शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अनलाइन कक्षाका लागि वाईफाई खोज्दा फैलियो कोरोना

अनलाइन कक्षाका लागि वाईफाई खोज्दा फैलियो कोरोना

बागलुङ नगरपालिका–१२ अमलाचौरमा भर्चुअल कक्षाका लागि इन्टरनेटको सुविधा खोजीमा जम्मा भएका विद्यार्थीका कारण गाउँभरी कोरोना फैलिएको हो ।


  • तारानाथ आचार्य
  • साउन २४ २०७८, आइतबार

बागलुङ– कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । बागलुङका केही विद्यालयले वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराईरहेका छन् । केही विद्यालय अन्यौलमै छन् । भौतिक उपस्थितीले जोखिम बढाउने भन्दै वैकल्पिक रुपमा भर्चुअल माध्यामबाट भैरहेको पठनपाठनमा समेत विद्यार्थी र अभिभावकले साबधानी नअपनाउँदा संक्रमण फैलिएको पाईएको छ ।
बागलुङ नगरपालिका–१२ अमलाचौरमा भर्चुअल कक्षाका लागि इन्टरनेटको सुविधा खोजीमा जम्मा भएका विद्यार्थीका कारण गाउँभरी कोरोना फैलिएको पाईएको हो । अमलाचौरको मेलबोट गाउँमा अनलाईन कक्षाका लागि जम्मा भएका विद्यार्थीहरु संक्रमित भएको पाईएको हो ।
शनिबार स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ सहितको स्वास्थ्यकर्मी र जनप्रतिनिधि समुहले संक्रमणको स्रोत खोजी गर्ने क्रममा वाईफाई खोज्न एकै ठाउँमा जम्मा भएका विद्यार्थी सबैमा संक्रमण भएको पुष्टि भएको हो ।
‘नारायणस्थानमा कोरोना संक्रमित महिलालाई भेटेर फर्किएपछि छिमेकमा बिरामी परेका थिए, बिरामीले परीक्षणका लागि स्बाव दिएका रहेछन्, तर उनीहरुका छोराछोरी वाईफाईको खोजीमा अरु बालबालिकासँगै बसेका थिए’ मेलबोटकी रुपमा सुनुवारले भनिन् ‘जम्मा भएकै दिन उनको रिपोर्ट पोजेटिभ आयो, सँगै बसेका अरु तीन जना केटाकेटी दुई दिनपछि बिरामी परे ।’
उनीहरु तीनै जनामा संक्रमण पुष्टि भैसकेको छ । मेलबोटमा मात्रै चार जना १८ बर्ष मुनिका बालबालिका संक्रमित छन् । अन्य धेरै बालबालिकामा रुघाखोकी, ज्वरो जस्ता लक्षणहरु देखिएको अमलाचौर स्वास्थ्यचौकीका प्रमुख कृष्ण प्रसाद शर्माले बताए ।
लक्षण भएका बिरामीले साबधानी नअपनाउने र जाँचका लागि स्बाव दिएपछि पनि गाउँ डुल्ने परिपाटीकै कारण कोरोना फैलिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘स्रोत खोज्दा सबैले उस्तै कारण हो भन्ने शंका गर्नुहुन्छ’ गुरौले भने ‘पाहुना लाग्दा र वाईफाई खोज्दा गाउँमा कोरोना फैलिँदा छ ।’
गाउँमा निषेधाज्ञाको पालना नहुनु र स्वास्थ्यका मापदण्ड नअपनाउनु अर्को कारण भएको गुरौ बताउँछन् । गाउँमा ९ जना संक्रमित छन् । होम आईसोलेसनमा रहेका बिरामीले संक्रमण नभएकासँग न दुरी कायम राखेका छन् न सावधानी नै अपनाएका छन् । संक्रमित बालबालिकाहरुमा खोकीको समस्या छ । बोल्दा र लामो सास फेर्दा खोकी बढी लाग्ने गरेको एक संक्रमित बालकले बताए ।
अभिभावक र गाउँमा लक्षण देखिएका अन्य सबैको परीक्षणको तयारी भैरहेको स्वास्थ्यचौकी प्रमुख शर्माले बताए । अमलाचौरको मेलबोटमा कोरोनाको दोस्रो लहर प्रारम्भ हुने बेलामा समेत सबैभन्दा धेरै संक्रमित थिए । संक्रमितले लार्पवाही गरेको भन्दै सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->