गण्डकी प्रदेशले मन्त्रालय विस्तार गर्दै सामाजिक विकास मन्त्रालयलाई टुक््रयाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाएको छ । अघिल्लै पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले मन्त्रालय विस्तार गरे पनि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा उक्त मन्त्रालयको जिम्मेवारी मधुमाया अधिकारीले पाएकी छन् ।
अधिकारी मन्त्रालयको जिम्मेवारी आएकै समयमा कोरोना महामारीको दोस्रो लहर चरम विन्दुमा पुगेको स्थिति छ । यही समयमा नागरिकलाई कोरोनाविरुद्धको खोप, हालको अवस्थालाई नियन्त्रण र सम्भावित तेस्रो लहरसँग जुध्न पनि तयारी गर्नुपर्ने बाध्यता छ ।
महामारीका यी करिब २ वर्षमा प्रदेशमा स्वास्थ्य क्षेत्रका पूर्वाधारमा थुप्रै सुधार गरेको प्रदेश सरकारको दाबी छ । पूर्वाधार बनेपनि दक्ष जनशक्तिको अभाव भने उस्तै छ । सीमित स्रोत र साधनका बीच पनि ७ वटै प्रदेशमध्ये गण्डकीका मुस्ताङ र मनाङका १८ वर्षमाथिका नागरिक पूर्ण खोपयुक्त भएका छन् ।
महामारीको दोस्रो लहर नियन्त्रण र सम्भावित तेस्रो लहरसँग सामना गर्न प्रदेश सरकारसँग केके योजना छन् ? तयारी के छन् र जनशक्तिको अवस्था कस्तो छ ? यिनै विषय वरिपरि रहेर ढोरपाटन दैनिकको १९ औं विशेषांकका लागि मन्त्री अधिकारीसँग गरिएको कुराकानी ।
००००
यही भएका जनशक्तिलाई दक्ष बनाएर अघि जान सक्ने गरी हामीले ठूलै कार्यक्रम ल्याउन जरुरी छ । यही भएका जनशक्तिलाई तालिमप्राप्त गराउन सक्यौं भने पनि पुग्छ, हुन्छ । हिजो नेपालमा कोभिड संक्रमण फैलिँदै बिरामी देखेरै डराउनुपर्ने अवस्था थियो । तर, आज त्यो अवस्था छैन ।
नयाँ मन्त्रालय छ । स्वास्थ्य क्षेत्र भीषम परिस्थितिमा छ । काम गर्न कत्तिको सहज छ ?
हो, पहिले यो सामाजिक विकास मन्त्रालय अन्तर्गत नै थियो । स्वास्थ्यकै लागि भनेर छुट्टै मन्त्रालय थिएन । अहिले हामीसँग स्रोत र साधनको सीमितता छ । पहिलेको सामाजिक विकास मन्त्रालय अन्तर्गतका कर्मचारीहरु विनियोजन गरेर यस मन्त्रालयमा ल्याएका छौं ।
हाम्रो कर्मचारी कम त छन् नै । तर, पनि सुरुको चरणमा भएकाले भएका कर्मचारीलाई कसरी मिलाउने भनेर लेखा, प्रशासनलगायत क्षेत्रमा ध्यान दिइरहेको अवस्था छ । अब एक÷दुई दिनमा २÷३ जना कर्मचारी थपिनुभयो भने हाम्रो राम्रो टिम बन्थ्यो ।
महामारीले चुनौती दिइरहेकै समयमा नियामक मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुग्नु भएको छ । यसलाई नियन्त्रण गर्न के छन् योजनाहरु ?
पहिलो चरणको कोरोना संक्रमण भोगेर अहिले दोस्रो चरणको महामारी सामना गर्दैछौं । फेरि तेस्रोत चरणको चर्चा चलिरहेको छ । हामी त्यही तेस्रो लहरको सामना गर्ने गरी तयारी गर्र्दैछौं ।
तेस्रो लहरमा झन् धेरै सचेत हुनुपर्छ भनेर जिल्ला अस्पतालहरुमा प्राविधिक जनशक्ति, आइसोलेसन, ल्याब, अक्सिजन प्लान्ट, सिलिन्डर, भेन्टिलेटरको अवस्था कस्तो छ ? बेहडहरु पर्याप्त छ कि छैन ? यिनै कुराबारे सबै कार्यालयका प्रमुखहरुसँग रिपोर्ट लिइरहेका छौं । बागलुङ, पर्वतलगायतका जिल्लाहरुमा हामी आफैं पुगेर अनुगमन गरिसकेका छौं । सबै जिल्लामै तेस्रो लहरको महामारी नियन्त्रण गर्न तयारी भइरहेको छ ।
तेस्रो लहरमा बालबालिका लक्षित भाइरस आउने भनिएको छ । त्यसो हुँदा २/३ वटा अस्पतालमा बच्चाहरुका लागि सघन उपचार कक्ष कम्तिमा ५ देखि १० क्षमताको बेड तयारी गरेर राख्नुपर्छ भनेका छौं । छलफल चलिरहेको छ ।
समाजमा, बस्तीमा कोरोना नफैलियोस् भनेर त्यसमा धेरै ध्यान दिइरहेका छौं । हाम्रो व्यापार, व्यवसाय गर्न भारतीय सीमा नाका बढी प्रयोग गरिने हुँदा त्यहाँ बढी सतर्कता अपनाउनुपर्ने देखिन्छ । कोरोना समुदायस्तरमा नफैलियोस् भनेर नवलपुरको त्रिवेणीबाट आँबुखैरेनी र राम्दी नाकामा पनि चेकपोस्ट बनाउने निर्णय भएको छ ।
ती नाका भएर जति पनि बाहिरबाट नागरिकहरु आउनुहुन्छ, त्यहीं चेक गर्ने र संक्रमणको संकेत देखियो भने तत्काल उद्धार गरेर उपचार केन्द्रमा पठाउनेबारे सोचिराखेका छौं । अहिले तत्काल पिसिआर परीक्षण पनि कम भएको छ । त्यसलाई पनि बढाउन दैनिक रुपमा छलफल मै जुटिराखेका छौं ।
बाल सघन उपचार कक्ष स्थापनामात्रै गर्ने कि आवश्यक विशेषज्ञ जनशक्ति व्यवस्थापन पनि गर्नुहुन्छ ?
बाल सघन उपचार कक्षका लागि कुनै अस्पतालमा त विशेषज्ञहरु नै हुनुहुन्छ । नभएको ठाउँमा खोजी कार्य गरिराखेका छौं । विशेषज्ञ चिकित्सक पाउनै मुस्किल भएमा तत्कालै तालिमको व्यवस्थापन गरेर भए पनि हामीसँग भएका जनशक्तिलाई दक्ष बनाउँछौं ।
भ्याक्सिन र पिसिआर परीक्षणको अवस्था कस्तो छ ? चलिरहेकै मात्रामा चित्त बुझाउन सकिन्छ ?
प्रदेशमा पिसिआरमात्रै नभएर उत्तिकैमात्रामा एन्टिजेन परीक्षण पनि भइरहेको छ । छिटोछिटो रिपोर्ट आउने भएकाले एन्टिजेनलाई व्यापक बनाएका छौं ।
खोपकै सन्दर्भमा भन्ने हो भने रेगुलर प्रदेशमा खोप आइरहेको छ । हाम्रो भण्डारण क्षमता अन्य प्रदेशभन्दा राम्रो भएकाले यहाँ धेरै आउने हो । सबै जिल्लामा अहिले लक्षित वर्गले खोप पाइरहनु भएको छ । दैनिक ज्यालादारी गरेर खाने, व्यवसायी पनि हुनुहुन्छ । उहाँहरुलाई पनि कसरी खोप दिन सकिन्छ भनेर लगिरहेका छौं ।
असोज मसान्तसम्म ५० प्रतिशतले खोप पाइसक्नुहुन्छ । चैत मसान्तसम्म ८०/८५ प्रतिशत प्रदेशवासीले खोप पाइसक्नुहुन्छ ।
मनाङ, मुस्ताङ देशमै पूर्ण खोपयुक्त पहिलो २ जिल्लाका रुपमा दरिए । यो कसरी सम्भव भयो ? बाँकी जिल्ला छोडेर ती २ जिल्लालाईमात्रै प्राथमिकतामा राखिनु केही कारण पो थियो कि ?
मनाङ, मुस्ताङमा यसपालि बाढी, पहिरो गएर ठूलो क्षति पुग्यो । सडक, सञ्चार सबै विच्छेद भइसकेको अवस्था छ । तर, यस्तोअवस्थामा पनि पूर्ण खोपयुक्त बनाउन सक्यौं । यो ठूलो सफलता हो ।
लमजुङबाट माथि जाँदा मस्र्यांदी गाउँपालिका पर्छ । माथि जाँदा ताल, धारापानी, ओडार, ताल्चै आदि पर्छन् । ती झुण्डझुण्ड गाउँ गाउँमा मनसुनको सुरुमै परेको अविरल वर्षाले बाढी, पहिरो गयो । बाटो, पुल सबै बगाएको छ । तालगाउँ आफैं पनि डुबानमा प¥यो ।
त्यस्तो अवस्थामा एउटै घर, ठाउँमा बस्नुपर्ने बाध्यता आइलाग्यो । युवायुवती डाँडाकाँडामा गएर सुरक्षित हुनुपर्ने अवस्था आयो । बुढाबुढीहरुको भर भनेकै गुम्बा भयो । अवस्था एकदमै दर्दनाक र पीडादायिक थियो । त्यहीबेला झन् बढी कोरोना संक्रमणको जोखिम बढ्यो ।
कसैलाई संक्रमण भइहाल्यो भने झन् बढी समस्या पर्छ भन्ने भयो । तर, तल सडकमार्ग हुँदै भ्याक्सिन लैजान असम्भव थियो । माथि हवाइमार्गबाट यता ल्याएर खोप दिन पनि असम्भव भयो ।
कोही आमा समूहको भवनमा, युवा क्लब, गुम्बाहरुमा समूह बनाएर बस्नुपर्ने भयो । उसै पनि त्यहाँ जनसंख्या कम छ । त्यसैले पनि हामीले प्राथमिकतामा राखेर काम ग¥यौं । एकैचोटि दियो भने पटकपटकको व्ययभार पनि घट्छ भन्ने हाम्रो निष्कर्ष थियो । त्यही सल्लाह अनुसार नै उहाँहरु सबैलाई खोप लगाइएको हो ।
तथ्यांकअनुसार पछिल्लो २ वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको रहेछ । तर, जहाँ पनि जनशक्तिकै अभाव देखियो । के हाम्रो प्रदेशमा साँच्चिकै स्वास्थ्य जनशक्तिकै अभाव हो त ?
स्वास्थ्य क्षेत्रमा सबैको आकर्षण छ । तर, समस्या के हो भने दक्ष जनशक्तिलाई यहीं आकर्षण गर्न सकेनौं । नेपालजस्तो भौगोलिक विकटता भएको ठाउँमा दुर्गमदुर्गम ठाउँमा पनि सेवा दिन जानुपर्ने हुन्छ । तर, सेवासुविधामा अलिकति कम रहेछ । यो हाम्रो पनि समस्या हो ।
हाम्रो आर्थिक व्ययभार अलिकति पनि बढाउन नसक्नुका कारण पनि दक्ष जनशक्ति पलायनको एकदमै समस्या छ । यो प्रदेशकोमात्रै होइन, नेपालकै समस्या हो भन्ने लाग्छ । डाक्टर, इन्जिनियर, पाइलट सबै विदेश मोह हुन्छ । उहाँहरुलाई यही ठाउँमा सम्भावना छ है भनेर विश्वास दिलाउन सकेनौं ।
यहाँको आकर्षण बढाउने कुरा एउटा रह्यो, अर्को भनेको उहाँहरुले पनि आफ्नो देशलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । मैले गनुपर्छ भन्ने भाव आउनु पनि ठूलो कुरा हो । म यहाँसम्म आइपुग्नु पनि राज्यको लगानी छ भन्ने बुझ्नुपर्छ । यसमा राज्य र जनशक्तिबीच केही अन्तरविरोध छ भन्ने मलाई पनि लाग्छ । यही कुराले गर्दा हाम्रा दक्ष जनशक्ति सबै बाहिर पलायन हुने अवस्था छ ।
यही भएका जनशक्तिलाई पनि दक्ष बनाएर अघि जान सक्ने गरी हामीले ठूलै कार्यक्रम ल्याउन जरुरी छ । यही भएका जनशक्तिलाई तालिमप्राप्त गराउन सक्यौं भने पनि पुग्छ, हुन्छ । हिजो नेपालमा कोभिड संक्रमण फैलिँदै गर्दा पनि हामीसँग केही थिएन नि ? बिरामी देखेरै डराउनुपर्ने अवस्था थियो । आज कमसेकम सबै ठाउँमा आइसोलेसन केन्द्र छ । भेन्टिलेटर चलिरहेकै छ । यो यहीका जनशक्तिले त सम्भव भएको हो ।
महामारीको दोस्रो लहरमा पनि यो पछिल्लो हप्तादेखि संक्रमितको संख्या फेरि उकालो लाग्न थालेको छ । मृत्युदर पनि बढिरहेको छ । नियन्त्रणबारे केही योजना बनाउनु भएको छ ?
पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । यसका लागि हामीले पिसिआर परीक्षणलाई व्यापक बनाएका छौं । संक्रमण अझै फैलियो भने एन्टिजेन आफैं किनेर भएपनि परीक्षणको दायरा बढाउने भनेका छौं । समुदायस्तरमै हामीले परीक्षणको दायरा पनि बढाएका छौं ।
कोरोना संक्रमित र पीडितलाई प्रदेश सरकारले कसरी मल्हम लगाउने सोचेको छ ?
कोरोनाकै कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय भएको छ । यो नीति तथा कार्यक्रमबाटै पारित भएर आएको कार्यक्रम हो । मृतकका परिवारका बालबालिकालाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय भएको छ । यसबारे पहिले कार्यविधि बन्नुप¥यो, सूचना आह्वान हुनुप¥यो, निवदेन आउनुप¥यो । प्रक्रियाअनुसार नै सम्बोधन हुन्छ ।
अहिले सबैको ध्यान कोरोनामै छ । तर, कोरोनाबाहेक पनि त स्वास्थ्य क्षेत्रका समस्याहरु छन् । ती समस्याहरुलाई कसरीबारे केही योजना छन् ?
कोरोना संक्रमण फैलिइसकेपछि अन्य रोगहरु माइनर भएजस्तो भएको छ । क्यान्सर, मुटुरोगी जस्ता दीर्घरोगीहरु हुँदैहुनुहुन्छ । यसबाहेक पनि मौसमी रोगहरु हुन्छन् । त्यसमा पनि मन्त्रालयले राज्यले सम्बोधन गर्ने छँदैछ । धेर दुर्गम ठाउँहरुमा राज्यले के गर्छ भन्ने पनि थाहा हुँदैन । त्यस्तो ठाउँमा गण्डकी प्रदेश सरकारले जतिसक्दो सहयोगी भूमिका निर्वाह गर्नेमा कहीं पनि चुक्दैनौं ।





