गत वर्ष मनशुनको अन्तिम समय भदौको १९, २८ र २९ गतेको अविरल बर्षासंगै आएको बाढी पहिरोका कारण बागलुङले धेरै जनधनको क्षति व्यहोर्नुप¥यो । ५० जनाभन्दा धेरै मानिसको मनशुनी प्रकोपका कारण मृत्यु भयो । १५ जना हराईरहेका छन् । ५ सय ९० परिवार विस्थापित भएको तथ्यांक छ । पहाडी जिल्ला भएकाले मनशुनको समयमा बागलुङ बढीनै प्रभावित हुने गरेको छ । खोला नदीहरुको तटिय क्षेत्रमा बाढी र पहाडमा रहेका बस्तीहरुमा पहिरोको जोखिम उत्तिकै छ । जिल्लामा आईपर्ने विपत्को व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला विपत् व्यवस्थापन समिति छभने स्थानीय तहहरुले समेत विपत् व्यवस्थापन समिति र कोष परिचालन गरिरहेका छन् । जिल्लाभर मनशुनका कारण हुने क्षतिको पूर्वानुभान, क्षति पछिको उद्धार, राहत र पुनस्थापनका लागि के काम भैरहेका छन् । मनशुनी प्रकोप प्रतिकार्ययोजना कस्तो छ, कसरी काम भैरहेको छ लगायतका विषयमा ढोरपाटनकर्मी तारानाथ आचार्यले बागलुङका प्रमुख जिल्ला अधिकारी तथा विपत् व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार कार्कीसँग गरेको कुराकानीको सम्पादित अंश ।
मनशुन सुरु भएपछि जिल्लाको अवस्था के हो ?
–हामी कोरोना महामारीसँग जुधिरहेका थियौं । यहीबिच मनशुन सुरु भएको छ । सुरुवाती अवस्थामा नै हामीलाई कठिन बनाईरहेको छ । अहिलेसम्म धेरै क्षति त भएको छैन तर हामीले मनशुनका कारण हुने क्षतिको पूर्वानुमान गरेर मनशुन प्रतिकार्ययोजना तयार गरेका छौं ।
गतवर्ष विपत्ग्रस्त क्षेत्र नै घोषणा भएको जिल्ला हो बागलुङ, अहिलेको मनशुनको सुरुवातले के प्रभाव पारेको छ ?
–तुलनात्मक रुपमा यो जिल्ला मनशुनका कारण प्रभावित हुने जिल्ला नै हो । तथापी बागलुङमा अहिलेसम्म ठुलो क्षति भएको अवस्था छैन् । एक जनाबाहेक जनको क्षति भएको छैन । केही घरहरुमा क्षति त भएको छ तर अन्यत्रको तुलनामा आत्तिईहाल्ने हिसाबले हामीले मनशुनको सुरुवातमा क्षति व्यहोर्नु परेन् ।
यहाँका ग्रामिण सडकमा त पक्कै पनि क्षति भएका छन् । नयाँ ट्रयाक खुलेका सडक नचलेको अवस्था छ । तथापी राष्ट्रिय राजमार्ग रोकिएका छैनन् । मध्यपहाडी लोकमार्ग र जिल्लाको दक्षिण जोड्ने सडकमा पनि बेला बेलामा बाढी पहिरोले क्षति पु¥याउने र त्यसलाई तत्काल मर्मत गरेर चलाउने काम भैरहेको छ ।
विपत् प्रतिकार्ययोजनामा के छ ? कसरी काम हुन्छ ?
–असार ७ गतेको विपत् व्यवस्थापन समितिको बैठकबाट मनशुन प्रतिकार्ययोजना २०७८ स्वीकृत गरेर कार्यान्वयनमा आईसकेको छ । यसले मनशुनजन्य दुर्घटनाहरु जुन हुन्छन् बाढी पहिरो प्राकृतिक प्रकोपहरु हुनसक्छ, त्यसलाई पूर्वानुमान गरेर हामीले हाम्रा संयन्त्रहरु तयार राख्ने, स्थानीय तहका विपत् व्यवस्थापन समितिलाई सक्रिय बनाउने, सरोकारवाला संस्था तथा सुरक्षा निकायलाई तयार राख्ने र हुनसक्ने क्षतिको विषयमा पूर्व जानकारी गराउने र हामी पनि तयार रहनेगरी प्रतिकार्ययोजना रहेको छ ।
विपत् प्रतिकार्यका लागि स्थानीय तहसँग कसरी सहकार्य भैरहेको छ ?
–स्थानीय तहसँग पनि प्रत्येक पालिकामा विपत् व्यवस्थापन समिति छ । प्रतिकार्ययोजना स्थानीय तहले पनि बनाइरहेका छन् । हामी समन्वयमा रहेर संवेदनशिल क्षेत्रको तथ्यांक लिने, पूर्वयोजना तयार गर्ने, विपत् आईलागेमा कसरी राहत, उद्धार गर्ने भन्ने विषयमा योजना बनाउने, स्थानीय तहलाई पनि तयार राख्ने लगायतका समन्वयात्मक काम गरिरहेका छौं । उहाँहरुसँग निरन्तर सम्पर्कमा छौं ।
कोरोना महामारीबाट प्रभावित भएकाहरु विपत्बाट प्रभावित हुन सक्ने सम्भावना कत्तिको हुँदोरहेछ ?
–पक्कै पनि हामीसँग दोहोरो चेपटाको सामना गर्नुपर्ने छ । एक हामी कोरोना महामारीबाट प्रताडित छौं । बिचमा केही कम भएको हो की भन्ने लागेको थियो । पुनः संक्रमण बढ्ने क्रममा छ । अहिले अधिकांश संक्रमित होम आईसोलेसनमा बस्नुभएको छ । उहाँहरु प्राकृतिक प्रकोपमा पर्ने सम्भावना पनि उत्तिकै छ । दुई वर्षको अबधि भैसकेको हुँदा कोरोना महामारी संक्रामक रोग हो भन्ने सबै नागरिकमा चेतना आईसकेको छ । यसको लागि सरसफाई र स्वास्थ्यका व्यक्तिगत मापदण्ड अपनाएको खण्डमा यो रोग जटिल होईन भन्नेमा नागरिक सचेत हुनुहुन्छ । धेरै नागरिक घरमा सुरक्षित हुनुहुन्छ तर विपत्को सामना गर्न त्यो सुरक्षाले मात्रै नहुन सक्छ ।
विपत्को समयमा नागरिकको सुरक्षा कत्तिको कठिन बिषय रहेछ ?
–सर्वप्रथम त पूर्व साबधानी नै ठुलो कुरा हो । राष्ट्रिय रुपमा नै सूचनाहरु जारी भैरहेको हुन्छ । जस्तोः बर्षा, बाढीको सम्भावनाका बिषय, पहिरो आउनसक्ने सम्भावनाको बिषय । ति सूचनाहरुलाई हामी पनि हाम्रोतर्फबाट नागरिकको तहमा पु¥याउने गरेका छौं । पूर्वतयारीको रुपमा प्रत्येक स्थानीय तहमा भएका विपत् व्यवस्थापन समितिलाई तयार राखेका छौं । सबै संयन्त्र तयार रहेकाले नागरिकको सुरक्षामा हाम्रो योजना कार्यान्वयन भैरहेको छ ।
विपत्मा कस्ता नागरिक प्रभावित हुन्छन् भन्ने यहाँहरुको आँकलन छ ?
–समान्यतया समाजमा जुन वर्ग अरु बेला प्रभावित हुन्छ त्यस्ता वर्गहरु नै बाढी पहिरो जस्ता प्राकृतिक विपत्को जोखिममा पर्ने गरेका छन् । सिमान्तकृत वर्ग प्राकृतिक विपत्मा प्रभावित हुने सम्भावना बढी हुन्छ । महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएकाहरु पीडित भएको पाएका छौं । सोही अनुसारको व्यवस्थापनको योजना बनाएका छौं ।
विपत्सँग जुध्नका लागि पूर्वाधार, जनशक्तिका हिसाबले जिल्ला विपत् व्यवस्थापन समिति सक्षम छ ?
–हामीले राहत दिँदैनौं । कार्यालयको काम समन्वयकारी मात्रै हुन्छ । विपत् व्यवस्थापन समितिको अध्यक्षता मात्रै जिल्ला प्रशासन कार्यालयले गर्छ । नेपाल प्रहरी, सेना, विपत् व्यवस्थापन गुल्म, रेडक्रस, उद्योग वाणिज्य संघ र गैह्रसरकार्री संस्थाहरु समेत हामी परिचालन गर्छौं, समन्वय गर्छौं । हामी पक्कै पनि प्रकोप कुन प्रकृतिको छ भन्ने कुरामा हाम्रा उपकरण, जनशक्तिले पर्याप्त हुन्छ हुँदैन भन्ने कुराको निधो गर्दछ । सामान्य खालको प्रकोपसँग जुध्नका लागि हामी सक्षम छौ । प्रहरी, सेना र विपत् गुल्मसँग साधनहरु छन् । हामीले थेग्न नसक्ने अवस्था आएमा हामीले छिमेकी जिल्ला र प्रदेशसँग समेत समन्वय गर्दछौं ।
विपत्पछि राहत समयमा नपुग्ने समस्या छ भन्छन्, संघीय र प्रदेश सरकारले दिने राहत त यहाँहरु आँफैले बाँड्नुहुन्छ नि ?
–प्राकृतिक विपत्को हिसाबले हेर्ने हो भने हामी पूर्वानुमानसम्म त गर्न सक्छौं । तर यस्तै होला भन्न सकिँदैन । प्रकोप पछिको कुरा चाहिँ हामी नजिकको प्रहरी युनिटसँग रहेर सूचना लिईरहेका छौं । बाढी पहिरो जाँदा हामीले तत्काल टोली खटाएर राहत र उद्धारका काम गरिरहेका छौं । गतवर्ष ढोरपाटनमा भएको घटना दुःखद थियो । त्यहाँ अहिले संघीय सरकारले नै योजना बनाएर पुननिर्माणको काम चलिरहेको छ । यो आर्थिक वर्षबाट निजी आवास पुननिर्माणको काम सुरु हुन्छ । १५ जना बेपत्ता हुनुहुन्छ, हामी खोजीमै छौं । संघीय सरकारले दिने २ लाख र प्रदेश सरकारले दिने ५० हजार हामीले जनधनको क्षति भएको परिवारलाई समयमा उपलव्ध गराईरहेका छौं ।
विपत् मानव सिर्जित कारणहरुले पनि निम्तिन्छ, हजुरको केही सुझाव छ ?
–विपत् बाजा बजाएर आउँदैन । हामीले सजगता अपनाएको खण्डमा कतिपय दुर्घटना कम गर्न सक्छौं । हामीले माटो परीक्षण गरेर घर बनाउँदैनौं, भौगर्भिक अध्ययन नगरी बनेका बस्ती पहिरोका जोखिममा छन् । प्राकृतिक बहावको क्षेत्रमा घर बनाउने प्रबृत्तिका कारण पनि जोखिम धेरै छन् । हामी कोभिड–१९ संक्रमण र प्राकृतिक प्रकोपको चेपुवामा छौं । कोभिडबाट बच्न सजगता अपनाउनु पर्छ भने प्रकोपका सम्बन्धमा जोखिमका पूर्व सूचनालाई अबलम्वन गर्न नागरिकहरुलाई आग्रह गर्न चाहन्छु ।





