शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा ६ हजार नाघे सक्रिय संक्रमित

गण्डकीमा ६ हजार नाघे सक्रिय संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७८, बुधबार

पोखरा/ गण्डकी प्रदेशमा कोरोनाका सक्रिय संक्रमित संख्या ६ हजार नाघेको छ । मंगलबार थप ५ सय ४५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ६ हजार २१ पुगेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये २ हजार ८१९ जना संक्रमित अस्पतालमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा छन् । निर्देशनालयका अनुसार पछिल्लो समय अस्पतालमा भर्ना भएकामध्ये अधिकांशको अवस्था गम्भीर छ ।

अस्पतालमा भर्ना भएकामध्ये मंगलबारसम्म प्रदेशभर ७१ जना आइसियूमा, ११ जना भेन्टिलेटरमा र १ सय ७३ जना हाइफलोयुक्त आइसियूमा उपचाररत रहेको निर्देशनालयको तथ्यांक छ । जसमध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीका २ सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालका सबै बेड संक्रमितले भरिएको छ । त्यस्तै निजी अस्पतालसमेत अधिकांश अस्पताल भरिभराउ छन् ।

पछिल्लो २४ घन्टामा संक्रमितभन्दा निको हुने धेरै छन् । ५ सय ४५ जनामा संक्रमण पुष्टि हुँदा ६ सय ८८ जना संक्रमित निको भएको निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए ।
गण्डकीमा पछिल्लो २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, स्याङजा, तनहुँ र नवलपुरका छन् । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको छ । गण्डकीमा पछिल्लो एकहप्तामामात्रै ५७ जना संक्रमितको ज्यान गएको छ ।

कोरोना संक्रमण फेरि बढेको भन्दै बागलुङ जिल्लामा बैंक तथा वित्तीय संस्थासमेत खुल्न नपाउने गरी भदौ ५ सम्म निषेधाज्ञामा कडाइ गरिएको छ भने कर्मचारीलाई संक्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेवा ४ गतेसम्मका लागि बन्द गरिएको छ । कर्मचारीमै कोरोना पुष्टि भएपछि पोखरा ५ वडा कार्यालयसमेत ४ गतेसम्मका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->