स्याङ्जा, १० साउन– वालिङ नगरपालिकाले यहाँका ३३ किसानहरुलाई भैंसी वितरण गरेको छ । वालिङ ९, १३ र १४ वडाका किसानहरुलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्न भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६२ वटा भैंसी वितरण गरेको हो ।
नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष ०७७÷७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारी अन्तर्गत २६ लाख ४५ हजार र कृषकहरुको ५० प्रतिशत लागत साझेदारीमा भैंसी खरिद गरिएको हो । भैंसीपालनका लागि सम्भावित ठाउँ तथा किसानका मागका आधारमा ३ वटा वडा छनौट गरी माउ भैंसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
आधुनिक तरिकाले भैंसी पालन गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउन भैंसी वितरण गरिएको नगरप्रमुख खाँणले सुनाए । ‘परम्परागत रुपमा भैंसीपालन गर्दै आएका किसानलाई आधुनिक तरिकाले उन्नत जातका भैंसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैंसी प्रवद्र्धन कार्यक्रम राखिएको हो,’ उनले भने ।
परम्परागतरुपमा भैंसीपालन गर्दा फाइदा नहुने भएकाले व्यवसायिकतामा जोड दिइएको नगरपालिकाको भनाइ छ । यसबाट किसानको आर्थिकस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने नगरको विश्वास रहेको नगरप्रमुख खाँणले बताए । ‘यसले पशुपालनमा व्यावसायिकता बढ्ने भएकाले किसानहरु आत्मनिर्भर हुने र व्यवसायमा लागिरहन ऊर्जा तथा उत्प्रेरणा मिल्छ,’ उनले भने ।
नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकहरुले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मूर्रा क्रस जातका भैंसी खरिद गरिएको पशु शाखाका प्रमुख डा वसन्तकुमार अधिकारीले जानकारी दिए । ३ वटा वडामा सञ्चालन भएको भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत केही कृषकले २ वटा र केही कृषकले एउटाका दरले भैंसी खरिद गरेका उनले जानकारी दिए ।




