बागलुङ, १७ साउन– पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय २ जनाको पीसीआर परीक्षणमा १ हजार ९ सय ८१ र ४ हजार २ सय ३४ एन्टिजेन परीक्षणमा ५ सय ८७ जना गरी २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २ हजार २० जना संक्रमणमुक्त भएका छन् । आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ । तीमध्ये ९ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ९८ जना रहेका छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २ सय ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ७७ जना आईसीयू र १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै, १० वर्ष मुनिका ६० बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ५६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।





