स्याङ्जा/स्याङ्जामा शुक्रबारबाट भौतिक उपस्थितिमै विद्यालय संचालनमा आएका छन् ।
स्याङ्जाका ११ वटा पालिकामध्ये शुक्रबार ८ पालिकाले पठनपाठन सुरु गरे । पुलतीबजार नगरपालिका तथा कालिगण्डकी र फेदिखोला गाउँपालिकामा भने भदौ २७ गतेबाट नै पढाइ सुरु भएको थियो ।
जिल्लामा रहेका १ सय ७० माविसहित ५ सय २२ विद्यालयमै कक्षा संचालन भएको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले बताए । कोभिडको दोस्रो लहरसँगै गएको वैशाख २१ बाट स्याङ्जाका सबै विद्यालय बन्द गरिएका थिए ।
स्वास्थ्य मापदण्ड पालनासहित खोलिएका विद्यालयमध्ये फेदिखोलाले जोर बिजोर तथा वालिङ नगरपालिकामा र कालिगण्डकी गाउँपालिकामा २ दिन बिराएर पढाउने अनुमति दिइएको छ ।
थोरै विद्यार्थी भएका विद्यालयमै एकैदिन पढाउने अनुमति दिइए पनि बढी विद्यार्थी भएका विद्यालयमा ३५ प्रतिशत विद्यार्थी राखेर पढाउने गरिएको वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाणँले बताए ।




