स्याङ्जा/ कालीगण्डकी गाउँपालिकाले ‘निरोगी कालीगण्डकी कार्यक्रम’अन्तर्गत सबै स्थानीयवासीको स्वास्थ्य बिमा कार्यक्रम अघि बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा समावेश गरेसगै बिमा कार्यक्रम अघि बढाउने भएको हो ।
स्वास्थ्य बिमावापतको वार्षिक प्रतिपरिवारको एक लाख रुपैयाँ गाउँपालिकाले तिर्ने र स्थानीयवासी बिमितले निशुल्क सेवासुविधा पाउने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । दलित र एकल महिलाबाट सुरु गरिएको स्वास्थ्य बिमाको सुविधा असोजसम्म सबै परिवारमा पु¥याउने गरी काम अघि बढेको हो ।
गाउँपालिकाका झन्डै ४ हजार ७ सय घरधुरी रहेको र उनीहरूका लागि २ करोड वार्षिक खर्च हुने अध्यक्ष थापाले जानकारी दिए । ‘खर्चको व्यवस्थापन हामी आन्तरिक सोतबाटै मिलाउँछौं,’ उनले भने । २०६८ को जनसंख्या विवरणअनुसार गाउँपालिकामा २२ हजार ७२५ जना रहेको र अहिले झन्डै २८ हजार पुगेको उनले जनाए ।
स्वास्थ्य बिमाले ५ जनाको परिवारलाई एउटा एकाइ मानेको र ५ जनाभन्दा बढी सदस्य रहेको हकमा प्रतिव्यक्ति ७ सय थप्नुपर्ने छ । गाउँपालिकाले थालेको स्वास्थ्य बिमा कार्यक्रमले विपन्न तथा गरिब परिवारलाई राहत पुगेको थापाको दाबी छ । बिमित ३२ वर्षीया बुद्धिकला दमाईले एक पालिकाले नभई सरकारले नै निशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याउनुपर्ने औंल्याइन् ।




