शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाले फेरि बढ्यो मृत्युदर, तेस्रो लहर रोक्ने तयारी सुस्त

कोरोनाले फेरि बढ्यो मृत्युदर, तेस्रो लहर रोक्ने तयारी सुस्त

नवलपुरमा ‘स्टप, टेष्ट एण्ड गो’ सेन्टर खोलिने, अन्यत्र परीक्षण बढाइँदै छ : स्वाथ्य सचिव शर्मा


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७८, बिहिबार

पोखरा, १५ साउन– कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण हुन नपाउँदै तेस्रो लहर चल्न थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । कोरोनाको नयाँ–नयाँ भेरियन्ट थप संक्रामक रहेको भन्दै उपचार प्रणालीले नै धान्न नसक्ने अवस्था आउनेतर्फ उनीहरुले सजग गराएका छन् ।
कोरोनाको दोस्रो लहर रोक्न गण्डकीमा वैशाख तेस्रो सातादेखि निषेधाज्ञा भएको थियो । दोस्रो लहर नियन्त्रणमा आउन थालेपछि असार दोस्रो सातादेखि निषेधाज्ञा केही खुकुलो पारिएको थियो ।
जारी निषेधाज्ञा पूर्ण रुपमा खुल्न नपाउँदै फेरि तेस्रो लहर चल्न थालेको हो । विगत एक महिनायताको कोरोना संक्रमणको तथ्याङ्क हेर्दा बिहीबार सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको छ । असार १४ गते कोभिडका कारण गण्डकीमा ६ जनाको मृत्यु भएको थियो । साउन १४ अर्थात् बिहीबार ९ जना संक्रमितको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उक्त तथ्याङ्क एक महिना यताकै बढी हो ।
एक महिनायता कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । गण्डकीमा बिहीबार १ हजार ९५ जनाको कोरोना संक्रमण गर्दा झण्डै आधा अर्थात् ४ सय २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कोरोनाको डेल्टालगायत नया भेरियण्ट तीब्र गतिमा फैलिने र छिट्टै मानिसको ज्यान लिने खालको रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डा. डेविट श्रेष्ठले बताए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७६ जना संक्रमित अटाउने आइसोलेसन संचालनमा छ । कोरोना संक्रमितको संख्या बढेसँगै आइसोलेसन वार्ड पनि भरिएको डा. श्रेष्ठले बताए । ‘अहिले आइसोलेसन पूर्ण रुपमा भरिएका छन्,’ उनले भने, ‘आइसोलेसनमा बेड नपाएका विरामी आकस्मिक कक्षमा बसेर बेड कुरेका छन् ।’
गण्डकी प्रदेशमा अहिलेसम्म ६६ हजार ७१६ जना कोरोना संक्रमित भइसकेका छन् । जसमा ६१ हजार ४०३ जना निको भएर घर फर्केका छन् भने हालसम्म कोरोनाकै कारण गण्डकीमा १ हजार ८३ जनाले ज्यान गुमाइसकेका छन् । अझै गण्डकीमा ४ हजार २३० जना कोरोनाको सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर बढ्नुको कारण सरकार, राजनीतिक पार्टीका नेता कार्यकर्ता, विभिन्न संघ संस्था र आम नागरिककै लापरवाही रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । लकडाउनका बेलामा समेत जुलुस निकाल्ने, भेला लगायतका राजनीतिक अभियानले संक्रमण फैलाएको उनीहरुको आरोप छ ।
सरकारले निषेधाज्ञा जारी गरेपनि स्वास्थ्य मापदण्ड पालना गराउन र निषेधाज्ञामा भेला तथा जमघट रोक्न नसक्दा अहिले फेरि संक्रमण बढेको उनीहरुको भनाई छ । सरकारले कोरोना महामारीको तेस्रो लहर रोक्न तयारी गर्न नसकेको भन्दै स्वास्थ्यकर्मीहरुले आलोचना गरिरहेका छन् ।
कोरोना महामारीको पहिलो लहर नेपाल छिर्दा यहाँका स्वास्थ्य संस्थाहरु कोरोनाबारे अनभिज्ञ थिए । यसका विरुद्ध तयारी गर्न सकेका थिएनन् । पहिलो लहर रोक्न जुटाएको स्रोत साधनले नै कोरोनाको दोस्रो लहर रोक्न काम गरेका थिए । सरकारी तथा निजी अस्पतालहरुमा स्वास्थ्यकर्मीदेखि आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायत मानवीय स्रोत र स्वास्थ्य सामाग्री जुटाउन नसक्दा कयौं बिरामीले ज्यान गुमाएका थिए ।
कोरोनाको तेस्रो लहर फैलदै गर्दापनि सरकार र अस्पतालहरुले थप तयारी गर्न सकेका छैनन् । कोरोनाको दोस्रो लहरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार गरेका डा. श्रेष्ठले कोरोनाविरुद्धको तेस्रो लहर रोक्न सरकारले तयारी नगरेको बताए ।
‘अस्पतालहरुमा पूर्वाधार र जनशक्ति थप्नुपर्ने हो, सरकारले त्यतातिर ध्यान दिएको देखिँदैन,’ डा. श्रेष्ठले भने, ‘तेस्रो लहर रोक्न तयारी नै भएन ।’ उनले कोरोनाको दोस्रो लहर रोक्न भएका संसाधनमा आवश्यकता अनुसार थप पूर्वाधार चाहिने बताए ।
कोरोनाको तेस्रो लहर रोक्न काम थालिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकीका सचिव डा. विनोदविन्दु शर्माले बताए । बिहीबार साँझ मात्रै बैठक बसेर परीक्षण र उपचारको दायरा बढाउन विभिन्न निर्णय गरेको उनले जानकारी दिए ।
डा. शर्माका अनुसार नवलपुरमा ‘स्टप, टेष्ट एण्ड गो’ सेन्टर खोल्ने निर्णय गरेको छ । यस्तै, तनहुँको आँबु खैरेनी र स्याङ्जाको राम्दीमा पनि कोरोना परीक्षण केन्द्रहरु संचालन गरिने उनले जानकारी दिए । नवलपुरको रजहर प्राकृतिक चिकित्सालयमा ३५० बेडको आइसोलेसन संचालन गर्ने र कोरोना परिक्षण गर्न ल्याब स्थापना गर्ने निर्णय भएको छ । उक्त चिकित्सालयलाई तत्काल एम्बुलेन्स उपलब्ध गराउने निर्णय भएको डा. शर्माले बताए ।
कोरोनाको तेस्रो लहर रोक्न अस्पतालहरुमा के के संरचना थप गर्न आवश्यक छ भनेर अस्पताल तथा चिकित्सा महाशाखाका प्रमुख डा. रामबहादुर केसीले अध्यन गर्ने र सोही अनुसार संरचना थप्ने भएको छ । तत्कालका लागि लमजुङ, बागलुङ र मध्यविन्दु अस्पतालमा थप ५÷५ वटा आइसीयू बेड थपिने भएका छन् ।
बिहीबार गण्डकीका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीको उपस्थितिमा बसेको बैठकले ३ जिल्लामा बच्चाका लागि आइसियु स्थापना गर्ने भएको छ । म्याग्दी, पर्वत र स्याङ्जामा बच्चाको आइसीयू संचालन गर्न संघीय सरकारबाट ३÷३ करोड बजेट आएको छ । बच्चाको आइसीयूमा भेण्टिलेटर, बेड लगायत बच्चाकै साइजमा राखिने डा. शर्माले बताए । बच्चाको आइसीयू संचालन सम्बन्धमा जिल्ला अस्पतालका नर्सलगायत स्वास्थ्यकर्मीलाई शुक्रबार तालिम राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->