शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

त्यो साइनिङ र यो गण्डकी !

त्यो साइनिङ र यो गण्डकी !


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०७८, आइतबार

पोखरा/ १९९० सलतिर पोखरामा वैद्यखाना खोलियो । वैद्यखानाले आयुर्वेदिक ओखती चलाउँथ्यो । असाध्य रोगको उपचार सम्भव थिएन । २००२ सालतिर पोखराकै रानीपौवामा आधुनिक सेवा दिने गरी वडाहाकिम धन समसेरले अर्को अस्पताल सुरु गराए ।

वैद्यखानामा गणेशलाल रञ्जित कम्पाउण्डरको रुपमा विरामी हेर्थे । पछि काठमाडौंका दयावीर कंसाकारले पोखरामा एलोपेथिक उपचार पद्दतिमा टेकेर क्लिनिक खोले । २००६ सालतिर बागलुङ वैद्य मेखलाल वैद्यले पोखराको भैरवटोलमा वैद्यखाना खोले । मेखलालको औषधालयमा मान्छे झुम्मिन्थे ।

त्यही बेला सिकागो हिस्ट्री म्यूजियमका डाक्टर कार्ल इ मिलर बटौली हुँदै पोखरा र मुस्ताङसम्म पुगेर आधुनिक चिकित्सा पद्दति अनुसार विरामीको उपचारमा खटिएका थिए । उनले नै लेखेको ‘मेडिकल सर्वे अफ कालीगण्डकी एण्ड पोखरा भ्याली’ नामक लेखमा पोखरा बस्दा ८ सय ६६ जना विरामीको उपचार गरिएको उल्लेख छ ।

उता, नेपाल केही खुल्ला हुँदै थियो । अमेरिकी क्रिस्चिनियरी मिसनसँग आवद्ध रहेका डाक्टरहरुले बटौली(बुटवल)मा उपचार सुरु गरिसकेका थिए । इन्टरनेसनल नेपाल फेलोसिप (आईएनएफ)को आधिकारिक वेवसाइटका अनुसार लिली र हिल्डाको नेतृत्वमा मिसनरीले २००९ सालमा पोखरका क्लिनिक खोलेर काम थालिसकेको थियो । २०१३ सालमा त्यही क्लिनिकलाई बढाएर यहाँको टुँडीखेलमा साइनिङ अस्पताल स्थापना गरियो ।
पोखराका रैथाने लेखक रवीन्द्र माकाजूका अनुसार २०१९ सालतिर साइनिङ अस्पताल नदीपुरको बुद्धबिहार अगाडि थियो । ‘२०१३ सालमा मात्रै सरेको हो । कान्छी डाक्टर्नी प्रसिद्ध थिइन् । २०१८–२०१९ सालतिर पोखरामा बसाइँसराइ बढ्यो’, उनले भने, ‘२०४५ सालतिर गण्डकी अस्पतालमा विलय भएको हो ।

नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षाराज्यमन्त्री मीनबहादुर गुरुङद्धारा लिखित ‘मेरो जीवनमा बुद्धधर्म’पुस्तकका अनुसार राणाकालमा पोखरामा उपचारको लागि सानो डिस्पेन्सरी मात्रै थियो । बर्खायाममा मान्छेहरु विरामी पर्थे तर उनीहरुको लागि आधुनिक उपचार गर्ने अस्पताल थिएन । धाँभीझाँक्री लगाएर,पात्लो दोवाटो चढाएर पनि निको भएन भने बिरामीहरु बजारका वैद्यहरुकहाँ आउँथे । वैद्यहरुले जडीबुटी पिसेर बनाएको गोली दिन्थे ।
‘गर्भास्थ आइमाईहरु प्रसव हुन सकेन भने त्यसको पत्ता लगाउनेको तथ्य काँचो वायू, देवी देवताको भाकल गरिन्थ्यो’, उनले लेखेका छन्, ‘धेरै मान्छेहरुको मृत्यु उपचार नपाएर हुन्थ्यो ।’ त्यो दुःख देखेका गुरुङले पोखरामा क्रिश्चियन मिसनरीले अस्पताल राख्ने जग्गा खोजेको थाहा पाए । उनीहरुलाई अस्पताल बनाउन दिँदा क्रिश्चियन धर्मको प्रचार हुन्छ भनेर रोकियो ।उनले पोखराजस्तो ठाउँमा स्कूलजस्तै अस्पताल पनि चाहिन्छ भन्ने सोचे रे !
‘पछि मैले ५० शैयाको अस्पताल राख्न पाऊँ भनेर स्वास्थ्यमन्त्री नरबहादुर गुृुरुङलाई दिएँ र पुनःउनै मिसनरीहरुलाई दरखास्त दिन लगाएँ अनि प्रधानमन्त्री मातृकाबाबु (मातृकाप्रसाद कोइराला) सँग मैले भनें– यदि कुनै सरकारी अस्पताल दिन सकिँदैन भने अस्थाथी साइनिङ अस्पतालको आदेश इजाजत दिनुहोस्’, उनले लेखेका छन्, ‘जोड गरेपछि अस्पतालको आदेश भयो ।

पहिला रामघाट र पछि टुँडीखेलमा जग्गा प्राप्त भएपछि अस्पताल खोलियो,अस्पताल खोलेपछि गर्भास्थहरुको र रुखबाट लडी लंगडा र अपाङ्ग हुनेहरुको मुख्य उपचार र अरु उपचार सुरु भयो ।’ उनका अनुसार त्यो बेला साइनिङले सुरुमा २५ र पछि ५० पैसा शुल्क लिएर उपचार गथ्र्यो ।
आधुनिक चिकित्सा पद्धति अनुसार विरामीको सेवा गर्ने साइनिङ अस्पतालले २००१३ सालतिर गोर्खाको आपपीपलदेखि मध्यपश्चिममा केही ठाउँमा पनि सेवा विस्तार ग¥यो । पछि मिसनरीले नै पोखराको नयाँगाउँमा हरियोखर्कमा कुष्ठरोगीको लागि मात्रै अस्पताल खोल्यो । अस्पतालले कुष्टरोगीहरुलाई विशेष सेवा प्रदान ग¥यो । अस्पताल अहिले पनि चलिरहेको छ ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार पोखरामा आधुनिक चिकित्सा पद्धति भित्रायाउनुमा साइनिङ अस्पतालको ठूलो योगदान छ । उनका अनुसार कान्छी डाक्टरको नामले चिनिएकी रुथ वाट्सनले लामो समयसम्म अस्पतालमा बसेर बिरामीको सेवा गरिन् । साइनिङ अस्पतालले करिब ७० रोपनी जग्गा चर्चेको थियो । त्यो जग्गा लामो कानूनी लडाइँपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा आएको छ । सो ठाउँमा अध्तधुनिक मुटु अस्पताल बनाउने भनिए पनि कामले गति लिन सकेको छैन ।

यता, भारतीय सेनाबाट रिटायर्ड मेजर वीरसिंह गुरुङले पोखरामा आधुनिक अस्पताल र स्कूलको सपना देखे । उनकै पहलमा पोखरा २०१३ साल चैत १३ गते पोखरामा सोल्जरबोर्ड स्कूल – हालको अमसिंह उच्च मावि र सोल्जरबोर्ड अस्पतालको नाममा गण्डकी अस्पतालको स्थापना भयो । कालान्तरमा त्यही अस्पताल जिल्ला र क्षेत्रीय अस्पतालमा रुपान्तरण गरियो । यो गण्डकीकै सुविधासम्पन्न अस्पताल हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->