शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पहिरो पीडितलाई लालपूर्जा

पहिरो पीडितलाई लालपूर्जा


  • अर्जुन काफ्ले
  • साउन २६ २०७८, मंगलबार

स्याङ्जा /पहिरो प्रभावित वालिङ नगरपालिका ८ का ६ घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको छ । गतवर्ष वर्षासँगै बस्तीमा धाँजा फाटेकाले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणका लागि यहाँको दमैडाँडाका ६ घर परिवारलाई घर निर्माणका लागि जग्गा हस्तान्तरण गरिएको हो ।
पहिलेदेखि बस्दै आएको घर बस्तीमा गतवर्षको वर्षायाममा जमिन भास्सिने, चिरिएकाले प्राविधिकको राय सुझावअनुसार नै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । ‘सुरक्षित ठाउँमा सार्न जग्गा खोजेका थियौं । पायौं पनि । त्यही अनुसार योजना अघि बढेको हो,’ उनले भने ।
पहिरो पीडित ती परिवार बस्दै आएको बस्ती नजिकै स्थानीय दलबहादुर बस्नेतको नाममा रहेको जग्गा एकमुष्ट खरिद गरी जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरेको खाँणले बताए । उनले अब केही दिनमै आवास निर्माणको प्रक्रिया थाल्नेसमेत जानकारी दिए ।
जग्गा प्राप्तिदेखि आवास निर्माणका लागि केन्द्र, प्रदेश र वालिङ नगरपालिकाको संयुक्त लागत साझेदारी रहने छ । मनसुनजन्य विपदका कारण वालिङ नगरपालिकाका विभिन्न वडाका बस्तीहरु विस्थापित भएकाले यहाँका नागरिकहरुको सुरक्षित बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी कार्य जारी रहेको नगर प्रमुख खाँणले सुनाए ।
गतवर्षसम्मको मनसुनजन्य विपदका कारण प्रभावित हुने घरपरिवार नगरपालिका भित्र ४० भन्दा बढी रहेको छ । पहिलो चरणमा ६ घर परिवारलाई प्रतिघर ५ आनाका दरले जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण गरिएको हो भने १४ लाख ४० हजार रुपैयाँमा जग्गा खरिद तथा पास गरिएको हो ।
पानी पर्नासाथै त्रासमा रहेको बस्ती सुरक्षित स्थानमा स्थानान्तरणका लागि जग्गा प्राप्त गरेसगै खुशी लागेको टीकामाया दर्जीले बताइन् । ‘पानी पर्दा घरमा सुत्नै डर लाग्ने र कतिबेला के हुने हो भन्ने चिन्ताले सताउने गथ्र्यो,’ दर्जीले भनिन्, ‘वडा र नगरपालिकाका जनप्रतिनिधिहरुको निरन्तरको खटाइ र चासोले गर्दा अब हामी सुरक्षित ठाउँमा बस्न पाइने भो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->