बागलुङ, ७ असार – जिल्लाको ताराखोला गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष प्रकाश घर्तीले आईतबार प्रस्तुत गरेको
आगामी बर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ :
वार्षिक नीति तथा कार्यक्रम, आर्थिक वर्ष २०७८/०७९
सभाका अध्यक्ष ज्यू,
यस सभामा उपस्थित सदस्य ज्यू, एवं कर्मचारी मित्रहरु, पत्रकार र अन्य महानुभावहरु,
वर्तमान सन्दर्भमा २०७६ चैत्र देखि प्रकोपको रुपमा फैलिएको कोभिड- १९ संक्रमणबाट उन्मुक्ति पाउने वातावरण अझै बन्न सकेको छैन । यसको रोकथाम नियन्त्रण र उपचारका प्रयासहरु सबै तह र तप्काबाट भइरहेको नै छ । मुलुकमा थोरै मात्रामा भए पनि पहिलो चरणको खोपले नागरिकहरुमा आत्मवल बढाउनुको साथै केही आशा जगाएको छ । हामीलाई आशा छ अब छिट्टै नेपाल सरकारको विशेष पहलमा सम्पूर्ण आम नागरिकहरूका लागि खोपको प्रबन्ध हुनेछ र खोप लगाउने अवसर प्राप्त भई कोभिड १९ को कारण अकालमा ज्यान गुमाउनबाट बच्ने विश्वास गर्दछु । यस अवस्थासम्म आउनको लागि अझै केही समय लाग्न सक्ने भएकोले स्वास्थ्यको मापदण्ड तथा कोभिड १९ नियन्त्रण सम्बन्धी आचारसंहिताको पूर्ण रुपमा पालना गरी साबधानी अपनाउन आवश्यक देखिन्छ ।
यस गाउँपालिकामा कोभिड १९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारको लागि अस्थायी अस्पताल स्थापना गरिएको छ, अस्पतालमा एकजना डाक्टर सहितको जनशक्ति परिचालन गरिएको छ । हालसम्म १२ वटा अक्सिजन सिलिन्डर, ६ वटा कन्सन्ट्रेटर मेसिन र एउटा एम्वुलेन्स सञ्चालनमा रहेको छ । संस्थागत आइसोलेसन र अस्पतालमा रहेका बिरामीहरूको लागि निःशुल्क खाना र खाजाको व्यवस्था गरिएको छ । अन्य स्वास्थ्य सामग्री र औषधीलाई कमी हुन दिएको छैन, एन्टी जीन र पिसिआर परिक्षण मार्फत कोभिड १९ को परिक्षण को दायरा बढाइएको छ। यस गाउँपालिकामा कोभिड १९ संक्रमितको संख्या १११ जना भएकोमा संस्थागत आइसोलेसन तर्फ ताराखोला कोभिड १९ अस्थायी अस्पतालबाट ३६ जना, अमरभूमि स्वास्थ्य चौकी आईसोलेसनबाट १७ जना, जनप्रेम मा.वि. आइसोलेसनबाट ८ जना गरी जम्मा निको भई फर्किनेको संख्या ६१ जना रहेको छ। हाल सम्ममा संस्थागत आइसोलेसनमा रहेको संख्या शुन्य रहेको छ। निषेधाज्ञालाई कडाई गर्ने र कन्ट्रयाक ट्रेसिङ्गको दायरालाई बढाई जेष्ठ मसान्त सम्ममा कोभिड १९ को संक्रमण संख्या शून्य पुर्याउने लक्ष्य रहेकोमा हाल १ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ । यस अवधिमा कोभिड १९ को रोकथाम नियन्त्रण र उपचार प्रयास गर्दागर्दै पनि ताराखोला गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य तथा न्यायिक समितिका सदस्य जुझारु युवा नेतृ तेजु माया भण्डारी परियारको धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङमा र ताराखोला गाउँपालिका वडा नं १ माझखर्क निवासी बर्ष २९ का दिल बहादुर बि.क. को मणिपाल शिक्षण अस्पताल पोखरामा कोभिड १९ को उपचारको क्रममा दुःखद निधन भएको छ। यस ताराखोला गाउँपालिकाका गाउँ सभा सदस्य दल राम पुनका ममतामयी आमा तिजा पुनको असामहिक निधनले हामीलाई दुखित तुल्याएको छ। दिवंगतहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ महामारीबाट देश भित्र तथा बाहिर ज्यान गुमाउने सबै दाजुभाइ तथा दिदिबहिनीहरु र लोकतन्त्र प्राप्तिको लागि जनयुद्ध तथा जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, साथै कोभिड १९ संक्रमणको उपचाररत सबै दाजुभाइ, दिदी बहिनीहरूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै लोकतन्त्र प्राप्तिको क्रममा घाइते, अपाङ्ग, बेपत्ता तथा सहिद परिवारजनमा उच्च सम्मान सहित कदर प्रकट गर्दछु । कोभिड १९ को संक्रमण फैलिन नदिन लागु गरिएको लकडाउन र यस संकटपूर्ण घडीमा एकजुट भई महामारी रोकथाम नियन्त्रण र उपचारमा अहोरात्र खटिने डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, राष्ट्रसेबक कर्मचारीहरूको भुमिकाको प्रशंसा गर्दछु । यस कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचारमा कमी हुन नदिनका लागि स्वास्थ्य सामग्री उपलव्ध गराइ विपदको बेलामा अमूल्य सहयोग प्रदान गर्नुहुने विभिन्न सहयोगी संस्थाहरु स्वर्गभूमि फाउन्डेसन, निर्माण व्यवसायी संघ ताराखोला, गाजा डेभलपमेन्ट फाउन्डेसन, रेडक्रस सोसाइटी बागलुङ, गल्कोट समाज जापान, ताराखोला समाज जापान लगायत सम्पूर्ण संघ संस्था र व्यक्तिहरू प्रति हार्दिक आभार प्रकट गर्दै यहाँहरूको कार्यमा अझै सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।
स्थानीय तहको सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष ढङ्गबाट सहयोग गर्ने सबै राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक मञ्च, टोल सुधार समिति, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुह लगायत आम समुदाय प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनहरुमा यस पालिकाले गर्ने कामहरुमा यहाँहरूको साथ, सहयोग र सुझाव एवम् सक्रिय भूमिका रहने कुरामा विश्वस्त हुन चाहन्छु ।
स्थानीय सरकार संचालन भएको चार वर्ष पूरा भई पाँचौं वर्षमा प्रवेश गरिरहेको सन्दर्भमा आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रक्रियामा एकातिर कोभिड १९ प्रकोपको प्रभाव र अर्कोतिर नयाँ संविधान निर्माण पछि पूर्ण कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा संघीय सरकार र प्रदेश सरकार सञ्चालनका लागि राजनैतिक दलहरुमा देखिएको असमझदारीले राजनैनिक संकट मात्र होइन अस्थिरता पैदा हुनुको साथै कतिपय महत्वपूर्ण कानुन निर्माण गर्न ढिलाइ भएको छ । यसले स्थानीय सरकार सञ्चालनलाई पनि विभिन्न सन्दर्भहरुमा अन्योलता सिर्जना गरेको छ । हामीलाई आशा छ मुलुकमा छिटै दलहरूको बीचमा राजनैतिक संकीर्णताको अन्त्य भई राष्ट्रिय एकता कायम हुनेछ र देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्नेछ ।

सभाका अध्यक्ष एवं सदस्य ज्यूहरू,
आज हामी आगामी आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनको चरणमा जुटिरहेका छौं । त्यसैले आजलाई मात्र होइन भोलिको दिगो विकासको लक्ष्यलाई आधार बनाएर यस सभामा नीति तथा कार्यक्रम र योजनाको छलफल हुनुको साथै चालु आर्थिक वर्षको मूल्यांकन, आगामी बर्षको अनुमानित आय र प्रस्तावित खर्चको ढाँचा निर्माणले यस गाउँपालिकाको “कृषि, वन, खनिज, उद्यमशीलताको लागि सवल पूर्वाधार, समृद्धि र समन्यायिक ताराखोला विकासको मूल आधार” भन्ने दीर्घकालीन सोच लाई पुस्ट्याइ गर्न आधार तयार हुनेछ र यहाँको प्राकृतिक स्रोत तथा सम्पदाको व्यवस्थित उपयोग, मानवीय जनशक्तिको समुचित परिचालन र विद्यमान अवस्थामा समय अनुकुल प्रविधिको विकासले मात्र यहाँका बासिन्दाहरूको भौतिक विकास मात्र नभई आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार हुने विश्वास लिएको छु । तसर्थ बजेट निर्माण भनेको सरकारी आएर व्ययको विनियोजनको रूपमा मात्र नभई बजेट निर्माण सम्बन्धित स्थापित सिद्धान्तहरु, नीति र कानुनको परिधिभित्र रही पारदर्शी र जवाफदेही ढंगले योजना र कार्यक्रम सुस्पष्ट कार्यान्वयन हुने, अपेक्षित प्रतिफल दिने, समसामयिक र दिगो विकासको लक्ष्य लाई सफल बनाउने रणनीतिहरु अबलम्बन गर्न आवश्यक ठानेको छु ।
संघ र प्रदेश सरकारबाट आउने सशर्त, समपूरक र विशेष अनुदानका योजना र कार्यक्रमसँग गाउँपालिकाको आवधिक विकास योजना साथै मध्यमकालीन खर्च संरचनाको तालमेल मिलाइ आयोजनाहरूको प्राथमिकिकरण गर्न आवश्यक ठानेको छु । यसले सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले लिएका उद्देश्यहरूलाई पुरा गर्नको लागि आधार तयार गर्नेछ। साथै अनुगमन, मूल्यांकन, पारदर्शीता, जवाफदेहिता जस्ता सुशासनका पक्षहरूलाई समयानुकुल अझ सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउने दृढता व्यक्त गर्दछु ।
सभाका अध्यक्ष ज्यू,
ताराखोला गाउँपालिका प्रदेश राजधानी पोखरा देखि करिब १ सय ३६ किलोमिटर जिल्ला सदरमुकाम देखि ४५ किलोमिटर दुरीमा अवस्थित छ । समुन्द्री सतहदेखि करिब १३ सय ३३ मिटर देखि ३५ सय ३३ मिटर सम्म उचाइ मा अवस्थित छ । यसको क्षेत्रफल १२९.५२ वर्गकिलोमिटर रहेको छ भने गाउँपालिकाको कुल जनसंख्या पालिकाको घरधुरी सर्वेक्षण अनुसार १४३६९ रहेको छ ।
यहाँका बासिन्दा वैदेशिक रोजगारीका लागि विभिन्न देशहरुमा रहेता पनि आम्दानीको मुख्य स्रोत कृषि नै हो । गाउँपालिकामा कृषिजन्य खाद्यान्न बाली मकै, कोदो, जौ, गहुँ, फापर, धान आदि छन् भने आलु, मुला, लसुन, प्याज, केराउ, भटमास, भाँगो, अलैची, किबि जस्ता नगदे बालीहरु पनि व्यवसायिक रुपमा उत्पादन गर्ने कार्यको शुरुवात भएको छ ।
यस गाउँपालिकाको मुख्य नगदे बाली उत्पादनको स्थितिलाई हेर्दा आलु ७१२ मेट्रिक टन, अलैची ३ मेट्रिक टन, भाँगो १६४ मेट्रिक टन, किवि २.५ मेट्रिक टन, ओखर १७० केजी उत्पादन भएको छ भने बाख्रा फार्म १३ वटा, भेडा फार्म ४ वटा, बङ्गुर फार्म ५ वटा, भैसी फार्म ६ वटा, कुखुरा फार्म ७ वटा, तरकारी टनेल ८१ वटा रहेका छन, भने एउटा कृषि उपज संकलन केन्द्र निर्माणाधिन अवस्थामा रहेको छ। त्यस्तै गरी स्थानीय उद्योगको रुपमा स्लेट ढुङ्गा प्रशोधन उद्योगहरू सञ्चालनमा रहेका छन।
खानी जन्य बस्तु तामाको अन्वेषण गर्नको लागि खानी तथा भुगर्व विभागबाट पत्र प्राप्त भएको छ । माथि उल्लेखित कृषि तथा पशुजन्य वस्तुको व्यवसायिकता तथा खनिजजन्य विभिन्न उद्योगहरु सञ्चालनमा ल्याउन सके रोजगारीका अवसरहरू प्राप्त भई आर्थिक क्रियाकलापमा समेत वृद्धि हुने र समृद्ध ताराखोला निर्माणमा टेवा पुग्ने प्रचुर सम्भावना रहेको छ । यसका लागि संघीय सरकार र प्रदेश सरकारबाट बन्न नसकेका कानुनहरु तदारुकताका साथ संघीयताको भावना र मर्म अनुसार स्पष्ट ढंगले बनाउन सक्नुपर्छ ।
यस गाउँपालिका भित्र सयपत्री हाइड्रोपावर २.५ मेघावाट, ताराखोला सामुदायिक साना जलविद्युत परियोजना ३८४ किलोवाट सञ्चालनमा छन् भने ताराखोला जलविद्याविद्युत दोगाडी २.२ मेघावाट निर्माणाधीन अवस्थामा छ । यसबाट भविष्यमा गाउँपालिकाको आन्तरिक राजस्वमा उल्लेख्य मात्रामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका विभिन्न क्षेत्रहरु घुस्मेली, तारागाउँ, दोगाडी, करिमेला, भातखाने डाँडा, औद्योगिक ग्राम वरपर ससाना बजार होटल र रेस्टुरेन्ट संचालनमा आउने तथा विकास हुँदै जानेछन् भने गाईघाट झरनामा निजी क्षेत्रको लगानीमा पालिका कै पहिचानको रुपमा सुविधासम्पन्न रिसोर्ट निर्माणको प्रक्रिया अगाडि बढेको छ । यहाँ डुडेलेक, तिनचुले, थामी, घुम्टे, कालीलेक, गाईघाट झरना, शहिद पार्क जस्ता प्राकृतिक पर्यटकीय स्थल रहेका छन् । भुस पोल्ने पर्व, भदौरे मेला, असारे मेला, हरिबोधनी एकादशी, तमु ल्होसार, माघेसंक्रान्ति, दशै, तिहार, तीज, पुत्र बढाई, बैकुण्ठ चतुर्दशी मेला आदि यहाँका मौलिक पर्वहरू हुन् भने नौमती बाजा, सालइजो, यानिमाया, चुड्के भाका, सोरठी, मारूनी यहाँको मौलिक सांस्कृतिक बाजा, गीत तथा नृत्यहरू हुन् । यिनीहरूको प्रचारप्रसार संगसंगै भौतिक पूर्वाधार निर्माण सहित निश्चित गन्तव्यहरूको पहिचानको प्रयाप्त सम्भावना रहेको छ ।
यस ताराखोला गाउँपालिका को सर्वाङ्गीण विकासको सम्भावना हुँदाहुँदै भौगोलिक अवस्थितिका कारण सडक पूर्वाधार विकास र विस्तार, पक्की पुल पुलेसा, कल्भर्टको ब्यबस्थापन गर्न लगानी महंगो पर्नु, सार्वजनिक क्षेत्रमा गरिएको लगानी बसाइँसराइको कारण समुचित उपयोग नहुनु, उत्पादनशील र दक्ष जनशक्ति बाहिरिनु, हरेक युवालाई समयानुकुल सीप प्रविधि र पूँजी उपलब्ध गराई उद्यमशील बनाउन नसक्नु, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई समाजले ग्रहण गर्न नसक्नु, विद्यालयमा शिक्षक दरबन्दीको अपुग हुनु, विषय शिक्षकको अभाव हुनु, विद्यालयको व्यवस्थापन समिति कमजोर हुनु, आवासीय विद्यालयको व्यवस्था नहुनु, कमजोर अनुगमन पद्धति हुनु, स्वास्थ्य प्रयोगशाला, चिकित्सक सेवा, स्वास्थ्य औजारको अभाव, फोहोर व्यवस्थापनमा उचित ढंगको कार्ययोजना बन्न नसक्नु, प्रविधि मैत्री पुस्तकालय र वाचनालयको अभाव, जोखिमयुक्त बस्तीहरु स्थानान्तरण गरी एकीकृत बस्ती निर्माणको अवधारणा सम्बन्धी ज्ञान र पुँजीको कमी, गाउँपालिका भित्र उपलब्ध प्राकृतिक स्रोत साधनको पहिचान, संरक्षण र व्यवस्थित सदुपयोग हुन नसक्नु, समाजमा अझै विभेद, लैङ्गिक हिंसा, रुढीवादी चिन्तन, आर्थिक पछौटेपन कायम हुनु, कर्मचारीहरुमा सुशासनसम्बन्धी समयअनुकुल तालिम र प्रशिक्षणको अवसर प्राप्त नहुनु, राजश्व संकलन र परिचालन क्षमतामा वृद्धि नहुनु, पर्याप्त स्रोतको अभाव हुनु जस्ता माथि उल्लेखित विद्यमान समस्या र चुनौतीहरु बाबजुद पनि ताराखोला गाउँपालिका संघ, प्रदेश र स्थानीय तहको सरकारले गरिरहेको आवधिक विकास योजना अनुसार सीमित स्रोत र साधनको बिचबाट चार वर्षको अवधिमा आफ्ना लक्ष्यहरुलाई पछ्याउने र आधार निर्माणमा प्रयासरत रहेको छ ।

सभा अध्यक्ष ज्यू,
चालु आर्थिक वर्षमा देहाय बमोजिम लक्ष्य र उद्देश्यहरू राखिएको थियो ।
- आयोजना तथा कार्यक्रमबाट छिटो प्रतिफल दिने, रोजगारी सिर्जना हुने, गरिबी निवारणमा टेवा पुर्याउने,
- बहुवर्षे आयोजना समपुरक आयोजनालाई प्राथमिकता दिने,
- कोभिड १९ को महामारी नियन्त्रणलाई प्राथमिकता दिने,
- कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन गर्ने,फलफूलका बिरूवा रोपन कार्यक्रम संचालन गर्ने, बाख्राको उत्पादन बढाउन पकेट विकास कार्यक्रम संचालन गर्ने, एक वडा एक नमूना कृषि तथा व्यवसायिक फर्म स्थापना गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम लाई व्यवस्थित रुपमा सञ्चालन गर्ने,
- लघुउद्यम विकासमा जोड दिने, स्लेट ढुङ्गा तथा अन्य खानीजन्य उद्योगको प्रवर्द्धन गर्ने, पर्यटन प्रवर्द्धनमा जोड दिने,
- गाउँपालिकाका मुख्य सडकहरुलाई स्तरउन्नती तथा कालोपत्रे गर्न संघीय सरकार र प्रदेश सरकार संग समन्वय गरी योजना सञ्चालन गर्ने,
- प्रशासनिक भवन तथा अन्य भवन निर्माण गर्न संघ तथा प्रदेश सरकारसँग साझेदारी गर्ने,
- शिक्षक अभाव हुन नदिन विशेष पहल गर्ने, छात्रवृत्ति कार्यक्रम संचालन गर्ने, युवाहरूलाई खेलकुद प्रशिक्षण संचालन तथा खेलमैदान निर्माण, खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रम संचालन गर्ने, संस्कृति प्रवर्द्धनमा जोड दिने, लैंगिक समानता र सामाजिक समावेशीकरण का कार्यक्रम समयानुकुल सञ्चालन गर्ने,
- स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने तथा बर्थिङ सेन्टरको र व्यवस्थापनमा जोड दिने,
- वन, वातावरण तथा विपद व्यवस्थापन र जलाधार संरक्षण कार्यक्रम संचालन गर्ने,
- सुशासन तथा संस्थागत विकास, पारदर्शीता र जवाफदेहिता मा जोड दिने,
- परम्परागत संकार र संस्कृतिको संरक्षण तथा छुवाछुत लगायतका भेदभावहरूको अन्त्य गर्ने ।
सभाका अध्यक्ष ज्यू,
उल्लेखित नीति तथा कार्यक्रम कार्यान्वयनबाट हालसम्म निम्न बमोजिम प्रगति हासिल गरेको कुरा राख्न चाहन्छु ।
- बहुउदेश्य सभाहल र वडा नम्बर ४ को प्रशासनिक भवन सम्पन्न भई प्रयोगमा ल्याइएको छ गाउँपालिकाको प्रशासनिक भवन र संस्कृतिक संग्रहालय अन्तिम चरणमा निर्माण कार्य भइरहेको छ, औद्योगिक ग्राम निर्माणका लागि दोस्रो चरणको ठेक्का सम्झौता भएर काम भइरहेको छ।
- हटिया हरिचौर तारा सडक बहुवर्षे ठेक्का मार्फत कालोपत्रे गर्ने कार्य भइरहेको छ बाँकी १० किलोमिटर सडकको डिपीआर सम्पन्न भएको छ ।
- माझखर्क-खरिखोला-अर्गल-तारागाउँ सडक कालोपत्रे गर्ने कार्य जारी रहेको छ।
- रिजाल चोक अमरभुमी अर्गल तारा सडक कालोपत्रे गर्नका लागि सङ्घ र प्रदेश सरकारसँग पहल भइरहेको छ।
- घुस्मेली घाट मोटरेवल पुल निर्माण कार्यको लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा घुस्मेली देखि सभाहल भातखाने डाँडादेखि वडा नम्बर १ कार्यालय सडक स्तरउन्नती साथै साघुबोट सीप सडक सिंजाली चोकदेखि हिले सीप सडकको स्तरउन्नती कार्य अन्तिम चरणमा पुगेको छ ।
- दोगाडी घाटमा मोटरेबल पुल निर्माणको लागि सडक विभागसँग समन्वय भइरहेको छ ।
- छेल्दर खोला घाट पुल निर्माण प्रकृया अगाडी बढेको छ।
- प्रदेश सरकारबाट क्रमागत खानेपानी आयोजना निर्माण कार्य भइरहेको छ।
- पाँच शैय्याको ताराखोला अस्पताल निर्माण कार्यको लागि ठेक्का सम्झौता भई कार्य अगाडि बढेको छ,एम्बुलेन्स सेवा संचालनमा आएको छ भने डाक्टर तथा स्टाफ नर्स लगायतको जनशक्ति सहित अस्थायी कोरोना अस्पताल सञ्चालनमा रहेको छ।
- प्रत्येक स्वास्थ्यचौकीमा जनशक्ति सहित ल्याव स्थापना गरिएको छ, वर्थिङ सेन्टरहरुमा वेवि वार्मर जडान गरिएको छ, गर्भवती महिला दिदीबहिनीहरुको लागि अण्डा वितरण कार्यक्रम सञ्चालन गरिएको छ।
- कृषि तथा पशु व्यवसायिकरण र आधुनिकीकरण गर्नकोलागि किवि पकेट क्षेत्र, बाख्रा पकेट क्षेत्र, मकै पकेट क्षेत्र निर्धारण गरी कार्यक्रम सञ्चालन गरिएको छ।
- प्रत्येक वडामा एकएक वटा नमुना कार्यक्रमअन्तर्गत वडा नम्बर २ मा बाख्रा फार्म, वडा नम्बर ४ मा ट्राउट माछा पालनको पूर्वाधार निर्माण गर्ने कार्य, लाबाङमा १६ वटा, करिमेलामा १६ वटा, वडा नम्बर १ को माझखर्क र वडा न २ मा ३/३ वटा हाइटेक टनेल निर्माण गरिएको छ । जसबाट कृषि तथा पशुपालनमा गरी २५० जति कृषकहरु लाभान्वित हुनुभएको छ ।
- संघीय सरकार र स्थानीय सरकारको साझेदारी तथा कृषकको ५० प्रतिशत लागतमा ७३०० ओखरका विरुवाहरु रोप्ने कार्य सम्पन्न भएको छ।
- लेखा प्रणालीलाई शुत्रमा, राजश्व संकलन अनलाइन मार्फत, घटना दर्ता कार्यलाई अनलाइन मार्फत तथा सामाजिक सुरक्षालाई बैंकिङ प्रणालीमा आवद्ध गरिएको छ।
- बाढी पीडित, आगजनी तथा चट्याङबाट मृत्यु हुनेको परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ।
- सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरको छानालाई विस्थापित गर्नको लागि राहत वितरण गरिएको छ।
- खेलकूद प्रशिक्षकको व्यवस्था गरी वडा नम्बर १ मा खेल प्रशिक्षण सञ्चालन गरिएको छ।
- उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन गर्ने ८ जना जेहेन्दार छात्र तथा छात्रा का लागि छात्रवृत्ति वितरण गरिएको छ ।
- हालसम्म पालिकामा १९ ऐन ६ नियमावली र १२ कार्यविधि निर्माण गरी कार्यान्वयन गरिएको छ।
- पालिका स्तरीय खेलमैदान स्थापनाको लागि दोस्रो चरणको काम अगाडि बढेको छ।
- चालु आर्थिक वर्षको कुल बजेट रु ३३ करोड १५ लाख ४० हजार मध्ये हालसम्म कुल रू १९ करोड ६० लाख खर्च भएको छ।
- चालु आ.व.मा रू ३४ लाख ६० हजार राजश्व संकलन गर्ने अनुमान गरिएकोमा कोभिड १९ को प्रभावको कारण हाल सम्म रू २३ लाख ४८ हजार ९३८ राजश्व संकलन हुन सकेको छ।

अब म आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु।
आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्दा तपसिल वमोजिमको आधार लिएको छु ।
- नेपालको संविधान २०७२
- स्थानीय सरकार संचालन ऐन २०७४
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४
- संघ र प्रदेश सरकारले जारी गरेका नीति, नियम, कानुन तथा मापदण्डहरु
- संघ, प्रदेश र गाउँपालिकाको आवधिक विकास योजना, दिगो विकासका लक्ष्यहरु, विकासका अन्तर सम्बन्धित विषयहरू
- गाउँपालिकामा निर्माण भएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिहरु
- गाउँपालिकाको मध्यकालीन खर्च संरचना, गाउँपालिकामा उपलब्ध स्रोत र साधनहरु
- अन्तर स्थानीय तह सहकार्य सम्बन्धकालागि साझा सरोकारका विषयहरू
- नेपाल सरकारद्वारा अन्तर्राष्ट्रिय जगतमा गरिएका प्रतिवद्धताहरु
सोच
कृषि, वन, खनिज र पर्यटन उद्यमशीलताका लागि सवल पूर्वाधार समृद्ध, समन्यायिक ताराखोलाको विकासको मूल आधार दीर्घकालीन सोच रहेको छ ।
उद्देश्य
- कृषि, पर्यटन र पुर्वाधारको क्षेत्रमा लगानी बृद्धी गरी रोजगारि श्रृजना गर्दै गरिवी निवारणमा टेवा पुर्याउने ।
- उत्थानशील पुर्वाधार निर्माण गरी दैनिक जनजीवनलाई सहज बनाउने ।
- बहुवर्षीय र समपुरक आयोजनाहरुलाई निरन्तरता दिने ।
- सामाजिक, आर्थिक, लैंगिक रुपमा पछाडी परेको वर्ग समुदायको लागि लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्ने ।
- कोभिड १९ को महामारी रोकथाम, नियन्त्रणका कार्यक्रम सञ्चालन गर्ने ।
- अध्ययन अध्यापन कार्यलाई प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न कोभिड-१९ मुक्त वातावरणमा पठनपाठनको व्यवस्था गर्दै शैक्षिक गुणस्तर र शैक्षिक जनशक्तिको प्रबन्ध गर्ने ।
- स्वच्छ पिउने पानी र सरसफाईमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने ।
- लघुउद्यमशीलताको विकास गर्ने, घरेलु तथा साना उद्योग स्थापनालाई प्रभावकारी बनाउने ।
- समाजमा रहेका असमानता, अन्धविश्वास, कु-संस्कार र कुरिती अन्त्यका लागि न्याय, समानता र मेलमिलापका योजनाहरू बनाइने छ।
- सशर्त अनुदानका कार्यक्रम मार्फत कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, रोजगार क्षेत्रको विकासमा टेवा पुर्याउने ।
आर्थिक विकास
१. कृषि तथा पशुपालन
- कृषि साना व्यवसायिक पकेट क्षेत्र तथा पशु पंक्षी उत्पादन केन्द्र, पकेट आलु उत्पादन केन्द्र कार्यक्रम संचालन गरिने छ।
- मासु तथा दुध मिसन कार्यक्रम अन्तर्गत पाडा, बाख्रा, बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यक्रम संचालन गरिने छ।
- ५० प्रतिशत अनुदानमा फलफुल रोपण कार्यक्रमअन्तर्गत ओखर, किवि, आल्मण्ड, एभोगार्डो जस्ता ताराखोलाको माटोमा सुहाउँदो खालका फलफूल विरुवा रोपण कार्यक्रम संचालन गरिने छ।
- लोकल कुखुरा पालन तथा बंगुर पालनलाई प्रवर्धन गरिने छ।
- बहुउद्देश्यीय सहकारी संस्था मार्फत कोल्डस्टोर निर्माण गरी स्थानीय उत्पादनको बजारीकरण गरिने छ ।
- प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत चालु आ.व. मा सञ्चालित कार्यक्रमहरुलाई निरन्तरता दिइने छ।
- युवाहरुलाई कृषि र पशुपालन तर्फ आकर्षित गर्न व्यवसायिक कृषि/पशु विकास कार्यक्रममा अनुदानको व्यवस्था गरिने छ।
- पशुपंक्षी तथा कृषिसम्बन्धी तथ्यांकलाई अध्यावधिक गरिने छ।
- व्यवसायिक फलफूल खेती प्रवर्द्धन गर्न अनुदानमा छिटो उत्पादन दिने फलफुलका बिरुवाहरु रोपणलाई निरन्तरता दिइने छ।
- कृषि उपज संकलन तथा भण्डारण र बजारीकरणको लागि पूर्वाधार तयार गरिने छ।
- गाउँपालिका आफै उत्पादनसंग आवद्ध भई प्रयोगमा नआएको खेतीयोग्य जग्गा भाडामा लिई स्थानीय बाली आलु, फापर, कोदो, जौ, मकै उत्पादन गर्नेछ । निश्चित क्षेत्रमा बाली उत्पादन गर्न “ताराखोला जैविक बगैंचाः युवालाई रोजगारी उत्पादन थरिथरि “नामक कार्यक्रम सञ्चालन गरी पकेट क्षेत्रको कार्यक्रमलाई प्रयोग गरी युवालाई नियमित रोजगारीको साथै गाउँपालिकाले आन्तरिक आय बढाउने छ ।
२. सहकारी तथा वित्तीय क्षेत्र
- उत्पादनमूलक तथा कृषि/पशुपालन र रोजगारी वृद्धि गर्ने सहकारीहरुलाई प्रति उत्पादन तथा बजारीकरणको आधारमा अनुदानको व्यवस्था गरिने छ।
- सहकारी संचालनलाई सफ्टवेर प्रणाली मार्फत वित्तीय कारोबार गर्ने गरी क्षमता अभिबृद्धि गरिने छ।
- सहकारी संस्थाहरुलाई उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण कार्यक्रममा सरिक बनाइने छ।
- सहकारीहरुलाई लेखा प्रणाली तथा व्यवस्थापन सम्बन्धी तालिम दिई क्षमता अभिवृद्धि गरिने छ।
- सहकारी अनुगमनलाई प्रभावकारी बनाइने छ। सञ्चालनमा नरहेका सहकारीहरुलाई बन्द गर्न प्रोत्साहन गरिने छ । साथै सहकारीहरुलाई व्यवस्थीत गर्न सहकारीका सदस्यहरुलाई तालिमको व्यवस्था गरिने छ ।
- अव्यवस्थित सहकारीहरुलाई मर्ज तथा बन्द गरी व्यवस्थीत गरिने छ ।
३. उद्योग तथा वाणिज्य
- संघ तथा प्रदेश सरकारसँगको समन्वयमा सार्वजनिक स्थलहरू तथा सामुदायिक क्षेत्रहरूमा रहेका स्लेट ढुङ्गा उत्खननका लागि वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी अध्ययन गरिने छ।
- उद्यमीहरूको स्तरउन्नती गर्नका लागि सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिने छ।
- औद्योगिक ग्राम भित्र कुनै पनि किसिमका उद्योग सञ्चालन गर्न व्यवसायीहरुलाई प्रोत्साहन गरिने छ ।
- गाउँपालिकामा अति विपन्न घर परिवार पहिचान गरी दर्ता गर्ने र त्यस्तो परिवारको कुनै सदस्यले घरेलु तथा साना उद्योग स्थापना गर्न चाहेमा त्यस्तो उद्योगलाई चाहिने उपकरण तथा पूर्वाधारमा गाउँपालिकाले अनुदान तथा तालिम प्रदान गर्ने “गरिबसंग उद्योग” कार्यक्रम सञ्चालन गरिने छ। उत्कृष्ट लघुउद्यमीलाई पुरस्कारको व्यवस्था गरिने छ ।
४. पर्यटन
- घुम्टे, गाईघाट झरना, डुडेलेक, तिनचुले, कालिलेक, शहिद पार्क लगायतका क्षेत्रहरुमा पर्यटन पूर्वाधार विकास कार्यक्रम संचालन गरिने छ।
- भुस पोल्ने पर्व, असारेे पर्व, सिस्नोखोस्ने, भदौरे मेला, बैकुण्ठे चतुर्दशी मेला, हरिबोधनी एकादशी, तमु ल्होसार, पन्चेबाजा, परम्परागत भजन तथा आमा समूहको कला र संस्कृतिको संरक्षण गरी उक्त मेलाहरुलाई पर्यटन प्रवर्धनसंग आवद्ध गर्न प्रचारप्रसार गरी “एक वडा एक पर्यटन गन्तव्य” को विकास गर्नको लागि प्रदेश र स्थानीय तहको साझेदारीमा पर्यटकीय पूर्वाधार कार्यक्रम संचालन गरिने छ। प्रत्येक वडामा एक नमुना पर्यटन पूर्वाधार निर्माण गरिने छ।
- डुडे लेकमा पदमार्ग तथा हिलेमा फूलको बगैंचा निर्माण कार्यको थालनी गरिने छ।
- होमस्टे संचालन तथा व्यवस्थापन सम्वन्धी कार्यक्रम संचालन गरिने छ।
- पुरानो संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक तालिमको व्यवस्था गरिने छ भने अन्ध विश्वास, कुरिती, भेदभाव जस्ता प्रथाहरूलाई निरूत्साहित गर्दै हटाउदै लगिने छ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पदमार्ग निर्माण कार्यलाई प्राथमिकता दिइने छ।
- ग्रामिण पर्यटकीय पुर्वाधार क्षेत्र विकास अन्तर्गत करिमेलालाई नमुना पर्यटकिय वस्तीको रुपमा विकास गरिने छ।
- निर्माणाधिन संग्रालय देखि अर्गल गाउँ हुदै सहिदपार्क सम्म पदमार्ग निर्माणको कार्य थालनी गरिने छ ।
- रानु झरना पूर्वाधार निर्माण गर्नुका साथै प्रचार प्रसार गरी झरनालाई पर्यटकीय स्थलको रुपमा विकास गरिने छ।
पूर्वाधार विकास
१. सडक तथा पुल
- प्रदेश सरकारको रणनीतिक सडकको रुपमा रहेको हटिया-हरिचौर-घुस्मेली-तारा सडक कालोपत्रे गर्न प्रदेश सरकारसंग समन्वय गरिने छ ।
- त्रिशुली घुम्टी-माझखर्क-अर्गल-तारागाउँ सडक १० किलोमिटर कालोपत्रे हुनेछ बाँकी सडकको ट्रयाक खोल्न प्रदेश सरकारलाई अनुरोध गरिने छ।
- रिजाल चोक-अमरभुमी-तारा-म्याग्दी सडक (शहिद मार्ग) गाउँपालिका देखि मुख्य राजमार्ग संग जोडिने मुख्य सडकको रुपमा कालोपत्रे गर्न सङ्घीय सरकारसँग समन्वय गरिने छ।
- डोप्टा-वराहखोला सडकको ट्रयाक खोल्ने कार्य आगामी वर्षमा पूरा गरिने छ।
- वडा भित्रका सहायक मार्गहरूको नाली सहित स्तरउन्नती गरी बाह्रै महिना सवारी साधन चल्न मिल्ने बनाइने छ।
- सडक गुरुयोजना बनाई मुख्य सडकहरुलाई कालोपत्रे गरी आगामी पाँच वर्षभित्रमा उज्यालो हरियाली सडकको रुपमा विकास गरिने छ।
- अन्तरपालिका र जिल्ला जोड्ने सडकलाई प्राथमिकिकरण गरिनेछ भने नयाँ ट्रयाक आवश्यकता पहिचान गरेर मात्र खोलिने छ।
- एकीकृत गाउँपालिका पूर्वाधार विकास कार्यक्रमको सम्भाव्यता अध्ययन गरिने छ।
२. भवन तथा सहरी विकास
- अतिविपन्न परिवारहरूको पहिचान गरी घरविहीन परिवारका लागि गाउँपालिकाले निजी आवास निर्माण कार्यक्रम सञ्चालन गर्ने छ।
- बाढी तथा पहिरोबाट क्षति भएका घरहरूको पहिचान गरी राहत तथा सुरक्षित आवासको व्यवस्था मिलाइने छ।
- पालिका भित्र रहेका सुकुम्बासी परिवारहरूको पहिचान गरी सुकुम्बासी समस्या समाधान गरिनेछ तथा अव्यवस्थित बसोबास लाई व्यवस्थित गरिने छ।
- जोखिममा रहेका वस्तीहरुको पहिचान गरी स्थानान्तरण तथा पुनर्वासको योजना सञ्चालन गरिने छ । विपद्का कारण विस्थापित परिवारहरुको बसोबास तथा आयआर्जनको व्यवस्था गरिने छ ।
- टोल सुधार समिति मार्फत समुदायमा छलफल तथा सुझाव संकलन गरी नक्सा पास गरी घर बनाउने कार्यको थालनी गरिने छ।
- गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने छ।
- संस्कृतिक संग्रहालय भवनको निर्माण कार्य आगामी वर्षमा सम्पन्न हुने छ।
- निर्माण हुन बाँकी वडा नम्बर १, ३ र ५ का वडा प्रशासनिक भवनहरूको निर्माणकार्य क्रमश थालनी गरिने छ ।
- धुर्कोट गाउँपालिका, गुल्मी र ताराखोला गाउँपालिका तथा अन्य गाउँपालिका र नगरपालिकाहरूबीचको साझेदारीमा अनुभव आदानप्रदान तथा अन्तर पालिका स्तरीय विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ ।
३. उर्जा
- उज्यालो गाउँपालिका घोषणा कार्यक्रमको आवश्यक तयारी गरिने छ ।
- जलबिद्युत उत्पादन गर्न निजी क्षेत्र र समुदायलाई प्रोत्साहन गरिने छ जसमा ताराखोला गाउँपालिकाका आम नागरिकहरूलाई सेयर लगानी गर्ने वातावरण निर्माण गरिने छ। अति विपन्न परिवारका लागि निश्चित प्रतिशत सेयर रकम गाउँपालिकाबाट व्यवस्थापन गरिने छ ।
- गाउँपालिका क्षेत्रमा विद्युत खपत बढाउन को लागि औद्योगिक संरचनाहरूको निर्माण गरिनेछ तथा आवश्यक विद्युतीय उपकरणहरूको व्यवस्था गरिने छ।
४. सिंचाई
- व्यवशायीक कृषि प्रवर्धनको लागि सिंचाइका आधुनिक प्रविधिहरु प्रयोग र जडान गरिने छ ।
- सिंचाई सुविधा नपुगेका कृषि उत्पादन क्षेत्रहरुमा साना सिंचाइको माध्यमबाट सिचाई सुविधा पुर्याई उत्पादन बृद्धि गरिने छ ।
सामाजिक विकास
१. शिक्षा
- गाउँपालिका स्तरीय शैक्षिक योजना निर्माण तथा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिने छ ।
- विद्यालयमा आवश्यकता अनुसार दरबन्दीको व्यवस्था नहुँदासम्मको लागि आवश्यक कार्यविधि अनुसार सिकाई अनुदानको रुपमा न्यूनतम योग्यता पुगेका शिक्षकको यथासिघ्र व्यवस्था गरिने छ।
- विद्यालयहरूको संस्थागत क्षमता अभिबृद्धिकोलागि व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरूको बिचमा वर्षमा दुईपटक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिने छ।
- द्वन्द्व पिडित बालबालिकाहरूलाई उच्च शिक्षा तथा प्राविधिक शिक्षा अध्ययन गर्नको लागि शैक्षिक छात्रवृत्तिको व्यवस्था गरिने छ।
- विद्यालय, विद्यार्थी र शिक्षकहरुको तथ्यांक अध्यावधिक गरिने छ । विद्यार्थीहरुको सिकाई उपलब्धीलाई निरन्तर मुल्याङ्कन र पृष्ठपोषणद्वारा गुणस्तरीय बनाउन आवश्यक शिक्षक तालिमको व्यवस्था गरिने छ ।
- अभिभावक विहीन तथा विपन्न बालबालिकाहरूको पहिचान गरी प्रत्येक वडामा सामुदायिक सिकाइ केन्द्र स्थापना गरी अध्ययन गराउने व्यवस्था मिलाइने छ ।
- गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि उच्च शिक्षा अध्ययन गरी बसेका तथा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट स्वयंसेवक जनशक्तिको रुपमा परिचालन गरिने छ । त्यस्ता स्वयंसेवक जनशक्तिहरुलाई पालिकाबाट सम्मान तथा विभिन्न अवसरहरुमा प्राथमिकता दिइने छ ।
- शैक्षिक क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्न र गुणस्तरीय शिक्षण सिकाईलाई प्रवर्धन गर्न सुपरिवेक्षण, निरीक्षण, अनुगमन मुल्याङ्कन प्रणालीलाई व्यवस्थित बनाउन संयन्त्र निर्माण गरिने छ ।
- गाउँपालिकामा बहु- प्राविधिक शिक्षालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ।
- कोभिड-१९ को प्रभावबाट पठनपाठनमा पर्ने प्रभावलाई न्यूनिकरण गर्न दुर शिक्षा, भर्चुअल कक्षा, रेडियो शिक्षा जस्ता कार्यक्रम सञ्चालन गरिने छ।
- सामुदायीक विद्यालयमा अध्ययनरत शिक्षकहरुलाई आवश्यकता अनुसार पालिका भित्र अन्तर विद्यालय सरूवाको व्यवस्था मिलाइने छ।
२. स्वास्थ्य
- संघीय सरकारबाट हस्तान्त्रित कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
- निःशुल्क स्वास्थ्य सेवा, औषधी वितरण र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइने छ ।
- नसर्ने रोगहरुलाई न्यूनीकरण गर्नका लागि प्रत्येक नागरिकलाई हस्पिटल कार्ड उपलब्ध गराई वर्षको दुई पटक ल्याव परीक्षण गर्ने व्यवस्था मिलाइने छ।
- ६५ वर्षभन्दा माथिका नागरिकहरूलाई निशुल्क स्वास्थ्य जाँच तथा परिक्षण सुविधा उपलब्ध गराइने छ।
- अर्गल स्वास्थ्य चौकी भवनको निर्माण कार्य यसै आर्थिक वर्षमा गरिने छ ।
- प्रत्येक स्वास्थ्यचौकीको कार्यक्षेत्र भित्र स्वास्थ्यकर्मि मार्फत घरदैलो स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने छ । विपन्न परिवारहरुको स्वास्थ्य बीमा गाउँपालिकाले गर्ने व्यवस्था मिलाइने छ।
- हाल सञ्चालनमा रहेको ५ शैयाको अस्पतालमा तोकिएका मापदण्ड अनुसारको जनशक्ति र स्वास्थ्य उपकरणहरूको व्यवस्था गरिने छ।
- स्वास्थ्य सेवा मापदण्ड अनुसार बर्थिङ सेन्टरहरुका लागि अपुग पूर्वाधारहरुको निर्माण र उपकरण जडान गरिनेछ र सेवामा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरिने छ ।
- महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको १० वर्षे जीवन बीमा कार्यक्रम संचालन गरिने छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको अर्धवार्षिक र वार्षिक समिक्षा बैठक गर्ने व्यवस्था गरिने छ।
- कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीहरूको आवश्यक सुरक्षा तथा नेपाल सरकारले तोके बमोजिम जोखिम भत्ता उपलब्ध गराइने छ।
- प्रत्येक स्वास्थ्य चौकीबाट कम्तिमा हप्ताको एकदिन प्रत्येक विद्यालयहरूमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।
- खाद्य सुरक्षा सम्बन्धी चौमासिक बैठक बस्ने व्यवस्था मिलाइने छ। कुपोषित बालबालिकाहरूको पहिचान गरी पौष्टिक आहारको व्यवस्था गरिने छ ।
- सुनौलो हजार दिनका आमा तथा बच्चालाई उपयुक्त पोषणको लागि दैनिक ओखर र अण्डा वितरणको व्यवस्था गरिने छ।
- “कोरोना राहत कोष” स्थापना गरी कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाईने छ साथै रोकथाम, नियन्त्रण र उपचारको क्रममा मृत्यु हुने स्वास्थ्यकर्मी तथा कर्मचारी र अन्य सर्वसाधारण मृतकको परिवारलाई राहतको व्यवस्था गरिने छ।
- प्रत्येक स्वास्थ्य चौकीबाट चिकित्सकको सिफारिसमा आवश्यक औषधि न्यूनतम शुल्कमा उपलब्ध गराइने छ।
- आरोग्य केन्द्र मार्फत पालिका क्षेत्रमा स्थानीय जडिवुटिको पहिचान, उपयोग, संरक्षण र खेति गर्ने साथै योग, ध्यान तथा शिविर मार्फत स्वस्थ जीवन शैली प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिने छ।

३. युवा तथा खेलकुद
- गाउँपालिका स्तरीय खेलमैदान निर्माणलाई निरन्तरता दिई सुविधासम्पन्न खेलमैदान निर्माण गरिने छ।
- युवाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुद तालिम को व्यवस्था गरिने छ।
- यूवाहरुका लागि सीप प्रविधि र पूँजी उपलब्ध गराई स्वरोजगार तथा उद्यमशीलतामा संलग्न गराइने छ।
- राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितालाई निरन्तरता दिइने छ।
- कामको लागि यूवा कार्यक्रम संचालन गरिने छ।
- युवाहरुलाई सिप विकास तालिम, पत्रकारिता तालिम, कृषि/पशु पालन तालिम सञ्चालन गरिने छ ।
- गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरुको योग्यता र क्षमताको मुल्यांकन गरि उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिने छ।
- शहिद स्मृती पत्रकारिता पुरस्कारको स्थापना गरी गाउँपालिका क्षेत्रमा खोजमुलक पत्रकारिता गर्ने पत्रकारहरूलाई पुरस्कृत गरिने छ।
- यूवाहरुलाई सामाजिक कार्यमा लाग्न प्रोत्साहन गरी सभ्य समाज निर्माणमा जोड दिइने छ।
- एक वडामा एउटा कभर्डहल निर्माण गर्ने कार्य क्रमिक रुपमा अगाडि बढाइने छ।
- खेलकुद प्रशिक्षणको लागि खेल प्रशिक्षकको व्यवस्था गरिने छ ।
- द्वन्द्वपीडित, गरिब तथा जेहेन्दार बालबालिकालाई उच्च तथा प्राविधिक शिक्षा पढ्नका लागि शैक्षिक छात्रवृत्तिको व्यवस्था गरी रोजगारीका लागि अभिप्रेरित गरिने छ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम मा युवाहरूको सहभागितालाई विशेष जोड दिइने छ। प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध युवाहरूको १०० दिन रोजगारी बापत निजहरूको ज्यालाबाट रू ३००० र गाउँपालिकाबाट शतप्रतिशत थप गरी सहकारी संस्थामा बचत गरिदिने र युवाहरूमा बचत गर्ने बानीको विकास गरिने छ।
४. लैङ्गिक समानता र सामाजिक समावेशीकरण
- लक्षित वर्ग, महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक तालिमको व्यवस्था गरिने छ।
- अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, क्षमता विकास, पुनर्स्थापनामा कार्यक्रम सञ्चालन गरिने छ । परिचयपत्र वितरण कार्य सहज र सरल बनाईनेछ ।
- बालमैत्री स्थानीय शासन सञ्चालनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिेने छ ।
- ज्येष्ठ नागरिकहरूमा भएको ज्ञान, सीप कला र अनुभवलाई युवा पुस्तामा हस्तान्तरण गर्नको लागि अन्तरक्रिया तथा छलफल कार्यक्रम तथा तालिम सञ्चालन गरिने छ।
- जातीय भेदभाव, छुवाछुत लगायत विभिन्न रुढिबादी अन्धविश्वास तथा कुरीति हरुलाई न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गरिने छ।
- बाल बिबाह न्यूनीकरणको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ।
- १८ वर्ष मुनिका बालबालिकाहरुलाई सुर्तीजन्य तथा लागूऔषधजन्य पदार्थहरूको किन बेचमा रोक लगाइने छ।
- सकारात्मक सोचको विकास सम्वन्धी प्रशिक्षण र तालिमको व्यवस्था गरिने छ।
- द्वन्द्व पिडित परिवारहरूलाई सम्मान, मृतकको सालिक निर्माण तथा पिडित परिवारका वालवालिकाहरूको अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरिने छ।
५. मानव अधिकार र सामाजिक न्याय
- सामाजिक न्याय कायम हुने गरी मानव अधिकारको उपयोग, सम्मान, संरक्षण र प्रवर्द्धन गरिने छ।
- गाउँपालिकामा अनुशासित, न्यायिक, समानता मूलक र मानवअधिकार मैत्री शासन प्रणाली लागु गर्न जोड दिइने छ।
वन, वातावरण तथा विपद व्यवस्थापन
१. वन तथा वातावरण
- पानीको मुहानको आसपास करिब ३०० मिटर जमिनमा रुख काट्ने वा अन्य गतिविधि गर्न नपाइने नीति अवलम्बन गरिने छ।
- पोखरी निर्माण कार्यलाई निरन्तरता दिइने छ।
- संघीय सरकार र प्रदेश सरकारबाट गाउँपालिकाका विभिन्न वडाहरुमा सञ्चालित खानेपानी आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न बिशेष पहल गरिने छ।
- जडिबुटी उत्पादनका लागि नर्सरी संचालन तथा अन्य बिरुवा रोपण कार्यक्रम संचालन गरिने छ।
- निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरूको उपयोग र दिगो ब्यबस्थापनको लागि मर्मत संभार कोष स्थापना गरी निर्माण कार्यबाट कन्टिन्जेन्सी मा आउने रकमको ५० प्रतिशत रकम जम्मा गरिने छ।
- खनिजजन्य उद्योगहरूको सञ्चालनको लागि प्रारम्भिक वातावरणीय मूल्यांकन गरिनेछ।
२. विपद व्यवस्थापन
- विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणको लागि पालिकास्तरीय नीति तर्जुमा गरी कार्यन्वयन गरिने छ ।
- जोखिम क्षेत्रहरूको पहिचान र नक्साङ्कन गरी जोखिम नियन्त्रण सम्बन्धी आवश्यक अध्ययन गरी कार्यक्रम तर्जुमा गरिने छ।
- विपद व्यवस्थापन सम्बन्धी ऐन, कानुन र कार्यविधि लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ।
- विपद व्यवस्थापन कोषमा आवश्यक रकम थप गर्दै लगिने छ।
- विपद व्यवस्थापनको लागि आवश्यक सामग्री, औजार तथा उपकरणहरू खरिद गरी व्यवस्थापन समिति मार्फत प्रयोग तथा संचालन गरिने छ।
- चट्याङबाट हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्न लाइटेनिङ एरिस्टरको व्यवस्था गरिने छ।
- वर्षात, बाढी, पहिरो तथा अन्य बिपदबाट पिडितहरूको लागि क्षेतिको मूल्याङ्कन गरी राहतको व्यवस्था गरिने छ।
- विपत व्यवस्थापनमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको संलग्नतामा एकीकृत कार्यक्रम संचालन गरिने छ।
३. जल उत्पन्न प्रकोप नियन्त्रण
- नदी तथा खोलाको छेउछेउमा ढुंगा, गिट्टी, बालुवा निकाल्ने कार्यालय निरुत्साहित गरिने छ।
- नदी, खोला तथा ढल निकासले क्षति पुर्याउन सक्ने स्थानहरूको पहिचान गरी तटबन्धन कार्य गरिने छ।
- वातावरण संरक्षण वृक्षारोपण तथा वायोइन्जिनियरिङ कार्य गरिने छ।
४. फोहोर मैला व्यवस्थापन
- हरेक टोल वस्तीमा जम्मा हुने फोहोर मैलालाई व्यवस्थापन गर्न आवश्यक रणनीति तयार गरिने छ।
- टोल बस्ती आसपासमा अव्यवस्थित रुपमा रहेका खानेपानीका स्रोतहरू, पोखरी, कुवा, कुलेसाहरूलाई व्यवस्थित गरिने छ।
- सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक तयारी गरिने छ।

सुशासन तथा संस्थागत विकास
१. प्रशासनिक व्यवस्थापन तथा सुशासन
- योजना सम्झौता, भुक्तानी तथा आम्दानीको अभिलेखीकरण सफ्टवेयर मार्फत गरिने छ।
- नागरिक बडापत्रलाई क्रमश डिजीटल प्रविधिमा लगिने छ।
- सार्वजनिक सुनुवाई तथा जनतासँग जनप्रतिनिधि कार्यक्रमलाई निरन्तरता दिई जनप्रतिनिधि तथा कर्मचारीलाई जनता तथा सेवाग्राहीप्रति जवाफदेही र उत्तरदायी बनाइने छ।
- आम सेवाग्राहीमा हुने सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउन विशेष जोड दिइने छ।
- सबै वडाहरुमा गुणस्तरीय इन्टरनेट सेवाको पहुँच विस्तार गरिने छ।
- राजस्वको दायरा बढाइने छ भने दरलाई समयअनुकुल बनाइने छ।
- राजश्व बृद्धिमा योगदान पुर्याउने कर्मचारीलाई राजश्व बृद्धिको रकमबाट केहि प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराइने छ।
- ताराखोला गाउँपालिका मा रिले स्टेशन मार्फत गल्कोट सामुदायिक रेडियो प्रसारणलाई सूचना प्रसारण को भरपर्दो माध्यम बनाइने छ।
- वडास्तर सम्म नागरिक वडापत्रको कार्यन्वयन र भरपर्दो गुनासो सुनुवाई संयन्त्रको निर्माण गरिने छ ।
- सेवा ग्राहि सन्तुष्टि तथा गुनासो सुनुवाइको व्यवस्था गरिने छ । सम्भवहुने सेवाहरुलाई अनलाईन मार्फत सेवा वितरणको व्यवस्था गर्ने कार्यको शुरुवात गरिने छ ।
- करार कर्मचारीहरूका लागि योगदानमा आधारित कल्याणकारी कोष स्थापना गरिने छ।
- गाउँपालिका क्षेत्रमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी गाउँपालिकावासीको जिउधन तथा स्वतन्त्रताको संरक्षण गरिने छ।
- कर्मचारीहरुलाई कार्यसम्पादनमा आधारीत प्रोत्साहन प्रणाली लागु गर्न आवश्यक मापदण्ड तथा नियम तर्जुमा गरिने छ ।
२. आर्थिक प्रशासन एवं सुशासन
- आम्दानी र खर्चको अभिलेखीकरणलाई व्यवस्थित गर्न आन्तरिक लेखापरीक्षण लाई प्रभावकारी बनाइने छ।
- खरिद योजना निर्माण गरिने छ भने दाखिलालाई सफ्टवेयरमार्फत गरिने छ।
- बेरुजु फर्स्योट सम्बन्धी अध्ययन समिति गठन गरी बेरुजुको अध्यावधिक विवरणलाई गाउँसभामा प्रस्तुत गर्ने तथा फर्स्योट गर्न ताकेता गरिने छ।
- मितव्ययी कार्यशैली, आर्थिक अनुशासन र दिगो विकासमा जोड दिइने छ।
- जनप्रतिनिधि र कर्मचारीलाई वित्तीय सुशासन सम्बन्धी तालिम प्रदान गरी कार्य क्षमतामा अभिवृद्धि गरिने छ।
- भ्रष्टाचारजन्य क्रियाकलापहरूको नियन्त्रण तथा अन्त्य गर्नको लागि शून्य सहनशीलताको नीति अवलम्बन गरिने छ।
- संघिय सरकारको सहयोगमा बिद्युतीय भुक्तानी प्रणाली (E-Payment) को व्यवस्था लागु गरिने छ ।
३. आयोजना सञ्चालन सम्बन्धी कार्य
- आयोजना सम्बन्धी वार्षिक गुरुयोजना निर्माण गरी समयमा नै आयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने नीति अवलम्बन गरिने छ।
- योजना तथा कार्यक्रम अनुगमन प्रक्रियालाई प्रभावकारी बनाइने छ।
- जनसहभागिता नजुट्ने र ठूला आयोजनाहरुलाई ठेक्का प्रक्रिया मार्फत सञ्चालन गर्ने नीति अवलम्वन गरिने छ।
४. तथ्याङ्क प्रणाली, अनुसन्धान र विकास
- ताराखोला गाउँपालिका मा भरपर्दो तथ्यांक प्रणालीको माध्यमबाट विकास निर्माण कार्य सञ्चालन गरिने छ।
- गाउँपालिका भित्रका सम्पूर्ण तथ्यांकहरुलाई डिजिटल भिलेज प्रोफाईलमा आवद्ध गरी व्यवस्थित गरिने छ।
- सूचना प्रणालीलाई व्यवस्थित गर्न ताराखोला अनलाइन सञ्चालन गर्ने व्यवस्था मिलाइने छ।
- पालिकास्तरीय तथ्याङ्कलाई व्यवस्थित गर्न पालिकास्तरीय तथ्याङ्क नीति तर्जुमा गरी कार्यन्वयन गरिने छ ।
अन्त्यमा यस गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका योजनाहरु कार्यान्वयन भई स्थानीय अर्थतन्त्रमा अभिवृद्धि हुनुको साथै आत्मनिर्भर, समृद्ध र सुशासनयुक्त गाउँपालिका निर्माण हुने विश्वास लिएको छु।
प्रस्तुत नीति तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने उपाध्यक्ष दिलकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, सम्पूर्ण वडाका वडाअध्यक्षहरु, कार्यपालिका तथा वडा सदस्यहरु, सम्पूर्ण कर्मचारी साथीहरु, राजनैतिक दलका पदाधिकारीहरू, शिक्षक, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, देश-विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरु लगायत सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।
प्रकाश घर्ति
अध्यक्ष





