पोखरा/ चिनको बुहानबाट विश्वयात्रामा निस्किँदासक्दा पनि कोरोना (कोभिड–१९) नेपालमा देखा परिसकेको थिएन । जबकी नेपाल चिनसँगै जोडिएको छिमेकी जिल्ला थियो । तर, नेपालमा भने ०२० जनवरी २४ मा अर्थात माघ १० गतेमात्रै पुष्टि भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०७६ माघ १० गते काठमाडौंकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना महामारीले प्रवेश ग¥यो । त्यसयता हालसम्म लाखौं नेपाली संक्रमित भइसकेका छन् भने दशौं हजारको ज्यान गइसकेको छ ।
नेपालमा कोरोना महामारीको पहिलो चरणमा सबैभन्दा चर्चामा आएको प्रदेश गण्डकी थियो । गण्डकीको बागलुङ जिल्लाकी एक १९ वर्षीय किशोरीलाई संक्रमण पुष्टि हुँदा प्रदेशमात्रै हल्लिएन, देशकै ध्यान मोडियो । त्यो दिन थियो, ०७६ चैत १५ ।
त्यो नेपालमा पुष्टि भएको कोरोना ‘केस’ पाँचौं थियो । केस पाँचौं भए पनि सबैको ध्यान केन्द्रित हुनुमा २ कारण छन्, १ः राजधानीभन्दा बाहिरी जिल्ला जिल्लामा संक्रमित भेटिनु । २ः सीमित स्रोत र साधनबीच संक्रमितको उपचार कसरी हुन्छ भन्नेबारे जिज्ञासा ।
‘बागलुङमा ती किशोरीलाई कोरोना संक्रमण पुष्टि भएको खबरसँगै सुरुमा त हामी आफैं पनि आत्तियौं । विश्वव्यापी महामारीकै रुप लिएर अघि बढेको कोरोना आफ्नै प्रदेशमा भेटिएपछि सबैको ध्यान जानु स्वभाविक नै थियो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकीका वरिष्ठ स्वास्थ्य प्रशासक डा रामबहादुर केसी सुनाउँछन्, ‘त्यतिबेला संक्रमितको उपचार कहाँ, कसरी गर्ने अन्यौल नै थियो ।’
गण्डकीको पहिलो संक्रमित फेला पर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभाजन भइसकेको थिएन । सामाजिक विकास मन्त्रालय अन्तर्गत नै रहेर प्रदेश स्वास्थ्य निर्देशनालयले नै काम गरिरहेको थियो । कोभिडकै उपचार गर्न वा संक्रमित राख्न अस्पताल छनोट भइसकेका थिएनन् । पर्याप्त आइसोलेसन र जनशक्तिको अभावको अभाव हुने नै भयो ।
बागलुङकी ती १९ वर्षीय संक्रमित एकजनाको उपचारका लागि नै व्यवस्थापन हुन नसक्नुले महामारीमा सरकारको तयारी कस्तो थियो भन्ने प्रष्ट पार्दथ्यो । डरलाग्दो गरी समुदायस्तरमा कोरोना नफैलिइसकेको भए पनि उपचारका लागि स्वास्थ्यकर्मी तयार रहनु त परको कुरा अस्पतालसम्म ती संक्रमितलाई ल्याउनै ‘महाभारत’ भएको थियो ।
बागलुङमा कोरोना संक्रमित भेटिएको र उपचारका लागि पोखरा ल्याउने प्रदेश स्वास्थ्य निर्देशनालयको तयारी थियो । जसअनुसार पोखराबाट एक एम्बुलेन्स बागलुङतिर नसोझिएको पनि होइन । तर, ती एम्बुलेन्सका चालक संक्रमित लिन जान असमर्थ रहे ।
‘यहाँबाट सबै तयारी गरेर संक्रमित लिन बागलुङ पठाएका थियौं । तर, जिरो नकट्दै एम्बुलेन्स ड्राइभर असिनपसिन भए । उनका हातखुट्टा लल्याकलुलुक भएर चलाउनै नसक्ने भए,’ मन्त्रालयका एक कर्मचारी सुनाउँछन्, ‘हामीलाई त गरौं, के गरौं भएको थियो ।’
बागलुङ कुँडुलेकी ती संक्रमित किशोरीलाई अस्पतालसम्म ल्याउन कोही तयार भएनन् । उपचारका लागि पोखरा ल्याउन समय घर्किरहेको थियो । अन्ततः जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ प्रमुख सुरज गुरौंको टोली ती संक्रमितलाई लिन कुँडुलेसम्म पुग्यो । उनको उपचार बागलुङकै धौलागिरि अस्पतालमा भयो ।
कोरोनाको ‘हाउगुजी’ सबै भ्रमित भइरहेकाबेला बागलुङका ती १९ वर्षीय किशोरीसँगै ६५ वर्षीय एक वृद्धा पनि कोरोनालाई जितेर देखाए । ‘सीमित स्रोत र साधनबीच पनि स्वास्थ्यकर्मीले त्यसरी कोभिड उपचारमा खटिनु आफैंमा गर्वको कुरा हो,’ स्वास्थ्य मन्त्रालयका ती कर्मचारी भन्छन् ।
प्रदेशमा पहिलो संक्रमित भेटिँदा प्रदेशभरका जिल्ला अस्पतालमा न आवश्यकता बमोजिम सुविधा थियो न कुनै तयारी नै । भएका अस्पतालमा समेत जनशक्तिको अभावमा हात बाँधेर बस्नु परेको थियो । चैत १४ यता अहिले प्रदेशभर ७४ हजार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना ग्राफ बढेको बढ्यै छ ।
तर, पहिलो चरणको कोरोना महामारीजस्तै कोरोनाको दोस्रो ‘इनिङ’मा भने डराउनु पर्ने स्थिति नरहेको बताउँछन्, प्रदेश स्वास्थ्य मन्त्रालय वरिष्ठ स्वास्थ्य प्रशासक डा रामबहादुर केसी । ‘पहिले हाम्रा अस्पतालमा कुनै पूर्वाधार थिएन । जनशक्ति परिचालित थिएनन् । तर, महामारीको पाठ सिक्दै यसबीचमा हामीले स्वास्थ्यमा ठूलो लगानी गरेका छौं,’ उनी भन्छन्, ‘धेरै जिल्लाका जिल्ला अस्पतालमा थुप्रै सुविधा थपिएका छन् ।’
महामारी नियन्त्रणका लागि प्रदेश मुख्यमन्त्रीकै संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति र उपसचिवको नेतृत्वमा समन्वय समिति गठन गरेर आवश्यक मार्ग निर्देशन गर्ने काम भइरहेको छ । कोरोना पीडितको घाउमा मल्हम लगाउन कोरोना कोषको स्थापना भएको छ । महामारीबीच गुज्रेको यी २ वर्षमा थुप्रै चुनौतीको सामना गर्नुपरे पनि उपलब्धीहरु पनि प्राप्त गरेको डा केसीको भनाइ छ ।
बढ्यो जिल्ला अस्पतालको क्षमता
महामारीका यी २ वर्षमा प्रदेश मातहतका जिल्ला अस्पतालका क्षमतामा वृद्धि गरिएको छ । कतै अक्सिजन प्लान्ट स्थापना गरिएको छ भने शड्ढया, आइसियू, भेन्टिलेटर, हाइफलोलगायत बढाइएको छ ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य प्रशासक डा रामबहादुर केसीका अनुसार धेरै जिल्लाका अस्पतालमा यसअघि ती सुविधा थिएनन् । कोरोना महामारीकै समयमा आवश्यकताबमोजिम सेवा, सुविधाहरु थप गरिएका हुन् । ‘प्रदेश मातहतका अस्पतालहरुमा आवश्यक सेवाहरु थपिसकेका छौं । केहीमात्रै प्रक्रियामा छन्,’ उनले भने ।
डा केसीका अनुसार प्रदेशका जिल्ला अस्पतालभर पछिल्ला २ वर्षमा २ सय ४१ वटा एनआइसियू, ३६ वटा भेन्टिलेटर र ८३ वटा हाइफलो एनसी जडान गरेको जानकारी दिए । कुनै अस्पतालमा भने भेन्टिलेटर र एचएनएनसी जडान गरे पनि जनशक्तिको अभावमा सुरु हुन सकेको छैन । उनले भने, ‘प्रदेशमा सबैभन्दा बढी समस्या भनेकै दक्ष जनशक्तिको रहेछ । दरबन्दी खुलाउँदासमेत पाइँदैन ।’
प्रदेश अस्पतालका हालको अवस्था
अस्पताल आइसियू भेन्टिलेटर एचएफएनसी
जिल्ला अस्पताल, मुस्ताङ ५ १ ३
बेनी अस्पताल २० ३ ५
धौलागिरि अस्पताल ३० ३ १०
पर्वत अस्पताल २० ३ ५
मातृशिशु अस्पताल ५ ३ २
जिल्ला अस्पताल, स्याङजा १० ३ ५
दमौली अस्पताल १० ४ ५
जिल्ला अस्पताल, लमजुङ ३० ३ १०
जिल्ला अस्पताल, मनाङ ६ १ ३
मध्यविन्दु अस्पताल ३० ३ १०
हरियोखर्क अस्पताल ४५ ३५ १५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकीका अनुसार पछिल्ला २ वर्षमा पोस्टमार्टम सेवामा पनि वृद्धि गरिएको छ । शवगृह नबन्दा समस्या उत्पन्न भएको भन्दै त्यसमा पनि ध्यान दिइएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा केसीले जानकारी दिए ।
डा केसीका अनुसार गण्डकी प्रदेश मातहतका १० अस्पतालमा शवगृह स्थापना भइसकेका छन् । मनाङ जिल्ला अस्पताल, बेनी अस्पताल, धौलागिरि अस्पताल, पर्वत अस्पताल, स्याङजा जिल्ला अस्पताल, दमौली अस्पताल, गोरखा अस्पताल, लमजुङ अस्पताल, मनाङ अस्पताल, मध्यविन्दु अस्पतालमा शवगृह स्थापना गरिएको हो ।
स्वास्थ्यमा २ वर्षका उपलब्धी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीका पछिल्ला २ वर्षमा उल्लेख्य सुधार गरेको दाबी गरेको छ । मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माका अनुसार सबै प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नेदेखि आइसोलेसन कक्ष स्थापना गर्नेसमेत काम भएको बताए ।
डा शर्माले २ वर्षअघि आफूहरुसँग जनशक्तिको मात्रै नभएर कोरोनाका सम्भावित संक्रमितको स्वाब परीक्षणका लागि पनि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको तर, अब भने त्यो हटिसकेको बताए । यही महामारीबीचमा आवश्यक जनशक्ति पनि तयार पार्ने काम भइरहेको पनि उनले बताए ।
‘२ वर्ष अगाडि न हामीसँग रिसोर्स थियो न त अनुभव नै । महामारीसँग जुध्न टेक्नोलोजी पनि थिएन । एउटा पिसिआर परीक्षण गर्न पनि काठमाडौं पठाएर नतिजा कुरेर बस्नुपर्ने स्थिति थियो,’ उनले भने, ‘तर, अहिले यहीबीचमा प्रदेशमा ६ वटा ल्याब टेस्ट छन् । महत्वपूर्ण रुपमा हामीसँग अहिले अनुभव छ । जनशक्ति पनि पर्याप्तमात्रामा तयारी अवस्थामा छन् ।’
महामारीकै बीचमा प्रदेशले प्रदेशस्तरीय कोराना उपचारकै लागि अस्पतालसमेत स्थापना गरेको छ । साविक लायन्स अस्पताललाई प्रदेश मातहतमा ल्याई संक्रामक तथा सरुवा रोग अस्पताल बनाएर उपचार सुरु गरिसकेको छ । सय अस्पताल बेड क्षमतामा स्वीकृत भई हाल ६० शैड्ढया क्षमतामा सेवा सुरु भइसकेको छ । ‘सय बेड क्षमताको अस्पताल र जनस्वास्थ्य प्रयोगशाला बनाउन पनि भवनको शिलान्यास भइसकेको छ,’ डा केसीले भने ।
प्राकृतिक विपत्तिबीच २ जिल्ला पहिलो खोपयुक्त
मनसुनको सुरुआती चरणमै परेको भीषण बर्षाका कारण आएको बाढी, पहिरोले गण्डकीका मनाङ र मुस्ताङले ठूलो क्षति व्यहोरे । जेठ दोस्रो साता र असारको पहिलो दिननै आएको बाढी, पहिरोले मनाङ, मुस्ताङ सडकमात्रै नभई सञ्चारविहीनसमेत हुन पुग्यो ।
तर, यही प्राकृतिक विपद्बीच पनि यी दुई जिल्ला पूर्ण खोपयुक्त भएका छन् । जुन नेपालका ७७ वटै जिल्लामध्ये पहिलो हुन् । प्राकृतिक विपत्तिमा सबै एकै ठाउँ (समूह)मा बस्नुपर्ने र त्यसले झन् संक्रमण फैलाउने देखिएकाले आफूहरुले ती २ जिल्लालाई पहिलो प्राथमिकतामा राखेर खोप अभियान चलाएको प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारी बताउँछिन् ।
‘प्राकृतिक प्रकोपले कोही आमा समूहको भवनमा, युवा क्लब, गुम्बाहरुमा समूह बनाएर बस्नुपर्ने भयो । उसै पनि त्यहाँ जनसंख्या कम छ । त्यसैले पनि हामीले प्राथमिकतामा राखेर काम ग¥यौं,’ मन्त्री अधिकारीले भनिन्, ‘एकैचोटि दियो भने पटकपटकको व्ययभार पनि घट्छ भन्ने हाम्रो निष्कर्ष थियो ।’
मन्त्री अधिकारीले मनाङ, मुस्ताङपछि अन्य जिल्लालाई पनि प्राथमिकता दिएर खोप अभियान चलाउने तयारी भइरहेको जानकारी दिइन् । उनका अनुसार असोज मसान्तसम्म गण्डकीका ५० प्रतिशतले र चैत मसान्तसम्म ८० प्रतिशत प्रदेशवासीले कोरोना खोप पाइसक्नेछन् ।
प्रदेशमा अहिलेसम्म ५ लाखबढीले पहिलो डोज खोप लगाइसकेका छन् भने २ लाख बढीले दुवै खोप लगाइसकेका छन् । ‘२५ लाख हाम्रो जनसंख्यामा कम्तिमा १५ लाख जनसंख्यालाई खोप लगाइसक्ने गरी तत्काल तयारी गरिरहेका छौं,’ मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा केसीले भने ।
कोरोना तेस्रो लहर र तयारी
महामारीको पहिलो र दोस्रो लहरमा आफूहरुले आफूहरुले अन्य प्रदेशभन्दा उच्च काम गरेको प्रदेश सरकारको दाबी छ । कोभिड संक्रमितका लागि हेल्लो डाक्टर कार्यक्रमदेखि होमआइसोलेसनमा रहेका बिरामीका लागि मनोपरार्श सेवासमेत प्रदेशले चलाइरहेको छ ।
जनस्वास्थ्य विज्ञले आउने असोज महिनापछि कोभिड महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पहिलो लहर वृद्धवृद्धा र दोस्रो लहर युवा लक्षित छ । विज्ञको दाबी छ, ‘तेस्रो लहर बालबालिका लक्षित आउन सक्छ ।’
प्रदेश सरकारले तेस्रो लहरका लागि अहिलेदेखि नै तयारी गरिरहेको जनाएको छ । त्यसका लागि हाल उपलब्ध जनशक्तिलाई तालिम दिएर दक्ष बनाउने र आवश्यक ठाउँमा बाल सघन उपचार कक्ष स्थापना गर्ने तयारी भइरहेको मन्त्रालय वरिष्ठ स्वास्थ्य प्रशासक डा रामबहादुर केसीले बताए ।
‘कोभिड नियन्त्रणका लागि आइसोलेसन, क्वारेन्टिन, हेल्थडेस्क गर्दैगर्दै पिसिआर ल्याबको व्यवस्थापनसम्म आइपुग्यौं । प्रदेशकै सक्रियताले नै पहिलो र दोस्रो चरणमा धेरै गम्भीर संक्रमितको ज्यान जोगाउन पनि सफल भयौं,’ डा केसीले भने, ‘अब तेस्रो लहरमा पनि अघिल्ला दुवै लहरबाट सिकेको पाठबाट सकेसम्म समुदायस्तरमा कोरोना फैलिन नदिने गरी तयारी गरिरहेका छौं ।’
डा केसीले तेस्रो लहरका लागि आवश्यक सम्बन्धित विशेषज्ञ अभाव हुने देखिएकाले केन्द्रीय स्वास्थ्य मन्त्रालयसँग माग गरेको र प्रदेशस्तरबाट पनि ती जनशक्ति उत्पादन गर्ने काम भइरहेको जानकारी दिए ।





