
स्याङ्जा/ नयाँ संरचनासगै बनेको भीरकोट नगरपालिकाले आफ्नो नयाँ भवनबाट सेवा दिन थालेको छ । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा नयाँ संरचना पश्चात भिरकोटले नयाँ भवन निर्माण गरेर सेवा दिन थालेको हो ।
पुराना पुतलीबजार, वालिङ र चापाकोट नगरपालिकाको आफ्नै भवनबाट सेवा दिएपनि भीरकोटले भाडामा घर लिएर सेवा दिएको थियो । संघको २ करोड ६८ लाख, प्रदेशको २ करोड र जिला समन्वय समितिका ६२ लाख गरी सात करोड ३८ लाखको लागतमा फेवा /गजिन्द्र निमार्ण सेवा जेभीले नयाँ भवनको निर्माण गरेको हो ।
अपाङमैत्री शौचालय, लिफ्टिङ सेवा सहित जिल्लमा पहिलो पटक निर्माण भएको भवन चार रोपनीमा रहेको छ भने भवन तीन तलामा २६ कोठा रहेका छन् । अन्डर ग्राउण्ड पार्किङ रहेको भवन निर्माण सेवाले २०७५ साल असोज २ गते सम्झौता गरी निर्माण गरेको हो ।
बिगतमा भवन नहुदाँ सेवाग्राहीले समस्या भएको बताउदै प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नयाँ भवन निर्माण सगै सेवाग्राहीलाई सहज भएको बताए । विगतमा ठाउँ ठाउँमा पुगेर सेवा लिनुपर्ने बताउँदै उनले भने, ‘अहिले एउटै भवनबाट सेवा पाएका छन् ।’
गल्याङ र अर्जुनचौपारी भाडामा
नयाँ संरचनामा गएको ५ वर्ष पुग्न थालेपनि स्याङ्जाका २ पालिकाका कार्यालय भाडामा छन् । यहाँका गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिका घर भाडामा लिएर सञ्चालन गरिएको हो ।
११ पालिकामा अहिले भीरकोट नयाँ र पुराना नगरपालिका पुतलीबजार, वालिङ र चापाकोटको आफ्नै सेवा दिएपनि ५ पालिका पुराना गाबिस र स्वास्थ्य तथा कृषि कार्यालयलाइ मर्मत गरेका सञ्चालन रहेका छन् । अहिले यहाँका ६ वटा पालिकाका प्रशासकीय भवन एकै पटक निर्माणमा रहेका छन् ।
९७ वटा वार्ड रहेको स्याङ्जामा २९ वडा भाडामा, २२ वटा नयाँ निर्माण र ४६ वटा साविकका गाबिस कार्यालयबाट सेवा दिएका छन् । यहाँ सबै भन्दा धेरै वडा भवन निर्माण ६ वटा आँधीखोलाले गरेको छ भने गल्याङ्मा ८ वटा वार्ड भाडामा छन् । ९ वटा वार्ड पुराना भवनमा वालिङ नगरपालिकाले सञ्चालन गरेको छ भने अर्जुन चौपारी गाउँपालिकामा वार्ड भाडामा नरहेको पालिकाले जनाएको छ ।




