काठमाडौं, १६ असार– नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७ हजार १ सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी कुल २ हजार ८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संख्या मंगलबार संक्रमण पुष्टि भएको २ हजार ६ सय ३६ भन्दा २ सय ५६ जनाले बढी हो । त्यस्तै सोमबार २ हजार ४ सय ४४ जना संक्रमित भेटिएकामा आइतबार १ हजार ९ सय २० जनामा मात्र भेटिएका थिए । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको हो ।
बुधबार नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जोखिम अझै नहटेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ४१ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार ५९७ रहेको छ । हाल देशभर रहेका सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ जनामध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् ।
हालसम्म कोरोना संक्रमणका कारण देशभर ९ हजार १ सय १२ जनाको मृत्यु भएको छ भने १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी छ ।





