पोखरा/ गण्डकी अर्थात् गोर्खाको÷लाहुरेको प्रदेश । विश्वकै अग्ला हिमालहरु अन्नपूर्ण, धवलागिरीजस्ता हिमालहरुको प्रदेश । विश्वमै ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण अनि पदयात्रा पर्यटन गण्डकीका पर्याय हुन् ।
उचाइमा के–के हुन्छ ? अल्ट्रा धावक मीरा राईलाई हेरे पुग्छ । समाज बदल्न बोकेको बन्दुक बिसाएपछि गुथाइएको ‘अयोग्य लडाकु’बाट साहसिक महिलाको उपाधि दिलाउन उचाइ नै काम लाग्यो । उचाइमा दौडेर नै उनले आफूलाई स्थापित गरिन् ।
विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेसनल जोग्राफीको ‘एड्भन्चर अफ दी इयर–२०१७’ मा अल्ट्रा म्याराथन धाविका मीरा राईले सफलता हात पारिन् । उनी विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरूको सूचीमा रहिन् । मीराले अल्ट्रा धावकको परिचय बनाएसँगै धेरैका आँखा हिमालतिर सोझिए । हिमाल र उच्च पहाडी भूभाग आरोहण अनि पदयात्राको लागि मात्रै हैन, साहस प्रदर्शनको सम्भावना बोकेको भूुमिमा गनिन थालेको छ ।
स्वभाविक हो, गण्डकी प्रदेशले उचाइमा हुने अल्ट्रा रेस, क्रसकन्ट्री म्याराथन, प्याराग्लाइडिङ, कायक, ¥याफ्टिङ, माउन्ट क्लाइम्बिङ, स्की, आइस क्लाइमिङ, बन्जिजम्प,माउन्टेन बाइक, माउन्टेन साइक्लिङ, ट्राइयाथोलन आदिमा सम्भावना देखेको छ ।
पूर्वाधार प्रकृतिले दिएकै छ । मात्र, थोरै प्रचार र विकास चाहिएको छ ।
दक्षिण कोरिया, स्विटजरल्याण्ड, छिमेकी मुलुक चीनलगायतका थुप्रै राष्ट्रहरुले साहसिक खेलकै माध्यमबाट पर्यटक भित्र्याएर देशको अर्थतन्त्र उकास्ने काम गरिरहेका छन् ।
नेपालमा खेलकुदको विकास भएको यतिनै भनेर यकिन ठयाक्कै नभएपनि नेपालमा खेलकुदको गतिविधि तयार गर्नका लागि वि.सं. २०१५ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्थापना भयो । त्योभन्दा अघि नै राणाकालीन समयमै पनि विभिन्न खेलहरु नेपालमा खेलिदै आएपनि साहसिक खेलहरुलाई भने खेलकुदको औपचारिक विधा मानिएन । अझै मानिएको छैन । राज्यले अहिलेसम्म यस्ता खेलकुदमा लगानी गर्न सकेको छैन
परम्परागत खेल ठेलो हान्ने, तारो हान्ने घोडा रेस पनि लोकप्रिय छन् तर व्यावसायिक बन्न सकेको छैन । ओलम्पिकमा हर्स राइडिङ र आर्चरी समावेश हुँदा हामीले यी खेलमा प्रगति गर्न सकेका छैनौँ । गाउँका मेला महोत्सवमा मात्रै सीमित भएका छन् ।
घोडा दौड (हर्स राइडिङ)

घोडा दौड मुस्ताङ र मनाङको लोकप्रिय सांस्कृतिक खेल हो । घोडा दौड ओलम्पिकमा हर्स राइडिङ भनेर चर्चित छ । परम्परासँग जोडिएको यो खेल सवारी साधन नपुगेको विकट क्षेत्रमा घोडा चढ्दै आउँदादेखि नै सुरु भएको हो । गण्डकी प्रदेशका ग्रामिण भेग, मनाङ र मुस्ताङमा घोडा चढ्न कसैले सिकाउनै पर्दैन । उनीहरु आफैले सहजै सिक्छन् । जसलाई खेलकुदमा परिणत गर्न सके गण्डकी प्रदेश हर्स राइडिङ हबको रुपमा विकास गर्न सकिन्छ ।
तारो (आर्चरी)
थकाली समूदायमा तारो लोकप्रिय छ । फागुपूर्णिमाको समयमा विशेष गरी एक महिनासम्म मनाउने गर्दछन् । परम्परागत रुपमा चलिआएको तारो हान्ने प्रचलनलाई समेत ओलम्पिकमा आर्चरी भनिन्छ । तर, गण्डकी प्रदेशले भने प्रचुर सम्भावना बोकेका यस्ता परम्परागत चलनलाई खेलमा परिणत गर्न भने सकिरहेको छैन् । तारो हान्ने अर्थात आर्चरीका लागि गण्डकी प्रदेशबाट विश्वकै उत्कृष्ट खेलाडीको उत्पादन गर्न सकिन्छ । तर, अहिलेसम्म यो खेलमा राज्यले आँखा लगाएकै छ्रैन ।
म्याराथन
म्याराथन साहसिक खेलमध्येकै एक खेल मानिन्छ । जहाँ एक धावकले ४२.१९५ किलोमिटर दौडेर नै पार गर्नुपर्ने हुन्छ । ग्रिस र परेसियनबीच युद्ध हुँदा ग्रिसले जितेको खबर पु¥याउन सुरु भएको म्याराथन विश्वभर आयोजना गरिन्छ । तर, नेपालमा जस्तो उत्कृष्ट भने कतै हुँदैन । गण्डकी प्रदेशमा हिमालमा अन्नपूर्ण म्याराथन र पोखरामा सफल पोखरा म्याराथन हुँदै आएको छ । जसलाइ अझै पनि अन्तर्राष्ट्रिय बनाउन सकिरहेका छैनौँ । यी दुई म्याराथनलाइ अन्तर्राष्ट्रिय बनाउन सक्ने हो भने नेपालमा विदेशी धावकहरुको वर्षेनी रोजाइको विन्दु बन्छ ।
¥याफ्टिङछ/कायक
¥याफ्टिङ र कायक पनि गण्डकी प्रदेशमा प्रचुर सम्भावना भएको अर्को साहसिक खेल हो । कालीगण्डकी र सेती मा यस्को प्रचुर सम्भावना रहेको छ । धार्मिक महत्व बोकेको कालीगण्डकी र सेती जहाँको महत्व नै छुट्टै छ । अमेरिकी साहसिक खेलाडी माइक एगरले त्रिशूली नदीमा ¥याफ्टिङ व्यवसाय भित्र्याएसँगै कर्णाली र भोटेकोशीमा पनि व्यावसायिक ¥याफ्टिङ सुरु भएको छ । यसलाइ गण्डकी प्रदेशमासमेत व्यवसायीकका साथसाथै साहसिक खेलको रुपमा आयोजना गर्न सके प्रदेशको आर्थिक वृद्धिदर ह्वात्तै उकासिने सम्भावना छ । तर, खोला मासिँदै छन् र नदीमा विद्युतका ड्याम बनाउँदै गर्दा यो खेलको सम्भावना अन्त्य हुने सम्भावना बढेको छ ।
प्याराग्लाइडिङ
प्याराग्लाइडिङ गण्डकी प्रदेशमा मात्रै देखिन्छ । एउटा डाँडोबाट दौडेर हाम फाल्दै आकासमा उडेर अग्ला हिमाल, पहाड, ताल, नदी, सहर हेर्न सकिने क्षेत्र भनेकै गण्डकी प्रदेश हो । जहाँको हावा प्याराग्लाइडिङका लागि उत्कृष्ट मानिन्छ । सन् १९९६ मा वीरु बमजन र बेलायती एडम हिलले पोखरामा प्याराग्लाइडिङ भित्र्याएपछि नेपालमा यसको आकर्षण बढ्दो छ । व्यावसायिक रुपमा संचालन हुदँै आएको छ र अझै गण्डकी प्रदेशले बुझ्न सकिरहेको छैन् । पोखरामा मात्रै हुने प्याराग्लाइडिङको पछिल्लो समय भने अन्यत्र पनि सम्भाव्यता खोजी भइरहेको छ । साहसिक खेलकै रुपमा रहेको प्याराग्लाइडिङलाई खेलको रुपमा विकास गर्न सके यहाँ विश्वकपको समेत वर्षेनी आयोजना गर्न सकिन्छ । तर, पोखरामा विशेष रहेको प्याराग्लाइडिङ भने पोखरामा निमार्णाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण विस्थापित हुने खतरामा परेको छ । राम्रो आम्दानीको स्रोत रहेको प्याराग्लाइडिङको भविष्य भने पोखराबाट गुम्दै जाने देखिएको छ ।
बन्जी जम्प
न्युजिल्यान्डका डेबिड एलडाइस र विष्णु न्यौपानेले भोटेकोसीमा बन्जी सुरु गरेको पनि दुई दशक भइसकेको छ । बन्जीले ‘एड्भेन्चर क्रेज’ फैलाएको छ । यसो त अहिले गण्डकी प्रदेशमा विश्वकै दोस्रो अग्लो बन्जीको व्यवसाय सुरु गरिएको छ । बन्जि पनि साहसिक खेल हो तर हामीले भने यसलाई खेलका रुपमा लैजान नसक्दा विदेशी पर्यटकलाइ ल्याउन सकिरहेका छैनौँ । विश्वकै अग्लो बन्जी मकाउमा छ । जसको उचाइ ७ सय ६४ फिट छ । त्यो बाहेक पोखरामा मात्रै २ वटा साना बन्जीहरुको स्थापना गरिएको छ ।
क्यानोइङ
झरनाबाट खसेको पानीमा पानीसँगै डोरीको सहायताले झुन्डिएर तलतल झर्ने खेल हो–क्यानोइङ । क्यानोइङ पनि गण्डकी प्रदेशमै पहिलोपटक व्यवसायी राम गुरुङले भित्र्याएका थिए । कास्कीमा साहसिक खेलको प्रचुर सम्भावना देखेर नै उनले यो खेललाई व्यावसायिक रुपले भित्र्याएका थिए ।
हिउँमा खेलिने खेलहरु
विश्वकै अग्ला हिमालहरुमा गनिने अन्नपूर्ण धवलागिरी जस्ता हिमालहरुको काखमा हामी स्की, आइस क्लाइमिङ, आइस हक्कीलगायत थुप्रै खेलको आयोजना गर्न सक्छौ ।
अहिलेसम्म प्रकृति बेच्यौ अब खेलकुद बेचौँ : इन्द्रधारा विष्ट

यो तारो खेल र घोडा दौडको कुरा गर्नुपर्दा हजारौँ वर्ष अघिदेखि नै चल्दै आएको चलन हो । बीचमा विभिन्न कारणले पनि यस्को महत्व खुम्चिदै गयो ।
तल्लो मुस्ताङमा तारो अर्थात आर्चरी एकदम व्यापक छ र माथिल्लो मुस्ताङमा घोडा दौड निकै प्रख्यात छ । जहाँको घरघरमा घोडा खेलाडी छन् । तल्लो क्षेत्रमा धज्याङ र माथिल्लो क्षेत्रमा यार्तुङ भनेर वर्षेनी मेला गर्छौँ । युवालाई जागरुक गराउन सके यी खेलबाट ओलम्पिकमा समेत पदक हासिल गर्न सक्छौँ ।
यतिमात्र होइन एकै प्रदेशमा ३ भेग भएकाले पनि यहाँ धेरै किसिमका खेलहरु खेल्न सकिन्छ । मुख्य कुरा त अहिले मान्छेहरु सगरमाथा चढ्ने इच्छा गर्छ । हवाइजहाजबाट हामफाल्ने इच्छा गर्छ यस्ता यस्ता साहसिक खेलहरुमा रमाउन चाहन्छन् । वास्तविक फोकस गरेर हाम्रै प्रकृतिकले दिएको वरदानमाथि नै हामीले रितिरिवाज अनुसारका र अन्य साहसिक खेलपनि गराउन सकियो भने हाम्रो अर्थतन्त्रमा कायापलट हुन्छ । खेलसँग पर्यटक जोड्न सके हाम्रो स्तर माथि बढ्छ । गण्डकी प्रदेश सरकार र लोमाङथाङ गाउँपालिकाको समन्वयमा हाइ अल्टिच्युट गल्फ कोर्ष निमार्ण गर्ने योजना बनाएका छौँ । जुन गल्फकोर्ष विश्वकै पहिलो हाइ अल्टिच्युट गल्फ कोर्ष हुनेछ । भौगोलिक रुपमा पनि त्यहाँ गल्फ खेल्न सकिन्छ र ३६० डिग्रीकोणमा हिमाल हेर्दै गल्फ खेल्न सकिन्छ । गल्फ धनी तथा व्यवसायीले खेल्ने खेल हो । यहाँ त्यस्ता व्यवसायी आउँदा स्थानीयले रोजगार पाउँछन भने आर्थिक उन्नति हुन्छ । खेलकुद हाम्रो संस्कृति र संस्कारसँग जोडिएको छ । हाम्रो संस्कृतिमै खेलकुद छ भने त्यहाँको विकास अरु क्षेत्रबाट खोजेर हुँदैन । हामी हाइ अल्टिच्युट र साहिसिक खेलकुदको केन्द्र बनाउन चाहन्छाँै । अहिलेसम्म प्रकृति बेचिरहेका छौँ । अब खेलकुद बेचेर कमाउनुपर्छ ।
राज्यको लगानी कम भयो : सदस्य सचिव तेज गुरुङ (गण्डकी प्रदेश खेलकुद परिषद्)

गण्डकीमा भर्खरैमात्र खेलकुद परिषदको विकास भएको छ । खेलकुदलाइ हाम्रो समाजले बुझ्ने जुन अवस्था छ । त्यति उत्साहजनक अझै छैन् । त्यसैले पनि खेलकुदको महत्व यसले वातावरणदेखि लिएर स्वस्थ बनाउने कुरा छँदैछ । यसले समाजमा घुलमिल भएर बस्न पनि सिकाउँछ । खेलकुदमा कुनै भेदभाव हुँदैन, मिलेर खेलिन्छ । नेपालमा ै सम्भावना भएको खेल मध्ये मार्सलआर्टस पनि हो । जुनखेलबाट नै नेपाली इतिहासमा छनोट हुँदै ओलम्पिकसम्म पुग्न सकिएको छ । यसको मुख्य कारण भनेकै यहाँको प्रकृति हो । एथलेटिक्स इभेन्टसहरु त्यसमा पनि लामो दूरीका दौडहरुमा सम्भावना रहेको छ । किनभने उच्च भूभागमा रहेको हामी नेपालीहरु छौँ । प्रकृतिले हामीलाइ अक्सिजन क्यापासिटी निकै राम्रो दिएको छ । हामी जुन जस्तो स्थानमा पनि घुलमेल हुन सक्छौँ । हाम्रालागि व्यक्तिगत खेलहरु नै बढी महत्वका खेलहरु हुन् । हाम्रो परम्परागत खेलको पनि असाध्यै राम्रो सम्भावना भएको खेल हुन् । हामीले परम्परागत २ खेललाइ अब हुने नवौँ राष्ट्रिय खेलमा समेत समावेश गर्दैछाँै । ठेलो हान्ने, जुन दौडेर ढुङ्गा फ्याकिन्छ र अर्को चाहिँ तारो हान्ने । यो ठेलो खेलको पनि यति सम्भावना देख्छु मैले अहिले ओलम्पिक, एशियन खेलमा हुने सटपुट छ त्यसमा त्यति आकर्षक देख्दिन मैले । त्यो एउटा राउन्ड भित्र रहेर हान्न पर्ने हुन्छ । तर, ठेलो हान्दा २०–३० मिटर दौडिएर आएर घेराबाट उफ्रेर हान्ने त्यो जुन आकर्षण छ यसलाई हामीले राष्ट्रिय खेलको रुपमा लैजाने र बिस्तारै दक्षिण यशियाली खेलमा लैजाने सोच बनाएका छौँ । यी बाहेक घोडा दौडलाई पनि अघि ल्याउन जरुरी छ । जसलाइ संस्कृतिमा जोड्न जरुरी छ । कुनैपनि खेललाइ खेल संस्कृतिमा जोड्न सकेनौँ भने त्यसलाइ दिगो रुप दिन सक्दैनौँ ।





