तनहुँ, १५ असार– मध्य असारको दिन । क्रंक्रिटका संरचनाले खेत घट्दै गएको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीकुना फाँटमा मान्छेको हुल थियो । कोरोना त्रासमै पनि मुखमा मास्क लगाएर सयौँ भेला भएका थिए । विहान ११ बजेको आसपास फाँटमा पञ्चेबाजा घन्कन थाल्यो । जतिबेला त्यहाँ औपचारिक कार्यक्रमले बिट मारीसकेको थियो । पाका उमेरका एकाध महिलाले असारे भाका गुञ्जाए । कार्यक्रममा अतिथीको रुपमा उपस्थित सरोकारवाला पञ्चेबाजा र असारे गीतको तालमा दबदबे हिलो (खेत)मा पसे । स्थानियसंगै जिल्ला समन्वय समिीत तनहुँका प्रमुख शान्तिरमण वाग्ले र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले हल गोरु समाएर खोप लगाउन थाले । गण्डकी प्रदेश सभा सदस्य आशा कोईराला र जिसस उपप्रमुख पवित्रा पौडेल लगायत जनप्रतिनधीले हरियो धानको विउ दबदबे हिलोमा छुपु छुपु रोपे । स्थानिय महिलाहरु पनि धान रोप्न कस्सिए । हिलो छ्याप्दै नाचेर रमाए । मंगलबार १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वसमा देखिएको दृश्य थियो यो । दरगाउँ कालिका कृषी तथा शहकारी संस्थाले कृषि ज्ञान केन्द्र तनहुँको सहकार्यमा खैरेनीकुना फाँटमा पहिलोपटक रोपाई महोत्सव गरेको हो ।






