पोखरा, १७ साउन– आफ्नो दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि एउटा भेटघाटमा सांसद डोबाटे विश्वकर्मालाई भनेका थिए, ‘गोवद्र्धन पोखरेलको छोरा मुख्यमन्त्री बन्दा मन्त्रिपरिषद्मा दोबाटे विश्वकर्मा भएन भने त्यो मन्त्रिपरिषद् अपुरो हुन्छ ।’
मुख्यमन्त्री पोखरेलले डोबाटेलाई खुशी बनाउन त्यसो भनेका थिएनन् । लोकतन्त्रको आन्दोलनमा लाग्दा पारिवारिक तहमा जोडिएको सम्बन्धको सम्मानमा पोखरेलले त्यसो भनेका थिए । मुख्यमन्त्री पोखरेलका बुबा गोवद्र्धन पोखरेल र सांसद डोबाटेका बुबा चंखवीर विकको सम्बन्ध एउटै परिवारको जस्तो थियो । गोवद्र्धनले नै डोबाटे र उनका बुबालाई कांग्रेसले हाँकेको लोकतन्त्रको आन्दोलनमा गोलबन्द गरेका थिए ।
२०१५ सालको निर्वाचनबाट कांग्रेसले २ तिहाई बहुमत पाएपछि विपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । तनहुँ ११ अस्थित डोबाटेको घरमाथिको चौतारो अहिले पनि छ । त्यही चौतारो माथि गोवद्र्धन पोखरेलको घर थियो । गोवद्र्धनकै प्रेरणामा चंखवीर २००७ सालअघि देखि विपी नेतृत्वको कांग्रेस राजनीतिमा होमिएका थिए ।
विपी नेतृत्वको लोकप्रिय सरकारलाई तत्कालिन राजा महेन्द्रले २०१८ सालमा अपदस्थ गरे । प्रजातन्त्र विघटन गरेर राजाले देशमा निर्दलीय पञ्चायत लागु गरे । ‘त्यसपछि कांग्रेसका कार्यकर्ता भागाभाग हुने अवस्था आयो, गोवद्र्धन बुबा र मेरो बुबा पनि गाउँ छाडेर भूमिगत शैलीमा काम गर्नुपर्ने भयो,’ डोबाटे सम्झन्छन् ।
कांग्रेस तनहुँका तत्कालीन नेता गोवद्र्धन अर्चलचौरबाट भागेर भूमिगत अवस्थामै तनहुँकै पोखरीफाँट बसाइँ सरे । त्यतिबेला डोबाटे ५, ६ वर्षका थिए । गोवद्र्धनलाई साथ दिएका चंखवीर पनि गाउँबाट भागेर तनहुँकै निर्बुमा बसाइँ गए । पञ्चायत पक्षधरको आक्रमणबाट जोगिन उनीहरुले गाउँ छाड्नुपरेको थियो ।
पञ्चायतकालमा कांग्रेस तनहुँका सभापति रामप्रसाद खनालको मृत्यु भएपछि गोवद्र्धन पार्टीको जिल्ला सभापति चुनिए । चंखवीर थिए, पार्टीका जल्दोबल्दो कार्यकर्ता । पञ्चायत पक्षधरको आक्रमणबाट गोवद्र्धनलाई जोगाउन चंखवीर हरबखत सजग थिए । पार्टीले दिएका आन्दोलनका कार्यक्रममा त झनै उनले सक्रियता देखाए ।
पञ्चायतसँग भूमिगत रुपमा लड्दालड्दै चंखवीरको २०३० सालमा निधन भयो । चंखवीरका ४ छोरा र ६ छोरीमध्ये डोबाटे माइला छोरा थिए । उनका हजुरबुबा ३३ सालमा बिते । फेरि ३५ सालमा उनका जेठा दाजुको पनि निधन भयो । त्यतिबेला डोबाटेको उमेर जम्मा २१ वर्ष थियो । उनीहरु सामान्य किसान परिवारका थिए । बुबा र दाजुको निधनपछि परिवारको जिम्मा डोबाटेको काँधमा आयो ।
पञ्चायत र बहुदल पक्षधरबीच लडाइँ जारी थियो । गोवद्र्धन र चंखवीरले छोरा डोबाटेलाई प्रजातन्त्रको पक्षमा लाग्नुपर्छ भनेर सुझाएका थिए । आफूहरुको आन्दोलनका बारेमा युवा डोबाटेलाई बुझाएका थिए । बुबा र दाजुको मृत्यु भएपछि किसानी गरेर परिवार धानेका डोबाटेलाई २०३६ सालपछि राजनीतिमा होमिनुपर्ने भयो । त्यसका लागि आप्mना बुबा चंखवीर र गोवद्र्धनको प्रेरणा त छँदैथियो । गोवद्र्धनका छोरा रामचन्द्र पोखरेलले विशेष रुपमा ०३६ सालको आन्दोलनमा डोबाटेलाई जोडे ।
‘मलाई काँग्रेसको राजनीतिमा लाग्ने विशेष रुपमा रामचन्द्र पोखरेलले प्रेरणा दिनुभएको थियो । गोवद्र्धन बुबाले बहुदलको पक्षमा मतदान गर्नुपर्छ भन्नुहुन्थ्यो । अब ठूलो परिवर्तन आउँछ भन्नुभएको थियो,’ डोबाटे भन्छन् ।
बहुदल कि सुधारिएको पञ्चायत भनेर राजाले घोषणा गरेको जनमत संग्रहमा बहुदलको पक्षमा जनमत जुटाउन डोबाटे पूर्णकालीन भएर लागे । उनीहरुको मतदान केन्द्र तनहुँको दुम्सीचौरस्थित भानु माविमा थियो । पञ्चायत पक्षधरको मतपत्र पहेंलो थियो । बहुदल पक्षको निलो ।
बहुदलको पक्षमा उनीहरु यसरी खटिए कि, शासनमा रहेका राजा महेन्द्रले लिएको पञ्चायती पक्षमा उनीहरुको मतदान केन्द्रबाट जम्मा २ मत खस्यो, बाँकी सबै बहुदलको पक्षमा । ‘हाम्रो क्षेत्र त्यतिबेलै प्रजातन्त्रको पक्षमा थियो, गोवद्र्धन बुबाको प्रभावले सबै जनता कांग्रेसमा आवद्ध थिए,’ डोबाटेले भने ।
कांग्रेसको सदस्य बन्न अहिले जस्तो त्यतिबेला मारामार थिएन । २०३६ सालको जनमत संग्रहमा पूर्णकालीन भएर लागे पनि डोबाटेले २०४० सालमा मात्रै कांग्रेसको सदस्यता पाए । गोवद्र्धनका छोरा रामचन्द्रले उनलाई पार्टी सदस्य बनाएका थिए ।
जनमत संग्रहमा डोबाटेको गाउँबाट २ भोट बाहेक सबै भोट बहुदलको पक्षमा खसेपनि देशव्यापी निर्वाचनमा बहुदल पक्षधरले हार खानुप¥यो । फेरि कांग्रेस र बहुदल पक्षधरका लागि कठिन दिन आए । डोबाटेले कठिन समयको सामना गर्ने निर्णय लिए ।
२०४२ सालमा कांग्रेसले सत्याग्रह आन्दोलनको घोषणा ग¥यो । त्यतिबेला प्रशासन घेर्न जानुपर्ने थियो । पार्टी नेता गोवद्र्धनलाई लुकाइछिपाई आन्दोलनमा सरिक बनाउनुपर्ने भयो । सत्याग्रह आन्दोलनमा लाग्दा पटक पटक डोबाटेलाई प्रशासनले पक्राउ ग¥यो । सरकारी दमनले डोबाटेको प्रजातन्त्रप्रतिको लगाव घटेन ।
आन्दोलन गर्दै जाँदा २०४६ सालमा निर्णायक आन्दोलनको घोषणा भयो । डोबाटे फेरि पक्राउ परे । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा यसरी पटके पक्राउ परेका डोबाटे आफू कतिपटक पक्राउ परें भन्ने हिसाब छैन, उनीसँग ।
२०६१ मा फेरि राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए । कांग्रेससहित लोकतन्त्रमा विश्वास गर्ने दलहरु फेरि आन्दोलनमा ओर्लिए । त्यतिबेलाको आन्दोलनमा पनि काठमाडौंमा ८÷१० पटक पक्राउ परेको डोबाटेले बताए । जब २०६२ मा सात दलले निर्णायक जनआन्दोलनको घोषणा गरे । त्यतिबेला संयुक्त दलित संघर्ष समिति तनहुँको संयोजक भएर डोबाटेले जनआन्दोलनको नेतृत्व लिए ।
पार्टीले लिएको निर्णय लागु गर्न र आन्दोलन अघि बढाउन दत्तचित्त डोबाटेले पार्टीको पदमा धेरै आशक्ति देखाएनन् । २०३६ सालदेखि राजनीतिमा होमिएका डोबाटे २०४९ सालको स्थानीय निर्वाचनमा वडा समितिको सदस्यको उम्मेदवार बने । लगातार २ कार्यकाल वडा सदस्यमा निर्वाचित बने ।
त्यसपछि डोबाटे कांग्रेसको भातृसंस्था नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला सदस्य बने । कांग्रेसले २०५४ सालमा नेपाल दलित संघ स्थापना ग¥यो । डोबाटे दलित संघ तनहुँको ३ कार्यकाल सभापति बने । दलित संघको ३ कार्यकालदेखि केन्द्रीय सदस्य छन् । कांग्रेसले उनलाई २०६६ देखि ०६८ सम्म राष्ट्रिय दलित आयोगको सदस्य बनाएको थियो । त्यसपछि अहिले उनी प्रदेश सभाका सांसद छन् ।
दलित आन्दोलनमा होमिएका डोबाटे नेपाली कांग्रेस तनहुँबाट महाधिवेशन प्रतिनिधि हुन् । आन्दोलन र सरकारमा हुँदा पार्टीले दिएको जिम्मेवारीअनुसार मात्रै आफूले काम गरेको डोबाटेको दाबी छ । प्रजातन्त्र स्थापना भएपछि विशेषगरी दलित आन्दोलनमा आफू लागिपरेको उनले बताए । दलितका विषयमा आफूले निरन्तर आवाज उठाउँदा पनि पार्टी र सरकारबाट सम्बोधन हुन नसकेको उनको दुखेसो छ ।
एमाले नेतृत्वको गण्डकी सरकार भएकै बेला पनि सदनमा उनले पटकपटक दलितका मुद्धामा केन्द्रित हुन आवाज उठाएका थिए । विपक्षीको आवाज तत्कालीन नेकपा सरकारले सुनुवाई गरेन । अहिले कांग्रेस नेतृत्वको सरकारमा पनि उही आवाज उठाउनुपरेको उनले बताए ।
पोखराको बाटुलेचौरमा स्थानीय क्षेत्री समुदायले दलितलाई सार्वजनिक क्रियापुत्री भवन प्रयोग गर्न दिएन । त्यसका विरुद्ध डोबाटे सदनमा गर्जिए । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर धरौटीमा छाडेको भन्दै उनले असन्तुष्टि जनाए ।
राष्ट्रिय दलित आयोगमा रहँदा दलित समुदायमाथि भएका अमानवीय घटनाको छानविन गर्न देशका विभिन्न ठाउँमा पुगे । छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाए । तर, कार्यान्वयन भएन । उनलाई यो कुराले निकै मन छुँदो रहेछ । जीवनमा सबैभन्दा पीडादायी घटना भन्दै उनले बर्दियामा दलित महिलामाथि भएको बलात्कारपछि हत्याको एउटा घटना यसरी सम्झन्छन् ः
‘बर्दिया राष्ट्रिय निकुञ्चमा ३ जना दलित महिलालाई सेनाले बलात्कार गरेर हत्या ग¥यो । यो घटना ढाकछोप गर्न सेनाले ती महिलाका श्रीमानलाई पक्राउ गरेर चोरी शिकारीको मुद्धा लगायो । राष्ट्रिय दलित आयोगबाट छानविन गर्न म त्यहाँ पुगेको थिए । सिडिओलाई भनेर मुद्धा फिर्ता लिन र बलात्कारका अभियुक्तलाई कारबाही गर्न आग्रह गरे । तर कसैले सुनेनन् ।
त्यतिबेला रक्षामन्त्री हालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई छानविन प्रतिवेदन बुझाए । सेनाभित्रका बलात्कारीलाई कारबाही होस् भनेर । पीडितलाई राहतका नाममा २५ हजार किरिया खर्च दिए । तर, पीडकलाई कारबाही भएन । ३÷३ जना महिलालाई बलातकार गरेर हत्या गरेको घटनामा पनि न्याय पाउन सकेन । मलाई अहिले पनि त्यो घटनाले पीडा हुन्छ । सायद मेरो जीवनको सबैभन्दा ठुलो पीडादायी घटना थियो त्यो ।’
०००
प्रजातन्त्र आएपछि पार्टी भित्रै पनि उनले छुवाछुत र विभेदका विरुद्ध लड्नुपरेको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघले भवन बनाउन २०५४ सालमा दमौलीमा महायज्ञको आयोजना ग¥यो । महायज्ञमा कथा वाचन गर्न वाचन शिरोमणी नारायण पोखरेल आएका थिए । महायज्ञमा दान अनुसारको सम्मान दिइएको थियो ।
महायज्ञमा दलित समुदायले पनि महिला संघको भवन बनाउन दान दिए । तर उनीहरुलाई कुनै सम्मान दिइएन । यतिसम्मकी महायज्ञको मण्डपसम्म पनि दलितलाई जान दिएन । डोबाटेले विरोध जनाए । छुवाछुत र विभेद गरेको भन्दै महायज्ञमै उनले विरोध गरे ।
डोबाटेको विरोध देखेपछि प्रमुख कथा वाचक नारायण पोखरेलले डोबाटेलाई बोलाए । समस्याबारे छलफल गरे । त्यसपछि वाचक पोखरेलले मञ्चबाटै क्षमायाचना गरेको डोबाटेले बताए । महायज्ञमा दान दिएका दलितलाई अरु सरह प्रमाणपत्र लगायत सम्मान दिए । ‘नारायण पोखरेलले त्यसपछि कहींकतै दलितलाई रोकतोक गरेनन्’, उनले भने, ‘हाम्रो आन्दोलनकै कारण उहाँ जहाँ गएपनि दलितलाई कुनै भेदभाव गरेनन् ।’
दलित आन्दोलनका क्रममा डोबाटेले कयौं ठाउँमा छुवाछुत विरुद्ध लड्नुपरेको छ । त्यही पनि प्रजातन्त्र आएपछि । ‘धारा छुवाउनेदेखि कुवामा पानी भर्ने र खेतमा पानी लगाउँदा समेत छुवाछुत विरुद्ध लडिएको छ’, उनले भने, ‘जति भिडे पनि समस्या अझै उस्तै छन् ।’ संविधान र कानुनमा छुवाछुतविरुद्ध कानुन भएपनि कार्यान्वयन नहुँदा समस्या समाधान नभएको उनको भनाइ छ ।
पार्टीका नेताहरु परम्परागत मानसिकताबाट माथि उठ्न नसक्दा छुवाछुत र विभेद हट्न नसकेको उनको निष्कर्ष छ । आन्दोलनका बेला छुवाछुत नभएपनि अरु बेला त्यस्तो व्यवहार हुने उनले भोगेका छन् । पार्टीले विधानमा गरेको व्यवस्था समेत लागु गर्न नेताहरुले नसकेको उनको गुनासो छ ।
नेपाली कांग्रेसको विधानमा पार्टी केन्द्रीय समितिमा एक जना सहमहामन्त्रीसहित १० जना दलित केन्द्रीय सदस्यका लागि आरक्षण गरेको छ । जसमा ४ जना दलित महिना अनिवार्य हुनुपर्ने उल्लेख छ । पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मै यस्तो व्यवस्था भएपनि लागु हुन नसेकेको डोबाटेले बताए ।
कांग्रेसको राजनीतिमा ४४ वर्ष बिताएका डोबाटेले आफूलाई पार्टीले अन्याय मात्र ग¥यो भन्ने पक्षमा छैनन् । आफूलाई मन्त्री नबनाएको विषयभन्दा पनि संविधान, कानुन र पार्टी विधानले भनेको समावेशीता भएन भन्ने आप्mनो अडान रहेको उनको तर्क छ ।
‘मलाई पार्टीले सांसद बनाएको छ, अन्याय मात्र गरेको छैन’, उनले भने, ‘पार्टीले संविधान र विधान कार्यान्वयन गर्नुपर्छ भन्ने मात्रै मेरो भनाई हो, मैलाई चाहिन्छ भनेको होइन ।’





