बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अब स्मार्ट जरिवाना प्रणाली : प्रउ ढकाल

अब स्मार्ट जरिवाना प्रणाली : प्रउ ढकाल


  • ढोरपाटन सम्वाददाता
  • साउन २० २०७८, बुधबार

पछिल्लो समय गण्डकी प्रदेशमा सवारी साधनको चाप बढेको छ । बाटाहरु साँघुरा लाग्न थालेका छन् । कार्यालय समयमा घण्टौं जाम हुन थालेको छ । तर, ट्राफिक व्यवस्थापनको लागि गण्डकी प्रदेशमा ट्राफिक प्रहरीको भने कमी छ । कमी भएपनि जेनतेन चलिरहेको छ । व्यवस्थापनमा प्रविधिको प्रयोग हुन सकेको छैन । गण्डकी प्रदेशको पछिल्लो ट्राफिक व्यवस्थापन,जनशक्ति, भावी कार्यक्रमबारे गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालसँग ढोरपाटनकर्मी विजय नेपालीले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ, उनले गरेको कुराकानीको सम्पादित अंश ( सं.)

गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापन कस्तो छ ?

तपाइँको प्रश्न जति सान्दर्भिक र महत्वपूर्ण छ,उत्तर दिन उति नै कठीन छ । गण्डकी तराई, शहरी क्षेत्र, पहाडी र हिमाली जिल्लाको समिश्रण भएको प्रदेश हो । यहाँ राजमार्ग पनि छ, पहाडी लोकमार्ग छ, जनघनत्व भएका सहरी क्षेत्रहरु,हिमाली भेगका कठीन बाटाहरु, भित्री सहरी क्षेत्र तथा कच्ची ग्रामीण बाटाहरु छन् । भौगोलिक विविधता अनुसार नै बाटोहरुको गुणस्तर, सवारीको चाप एवं त्यसको व्यवस्थापनको अनुभव एवं चुनौति दुबैको हामीले अनुभव गरिरहेका छौँ । विविधताले भरिएको प्रदेशमा ट्राफिक व्यवस्थापनमा पनि त्यस्तै विविधता हुने नै भयो ।
यो अवस्थामा हामीले व्यवस्थापनको पक्षमा पनि विविधता अपनाएका छौँ । हाइवे फोकस ट्राफिक म्यानेजमेन्ट सिस्टम अर्थात् राजमार्ग केन्द्रीत ट्राफिक व्यवस्थापनलाई एक तरिकाले हेरिरहेका छौँ भने दोस्रो पहाडी लोकमार्गलाई ध्यान दिएर फरक व्यवस्थापन गरेका छौँ । तेस्रोमा सहर केन्द्रीत व्यवस्थापन छ भने अर्कोमा चाहिँ हामीले निमार्णाधीन कच्ची सडकहरुलाई केन्द्रमा राखेर व्यवस्थापनमा ध्यान दिएका छौँ । विशेषगरी पहाडी र हिमाली भेगहरुमा भौतिक ट्राफिक व्यवस्थापन र केही सहरहरुमा प्रविधिको व्यवस्थापन गरेका छौँ । तर, गण्डकी प्रदेशको व्यवस्थापन भौतिक नै रहेको छ । व्यवस्थापनको लागि खटिएका ट्राफिक प्रहरीकै जिम्मामा समग्र प्रणाली आश्रित छ । तर, अब प्रविधिमैत्री ट्राफिक व्यवस्थापन नै प्राथमिकतामा राख्नुपर्छ भन्नेमा सबैको एकमत देखिएको छ । हाम्रो ध्यान त्यसैमा छ ।

तपाईंले प्रविधिमा जानुपर्छ भन्नुभयो तर गण्डकी प्रदेशकै राजधानीमा पनि ‘ट्राफिक लाइट’ छैन, बल्ल एउटा ओभरहेड ब्रिज बनेको छ, मुख्य चोकमा लाइट छैन अनि जेब्राक्रस र ट्राफिक नियमको पालना हुँदैन ? यसलाई भद्रगोल वा भगवान भरोसा भन्न मिल्छ ?

यो निकै महत्वपूर्ण कुरा हो । ट्राफिक व्यवस्थापनमा थुप्रै संस्थाको समन्वयात्मक भूमिका हुनुपर्छ । हामी ल इन्फोर्समेन्ट ( कानून कार्यान्वयन गर्ने) एजेन्सी भएकाले हाम्रो मुख्य काम भनेको अहिले भएको पूर्वाधारमा संचालित सवारी साधनहरुबाट कानून मिचियो कि मिचिएन भन्ने नै हो । हामी कानून मिच्न दिँदैनौं । नियम मिच्दा नै सबैभन्दा बढी दुर्घटना हुने हुँदापनि हामी कानून पालनालाई बढी प्राथमिकतामा राख्छौँ ।
पूर्वाधारको सवालमा चाहिँ हामीले पोखरा महानगरपालिकामा पनि बिस्तारै ट्राफिक लाइट राख्ने व्यवस्था गर्दै आइरहेका छौँ । प्रविधिमैत्री र हरेक चोकहरुमा ट्राफिक लाइटको व्यवस्थापन गर्नका लागि अगाडी बढेका छौँ । ट्राफिक प्रहरीको काम सडक बनाउने वा पूर्वाधारमा लगानी गर्ने होइन । संरचना बनाउने काम तीनवटै तहका सरकारको हो । राष्ट्रिय राजमार्ग,नगरका सडक तथा ग्रामीण सडक सबै ठाउँमा सुरक्षाका प्रबन्ध गरियो भने, बाटो राम्रो बन्यो भने हामीले त्यहाँ नियम उल्लङ्घन हुनबाट रोक्ने हो । सवारी आवत जावतलाई व्यवस्थित गर्ने हो । हामी बाटो यस्तो होस्, ट्राफिक व्यवस्थापनलाई यस्ता पूर्वाधार आवश्यक छन् भनेर सुझाव दिन्छौँ ।सरोकारवाला निकायको बजेटलाई ख्याल गर्दै पृथ्वीचोक, सभागृहचोक जस्तै अन्य चोकहरुमा पनि व्यवस्थाप प्रविधिमैत्री बनाउन लागि परेका छौँ । सम्बन्धित निकायलाइ सल्लाह दिएका छौं । अहिले जे पूर्वाधार छ,त्यसैमा चित्त बुझाउने ठाउँ छैन तर ट्राफिक प्रहरीले सक्दो काम गरिरहेकोमा कुनै द्धिविधा छ र ?

गण्डकी प्रदेशमा कति ट्राफिक प्रहरी छन् र कस्तो छ अवस्था ?

गण्डककी प्रदेशमा हामीले भौतिक ट्राफिक व्यवस्थापन र प्रविधि व्यवस्थापन दुवैलाई सँगसँगै अघि बढाएका छौँ । प्रदेशभर ३४२ ट्राफिक प्रहरीहरु कार्यरत छौँ । पोखरा महानगर पनि भएको र जनसंख्या एवं सवारी साधन बढी भएकाले ९० जना बढी ट्राफिक प्रहरी परिचालन गरिरहेका छौँ । समानुपातिक रुपमासबै जिल्लामा जनशक्ति व्यवस्थापन गरेका छौँ । कतिपय ठाउँमा प्रहरीहरुलाई पनि प्रयोग गरिरहेका छौँ । राजमार्गमा सचेतनामूलक लेजर गनको प्रयोग गर्ने गरेका छौँ । जसले गतिको मात्रा नाप्ने काम गरिहेको छ । सांकेतिक बोर्डहरुको कमी भइरहेको अवस्था छ । यद्यपि,केही मात्रामा बोर्डहरु राख्ने काम भने गरिरहेका छौँ ।

पोखरामै ट्राफिक प्रहरीको कमी रहेको कुरा छ, कसरी व्यवस्थापन भएको छ ?

पोखरामा मात्र होइन, गण्डकी प्रदेशमै पनि संख्यात्मक रुपमा ट्राफिक प्रहरीको कमी भएकै छ । हामीले संख्या बढाउने भन्दापनि प्रविधिलाइ जोड दिदैँ प्रविधि बढाऔँ भन्ने पक्षलाई जोड दिएका छौँ । तर, प्रविधिको पर्याप्तता नभएको कारण अपुग भएको ठाउँमा प्रहरीलाई नै थप तालिम दिएर तालिमप्राप्त जनशक्ति बनाएर अघि बढिरहेका छाँै । अहिले पोखराभित्र ६ ट्राफिक पोष्ट खडा गरेका छौँ । कास्की जिल्लाका सीमानामा पनि भौतिक रुपमा ट्राफिक प्रहरी व्यवस्थापन गरिहेका छौँ । जहाँजहाँ आवस्यकता हुन्छ त्यहाँत्यहाँ व्यवस्थापन गर्ने गरेका छौँ ।

ट्राफिक व्यवस्थापनकै कमीले सडक दुर्घटना बढेको गुनासो सुनिन्छ नि !

तपाईंको कुरामा केही सत्यता छ । सबैले के बुझ्नपर्छ भने, हामी विकास चाहन्छौम् । विकास विरोधी होइनौँ । कुनै ठाउँको विकास हुन त्यहाँ सडक पुग्नैपर्छ । सडक नै प्राथमिकतामा पर्छ । यसरी नै धेरै सडक बनेका छन् त्योमध्ये पनि कहीँकतै सडक चक्लाउने जस्ता कामहरु पनि भएका छन् । निमार्ण चरणका सडकहरुमा पक्कै पनि ट्राफिक व्यवस्थापन आशा गरेजस्तो हुँदैन । व्यवस्थापनमा चुनौति आउँछ नै । दुर्घटनाको सम्भावना पनि बढी नै हुन्छ । त्यो हामीले यथार्थमा स्वीकार्नु पर्छ । भलै, त्यो कुरालाई पनि मध्यनजर राखेर बनिरहेका सडकहरुमा पनि जहाँ खाल्डो प¥यो, त्यहाँ स्थानीय निकायसँग समन्वय गरेर तत्काल सडक पुर्ने काम गरिरहेका छौँ । हो, कहिलेकाहिँ विकास निमार्णका काम हेर्ने हो भने,नवलपुरको गैंडाकोटसम्मको बाटो, मध्यमहाडी लोकमार्गको बाटोमा खाल्डो पुर्न खोज्यो भने पनि तत्कालै पुर्न सकिँदैन । त्यसैले पनि दुर्घटना हुनसक्छ ।

कोरोना महामारीको समयमा समयमा ट्राफिक प्रहरीसँग पनि गुनासा र समस्या होलान् नि ।

कोरोना महामारीले विश्वव्यापी रुपमा असर गरिरहेको छ । फ्रन्टलाइनमा काम गर्ने जो सुकैपनि ट्राफिक मात्र होइन, स्वास्थ्यकर्मीदेखि लिएर पत्रकारसम्म उच्च जोखिममा हुनुहुन्छ । ट्राफिक प्रहरीको कुरा गर्नुपर्दा हामीले निर्धारित मापदण्डहरु तदारुकताका साथ परिपालन गरेका छौँ । तीमध्ये मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम गरेर सवारी चेकजाच गर्ने गरेका छौँ । कार्यालय आउने बेलामा पनि सबैले साबुनपानीले हातधुने व्यवस्था गरिरहेकै छौँ । हामीले कोरोनाबाट बँच्नका लागि एउटै मात्र मूल मन्त्र ‘आफू बचौँ र अरुलाइ पनि बचाऔँ’ भन्ने कुरालाई आत्मसात गरेर बसेका छौँ ।हामीमात्र होइन सवारी चालकलाई समेत सोही अनुसारको सचेतनामूलक कार्यक्रम संचालन गरेका छौँ ।
हिजोबाट हामीले पोखरामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेका छौँ । विभिन्न चोकमा पम्प्लेट लिएर कोरोनाको तेस्रो लहर आउन सक्छ है भन्दै सचेत गराएका छौँ । स्वास्थ्य मापदण्ड अवलम्बन गर्ने र सोही मापदण्ड सवारी चालक,पैदल यात्रीलाइसमेत लागू गराएका छौँ ।

ट्राफिक प्रहरीले सवारी निगरानीका साथै स्वास्थ्य सामग्री पनि वितरण गर्दै आएको हो ?

विभिन्न स्थानीय तह तथा संघ संस्थाहरुको सहयोगमा हामीले प्रदेशभर ७५ हजार बढी मास्क वितरण गरेका छौँ । त्यसैगरी हामीले २ लाख बढी सवारी चालकलाई सचेतनामूलक सूचना संप्रेषण गरेका छौँ ।

सवारी जोर बिजोर प्रणाली भनेकोचाहिँ के हो त ?

सवारी जोर बिजोर प्रणाली भनेको सीधा रुपमा बुझ्ने कुरा हो । जोर नम्बर छ भने जोर बिजोर नम्बर छ भने बिजोर त्यही हो ।

सवारी जोर–बिजोर नम्बर कसरी हेरिन्छ त ? कसरी थाहा पाउने ?

यो सजिलो छ । हामीले जोर–बिजोर प्रणालीमा पछाडीको नम्बरलाइ हेर्ने गर्छौँ । पछाडीको नम्बर जोर भए जोर र बिजोर भए बिजोर हुन्छ । उदाहरणका लागि ग ९ प १५२४ नम्बरको सवारी छ भने त्यो जोरमा पर्छ । तपाइको सवारीको पछाडीको नम्बर अनुसार नै चल्ने हो । निकै झुक्किनुभयो भने तपाईंले नजिकैको प्रहरी वा सरकारी निकायमा फोन गरेर सोध्न पनि सक्नुहुन्छ ।

व्यवस्थापन गर्ने बहानामा ट्राफिक प्रहरीले चिट काट्दै बढी रकम लिने गरेको आरोप छ नि ?

हो, हामीलाई यस्तो आरोप आउने गरेका छन् । कहीँकतै त्यस्ता घटना पनि घटेकै हुन् । तर, मैले गण्डकी प्रदेशका सबै जिल्लामा अब स्मार्ट जरिवानाको मोडल ल्याएको छु ।

के हो यो स्मार्ट जरिवाना र कहिलेबाट कार्यान्वयन हुन्छ त ?

यो एन्ड्रोइड मोबाइलबाट नै सवारी जरिवाना तिर्ने व्यवस्था हो । चिट काट्ने र कारवाही गर्दा विभिन्न आरोप आउने गरेकै कारण सीधा मोबाइलबाट जरिवाना तिर्ने व्यवस्था गर्न लागेका हौँ । कसैले ट्राफिक नियमको उल्लङ्घन गरे सोही स्थानबाटै क्यूआर कोडमार्फत् जरिवाना तिर्ने व्यवस्था मिलाउने तयारी गरिरहेका छौँ । काम हुदैँछ । छिट्टै संचालनमा आउँछ ।

अन्त्यमा, सवारी चालकलाई कुनै सन्देश छ ?

आमरुपमा सवारी चालक सहचालकहरुलाई हाम्रो विनम्रताका साथ आग्रह के छ भने, आफ्नो सवारीमा वा आफूले सवारी चलाउँदा स्वास्थ्य मापदण्ड अपनाएको छ कि छैन भनेर ख्याल गरिदिनुहोला । चालक सहचालकहरुले कोरोनाबाट आफू बँच्न, परिवारलाई बँचाउन र सर्वसाधारणलाइ बँचाउन निर्धारित मापदण्डहरुको पालना प्रभावकारी रुपमा अवलम्बन गरिदिनुहोला । यत्ति गरिदिए यहाँ पनि सुरक्षित हुनुहुन्छ र अरुलाई पनि सुरक्षित राख्नु तपाईंको सहयोग रहन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->