बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘महामारीका यी २ वर्षमा धेरै कुरा सिक्यौं’

‘महामारीका यी २ वर्षमा धेरै कुरा सिक्यौं’


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७८, बुधबार

कोरोना महामारीको पहिलो लहरमा प्रदेश स्वास्थ्य निर्देशनालयको प्रमुखको भूमिकामा रहेका डा विनोदविन्दु शर्मा प्रवक्तामा तोकिए । कोरोनासँग जनता अभ्यस्त नभइसकेकोअवस्थामा कोरोना ‘हाउगुजी’ बनेको थियो । देश पूर्ण रुपमा लकडाउनमा थियो, जनता त्रासका साथै मानसिक रुपमासमेत विक्षिप्त बन्ने अवस्था आएको थियो ।
कोरोना महामारीको पहिलो चरणमा कुनै एक जनालाईमात्रै संक्रमित भेटिएको अवस्थामा पनि सबेतिर त्रास फैलिने अवस्था थियो । सोही समयदेखि डा शर्माले प्रदेश सरकार र जनताको बीचमा समन्वयकारी भूमिका निर्वाह गरे । जनतालाई महामारीबारे सुसूचित गर्नेदेखि सरकारसम्म स्वास्थ्य क्षेत्रको यथार्थबारे ‘ब्रिफिङ’ गर्ने काम गरे । अहिले गण्डकीको स्वास्थ्य पूर्वाधार अन्य प्रदेशभन्दा अब्बल भएको उनको दाबी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माको केही दिनचर्या फेरिएको छ । उनी निर्देशनालयबाट हालै विस्तार भएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव भएका छन् । तर, उनी भन्छन्, ‘मेरो भूमिकामात्रै फेरिएको हो । कामको हिसाबले झनै महत्वपूर्ण र संवेदनशील जिम्मेवारी ममाथि आइपुगेको छ ।’
तिनै डा शर्मासँग कोरोना महामारीका करिब २ वर्षबीचमा गरेका काम, चुनौती र उपलब्धीमाथि केन्द्रित रहेर ढोरपाटनकर्मी विकास मगरले गरेको कुराकानीको सम्पादित अंश :

०००

थर्डवेभको तयारीका लागि बोर्डरहरुमा ध्यान दिन अहिले पनि जरुरी छ । हाम्रा सीमानामा हाम्रो उपस्थित कमजोर छ । त्यहाँ मजबुत हुनुपर्छ । हाम्रा अस्पताल अझ बच्चाबच्चीको सघन उपचार सेवाका लागि राम्रो तयारीको आवश्यकता छ ।

कोरोना महामारीबीचका यी २ वर्ष, सुरुआती चरण र हालको हाम्रो स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ, कसरी नियाल्नुहुन्छ ?

महामारीका २ वर्ष अघि र पछिमा धेरै फरक छ । सामान्य रुपमा हेर्दा पनि २ वर्षअघि हामीसँग अहिलेको जस्तो संक्रमितहरु थिएनन् । तर, हामीसँग धेरै केस छन् । त्यतिबेला मौज्दात, आपूर्तिको अवस्था कमजोर थियो । अहिले मजबुत छौं ।
२ वर्ष अगाडि न हामीसँग रिसोर्स थियो न त अनुभव नै । महामारीसँग जुध्न टेक्नोलोजी पनि थिएन । एउटा पिसिआर परीक्षण गर्न पनि काठमाडौं पठाएर नतिजा कुरेर बस्नुपर्ने स्थिति थियो । तर, अहिले यहीबीचमा प्रदेशमा ६ वटा ल्याब टेस्ट छन् ।
हामीसँग व्यवस्थित संचरना थिएन, सूचना व्यवस्थापन थिएन । आपूर्ति, ल्याब, जनशक्ति, केही थिएन । तर, अहिले सबै छ । महत्वपूर्ण रुपमा हामीसँग अहिले अनुभव छ । जनशक्ति पनि पर्याप्तमात्रामा तयारी अवस्थामा छन् ।
२ वर्षअघि जुन हाउगुजी मनोविज्ञान थियो । अहिले त्यो छैन । कोरोनालाई चिनिसक्यौं । कोरोनालाई कस्तो व्यवहार गरिनुपर्छ ? कोरोनासँग कसरी बच्नुपर्छ ? हाम्रा व्यवहारहरु कसरी सन्तुलित र सुरक्षित बनाउने ? यी सबै कुरा अहिले हामीलाई थाहा छ ।
पछिल्लो २४ महिनालाई नियाल्ने हो भने कल्पनै गरेभन्दा पनि बढी र राम्रो व्यवस्थित रुपमा अघि बढेका छौं । तर, यो भन्दाभन्दै पनि हाम्रा प्रयासहरु धेरै राम्रा छन् भन्ने होइन, कमीकमजोरी थुप्रै छन् । धेरै कुरा नपुग छन् । धेरै तयारी गर्नुछ ।
खासगरी थर्डवेभको तयारीका लागि बोर्डरहरुमा ध्यान दिन अहिले पनि जरुरी छ । हाम्रा सीमानामा हाम्रो उपस्थित कमजोर छ । त्यहाँ मजबुत हुनुपर्छ । हाम्रा अस्पताल अझ बच्चाबच्चीको सघन उपचार सेवाका लागि राम्रो तयारीको आवश्यकता छ । जिल्लास्तरमा, समुदायस्तरमा सचेतना कार्यक्रम, होम आइसोलेसनको सुरक्षा सबैमा ध्यान दिनैपर्छ ।

महामारीको सुरुआती समयमा प्रदेश स्वास्थ्य निर्देशनालयको प्रमुखका रुपमा काम गर्नुभयो । अहिले मन्त्रालयमा आउनु भएको छ । कसुरुआती समयको व्यस्ततालाई कसरी व्यवस्थापन गर्नुभयो ?

त्यो समयमा धेरै व्यस्त भइयो । धेरै केसमा मुख्यमन्त्रीज्यूको फोन आउँथ्यो । एउटा फोनमा कुरा गर्दागर्दै २/३ पटक गर्नुहुन्थ्यो । मुख्यमन्त्रीज्यूको फोन आएको थाहा हुन्थ्यो । तर, कलब्याक गर्न नपाउँदै अर्को फोन आइसक्थ्यो ।
त्यतिबेला धेरै फोन गरें, रिसिभ गरें भन्ने महत्वपूर्ण हो जस्तो मलाई लाग्दैन । त्यतिबेला मैले निर्देशनालयको तर्फबाट कति काम डेलिभरी गर्न सकें त्यो महत्वपूर्ण हो । टिमलाई कसरी मोबिालाइज गरें । राजनीतिक दलहरुलाई कसरी जानकारी गराउन सक्यौं । अवस्थाबारे कसरी रिपोर्टिङ ग¥यौं, त्यो महत्वपूर्ण थियो ।

कोभिडसँग लड्न गण्डकी प्रदेशका योजना, कार्यक्रमलाई मुखरित गर्न सरकारसँग कसरी तयारी ग¥यौं र कसरी उपस्थित भयौं भन्ने हो । तर, त्यतिबेला हाम्रा मुख्यमन्त्री, मन्त्री, सचिव, स्वास्थ्यकर्मी, कर्मचारी सबै एकजुट भएर लागेकै कारण सबै सम्भव भयो । त्यसरी कोरोनासँग संघर्ष गर्दै आएर अहिले नेपालकै ७ प्रदेशमध्ये हामी उत्कृष्ट हुन सफल भएका छौं ।

७ प्रदेशभरमा गण्डकी नै कसरी उत्कृष्ट बन्न सक्यो ? मृत्युदर त फेरि धेरै छ ।

हामी उत्कृष्ट अक्सिजन, जनशक्ति, अस्पताल, अक्सिजन सिलिन्डरहरुको सही व्यवस्थापन गरेर भएका हौं । महामारी नियन्त्रणमा चाहिले अहिलेका अत्यावश्यक चिजहरु यिनै हुन् । अक्सिजन प्लान्टकै सन्दर्भमा हेर्ने हो भने नेपालकै सबैभन्दा व्यवस्थित प्रदेशका रुपमा छौं ।

यही भएर नै हाम्रो प्रदेशमा बर्दियाबाट, दाङबाट, भैरहवाबाट र काठमाडौंबाट पनि संक्रमितहरु यहाँ उपचार गर्न आउँछन् । उनीहरु महंगो हेलिकप्टर चाटर्ड गरेर पोखरामा आउने गरेको अवस्था हो । यो खुसीको कुरा हो ।
तर, दुखको कुरा के भयो भने त्यति टाढाबाट धेरै खर्च गरेर पोखरा हाम्रो ज्यान बचाउने केन्द्र हो भनेर जुन विश्वासले उहाँहरु आउनु भयो, धेरैलाई बचाउन सकेनौं । यसको पनि कारण यहाँ आउँदासम्म धेरै ढिलाइ भएर पनि हो । त्यसरी स्वास्थ्यमा उत्कृष्ट हुँदाहुँदै पनि मृत्युदर पनि उस्तै बढी देखिन गयो ।

अरु प्रदेशका सिकिस्त बिरामीलाई म्यानेज गर्दागर्दै पनि उहाँहरुको मृत्यु भएको अवस्था छ । समग्रमा हामीले बीचमा बसेर भए सबै क्षेत्र र सरोकारवाला निकायसँग समन्वय गर्ने भूमिका राम्रोसँग निभायौं भन्ने लाग्छ ।

पछिल्लो हप्तादेखि फेरि कोरोनाग्राफ उकालो देखिँदैछ । कोरोनाको तेस्रो लहरको पनि चर्चा छ । मन्त्रालय भर्खर विस्तार भएको छ । के छन् योजना ?

पहिले म निर्देशनालयमा थिएँ, अहिले मन्त्रालयमा आएको छु । योजनाका हिसाबले हेर्ने हो भने मेरो भूमिकामा केही फरक आएको हो । तर, जिम्मेवारी थपिएको छ । अब झन् बढी टिममा काम गर्नुपर्ने जिम्मेवारी छ ।
मन्त्रालय भर्खर विस्तार भएको छ । तर, पनि माननीय मन्त्रीज्यूको सकारात्मक सहयोग छ । मन्त्रीज्यूले हाम्रा कार्यक्रमहरुमा चासो दिइरहनु भएको छ । यसले हामीलाई सहजीकरण गर्न सजिलो भएको छ ।
गण्डकी प्रदेश सरकार कोरोना महामारी नियन्त्रणका लागि गम्भीर भएर लागेको छ । ‘बजेट, वातावरण सबै हिसाबले कमी हुँदैन । तर, जनताको स्वास्थ्य र जीवन रक्षाका लागि खास गरी कोभिडविरुद्धको आन्दोलन प्रभावकारी बनाउन तपाईंहरु कार्यक्रम र योजना ल्याउनुस् । हामी साथ दिन तयार छौं’ भनेर प्रदेश सरकारले सकारात्मक सहयोग गरिरहेको छ ।

र तेस्रो लहरका लागि सीमानामा कडाइबाहेक अहिले अर्को उपाय छैन । सीमानाबाटै रोग र जोखिम न्यूनीकरण गर्न सक्यौं भने धेरै सहज हुन्छ । अरु जिल्लाका हेडक्वार्टर्स, अस्पतालहरु कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हो । संक्रमण कम्युनिटीमा गइहाल्यो भने ती केसहरुलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे तयारी गर्दैछौं ।

अर्को भनेको तेस्रो लहरमा बच्चाबच्चीलाई बढी जोखिम हुन्छ भनिएको छ । त्यही जटिलता बढी देखिने भएकैले हाम्रो तयारी तिनै बच्चाबच्चीका लागि सुलभ हुने गरी आइसोलेसन सेन्टरहरु, एनआइसियूहरु बनाउने, सुधार्नेतर्फ लक्ष्य छ ।

संक्रमितमध्ये ठूलो संख्या होम आइसोलेसनमै हुनुहुन्छ । यसले झन् संक्रमण फैलाउन मद्दत पुगेको भन्नेहरु पनि छन् नि ?

होम आइसोलेसन अत्यन्त प्रभावकारी छ । घरमै बसेर स्वास्थ्यलाभ गर्नेहरुको संख्या पनि ठूलो छ । होम आइसोलेसनमा बसेकाहरुलाई प्रत्येक १० दिनमा ३ पटक आफैं फोन गरेर स्वास्थ्यबारे जानकारी लिइरहेका छौं । उहाँहरुको पछिल्लो स्वास्थ्यबारे एकीन गर्छौं ।
खासगरी हाम्रो निगरानीमा उहाँहरुको ३ वटा अवस्थामाथि हुन्छ । पहिलो : सामान्य अवस्था । यो अवस्था छ भने हामी नआत्तिन आग्रह गर्छौं । कोभिड जितिहालिन्छ भनेर उहाँहरुको मनोबल बढाउन सहयोग गर्छौं । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तपाईंहरुसँगै छ भनेर आश्वस्त पार्छौं ।

दोस्रो : जटिल अवस्था । यो अवस्थामा हामी आफ्नो ख्याल राख्न अनुरोध गर्छौं । तोकिएका स्वास्थ्य सुझावहरु पालना गर्न भन्छौं । र, जुनसुकै अवस्थामा पनि स्वास्थ्य गम्भीर हुन सक्छ । त्यस्तोबेला अस्पताल गइहाल्न भनेर सुझाव दिन्छौं ।
तेस्रो : गम्भीर अवस्था । यो अवस्थामा एकदमै जटिल स्वास्थ्य हुने भएकाले अस्पताल गइहाल्नुपर्ने हुन्छ । त्यसका लागि हामीले एम्बुलेन्स पठाउँछौं । उहाँहरु हाम्रो बढी निगरानीमा हुनुहुन्छ ।
होम आइसोलेसनलाई अझै सुरक्षित र व्यवस्थित बनाउन गण्डकी टेली नर्सिङ प्रोग्राम पनि चलाएका छौं । यो प्रोग्राम अन्य प्रदेशमा छैन । यहाँ हेल्लो डक्टर प्रोग्राम पनि चलाइरहेका छौं ।

यो प्रोग्रामकै लागि भनेर ५ जना मेडिकल अफिसरहरु राखेका छौं । उहाँहरुले २४सै घन्टा काम गरिरहेका छन् । बिरामीको कुनै कल आयो भने तत्काल सहजीकरण गरिहाल्नुहुन्छ । त्यस्तै, यही हेल्लो डाक्टर प्रोग्राममै मनोसामाजिक परामर्शदाताको पनि व्यवस्था गरेका छौं । यी कार्यक्रम भनेको अन्य प्रदेशमा नभएकाले हाम्रो विशेष कार्यक्रम हुन् । यो अत्यन्तै प्रभावकारी भएको पनि पाएका छौं ।
प्रदेशमा कोभिडविरुद्धको खोपको अवस्था कस्तो छ ?

अन्य प्रदेशभन्दा गण्डकीमा भ्याक्सिनको काम एकदमै राम्रोसँग चलेको छ । यहाँ भ्याक्सिन लगाउनेको दर अरु प्रदेशभन्दा धेरै छ ।
गण्डकीकै मनाङ, मुस्ताङ जिल्ला पूर्ण खोपयुक्त जिल्ला भइसकेका छन् । यस्तो प्राकृतिक रुपमा अप्ठेरोबेलामा पनि त्यहाँको लोलक लिडरसिपले गर्व गर्न लायक काम गर्नु भएको छ । त्यहाँका स्वास्थ्यकर्मी र प्रशासनबीचको समन्वय मिलेकाले मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त हुन सफल भएको छ । अब हाम्रो फोकस बाँकी जिल्लामा छ ।

गण्डकीमा अहिलेसम्म पहिलो डोज लगाउनेको संख्या ५ लाख ४८ हजार छ भने दुवै डोज पाउनेको संख्या २ लाख ३८ हजार पुगिसकेको छ । यसरी हेर्दा पनि गण्डकी अरु प्रदेशभन्दा अब्बल सावित भइसकेको छ ।

कुनैबेला देशैभरि अक्सिजनको हाहाकार हुँदा पनि गण्डकीमा त्यतिधेरै अभावका खबर बाहिरिएन । के हामीसँग साँच्चै पर्याप्त अक्सिजन छ ?

हामीसँग अहिले पनि अक्सिजनको समस्या छैन । गण्डकीमा अक्सिजनका २ वटा प्राइभेट कम्पनी छन् । उनीहरुले एकदिनमा १४ हाराहारीमा अक्सिजन सिलिन्डर उत्पादन गर्छन् । अहिलेको अवस्थामा हेर्ने हो भने एकदिनको माग ८ सयदेखि ९ सयसम्म छ ।

योभन्दा अर्को महत्वपूर्ण हाम्रो उपलब्धी के हो भने गण्डकी प्रदेशमा मनाङबाहेक सबै जिल्लामा अक्सिजन प्लान्ट राखेर उत्पादन सुरु भइसकेको छ । सबै जिल्ला अस्पतालले आफैंले उत्पादन गरेको अक्सिजन आफ्ना बिरामीलाई दिन सक्ने गरी क्यापेबल भइसकेका छन् ।

पछिल्लो समयमा प्रदेशका अस्पतालका क्षमता त वृद्धि गरिए । तर, त्यही अनुसार जनशक्ति परिपूर्ति हुन सकेनन् भन्ने गुनासो छ नि ?

महामारीका सुरुका दिनमा हाम्रा अस्पतालहरुका अवस्था एकदमै कमजोर थिए । त्यतिबेला हाम्रो अवस्था यस्तो छ, चुनौतीपूर्ण अवस्थामा छौं भनेर मन्त्रालयलाई रिपोर्ट ग¥यौं । त्यसपछि मागबमोजिम नै कोभिडकै लागि भनेर हामीसँग ४ सय २४ जना कर्मचारी असोज मसान्तसम्म राख्ने भनेर ७÷८ महिनाअगाडि नै नियुक्त गरिसकेका छौं ।

अहिले साउन महिनामा थप ४ सय ४४ जना स्टाफ नियुक्त गरेका छौं । उहाँहरुको सहयोगमा जिल्लास्थित आइसोलेसन सेन्टरहरु व्यवस्थित गर्ने काम भइरहेको छ । विस्तारै अभाव भएका जनशक्ति पनि परिपूर्ति हुँदैछन् ।

कोरोनाको तेस्रो लहरलाई लक्षित गरेर बाल उपचार सघन कक्ष, आइसोलेसन स्थापना गर्ने भन्नुभएको छ । त्यसका लागि त फेरि विज्ञ जनशक्ति चाहिएला ?

बच्चाकै लागि आइसियू चलाउँदा खास, विशेष जनशक्ति चाहिन्छ भन्ने होइन । आइसियूमा बस्ने जनशक्तिमा जुन नलेज (ज्ञान) छ, त्यही म्यानेज गर्ने हो । त्यसका लागि प्रदेश सरकारले क्रिटिकल केयर म्यानेजमेन्टका रुपमा ट्रेनिङहरु सञ्चालन गरिरहेका छौं ।

प्रदेश स्वास्थ्य तालिम केन्द्रले यसका लागि संयोजन गरिरहेको छ । जिल्लाजिल्लाका प्रशिक्षार्थीलाई, अस्पतालको टिमलाई बोलाएर तालिम दिइरहेका छौं । आवश्यक जनशक्ति उत्पादन गरिरहेका छौं ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->