत क्लियर गर्दै गोल हुनबाट जोगाए । बराबरीसंगै २ खेलबाट ४ अंक सहित इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । समान अंक रहेको चेक रिपब्लिक भने शीर्षस्थानमा रहेको छ । क्रोएशिया र स्कटल्यान्डको भने १–१ अंक सहित क्रमश ः तेस्रो र चौथो स्थानमा रहेको छ ।
सोहि दिन भएको समूह डी कै अर्को खेलमा क्रोएशिया र चेक रिपब्लिकले १–१ गोलको बराबरीमा रोकिएका छन् ।





