बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उद्गममै हराउँदै कौडा !

उद्गममै हराउँदै कौडा !

गाउँमा युवायुवती कमै छन् । गाउँबस्ती रित्तो हुनु पनि संस्कार, संस्कृति र मौलिकता लोपोन्मुख हुनुको प्रमुख कारण हो ।


  • विनोद ढुंगाना
  • असोज ९ २०७८, शनिबार

तनहुँ – ल्वाङ, सुकमेल, चुरोट सहितको चिठ्ठी पछ्यौरीमा बेरेर मगर समुदायकातरुनीले अर्को गाउँका तन्नेरीलाई निम्तो पठाउँछन् । निम्तो स्वीकारेका तन्नेरीहरुकमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएरआइपुग्छन् । मखमलको चोली, छिटको गुन्यूँ, कम्मरमा पहेँलो/निलो रङको पटुका, गलामा कण्ठी, शीरमा शीरफूल र शीरबन्दीमा चिटिक्क परेर सजिन्छन्, मगर तरुनी ।

तन्नेरीले खैँजेडीको तालमा सामूहिक स्वर मिलाउँदैकौडागाउँछन् । तरुनीहरुसँग कम्मर मर्काउदै खुट्टाको ताल मिलाउँदै नाच्छन् । साँझपख सुरु भएको कौडा/कौराहाले रात छर्लंग पार्छ । बिहानपख सुरु भए साँझसम्म पनि कौराहाको रौनक रहन्छ । छुट्टिने बेलामानिम्तो गर्ने गाउँमा खानपान हुन्छ । खानपानको खर्चलाई आँकलन गर्दै तन्नेरीहरुले पैसा उठाएर दिन्छन् । रफर्कन्छन् आफ्नै गाउँ।

तनहुँको ऋषिङ उदग्मथलो भनिएको मगर समुदायमा प्रचलित कौराहाको यस्तो श्रव्यदृश्य देख्न र सुन्न मुस्किल छ । अघिल्लो पुस्ता यहीमाहोलमा सामेल भई रमाए, कौराहाको मौलिकतालाई जोगाए । संगीतिक बजारमा समेत आफ्नो पहिचान स्थापित गरेको कौराहाको मौलिकतालाई उद्गमथलोमै पछिल्लो पुस्ताले बिर्संदैछ ।

एक त पछिल्लो समय विरलै नाचगान हुन्छ कौराहा । अर्कोतर्फ पहिलजस्तै दिनरात गाल्ने गरेर नाचिँदैन ।मुख्य कुरो त गाउँमा युवायुवती कमै छन् । गाउँबस्ती रित्तो हुनु पनि संस्कार,संस्कृति र मौलिकता लोपोन्मुख हुनुको प्रमुख कारण हो ।

युवा अवस्था हुदाँको जस्तो कौराहाको मौलिकतासँगै रौनकता अहिले कहींकतै नदेखेको ऋषिङ दुकुडाँडाकाका दानबहादुर आले बताउँछन् । अहिलेको पुस्तामा कौराहा कसरी नाच्ने, गाउने, ताल मिलाउनेबारे ज्ञानको कमी भएको उनी बताउँछन् ।

आदिवासी मगरमा प्रचलित रोधी र कौराहा पुस्तकका लेखक आले भन्छन्, ‘युवा पुस्तामा कौराहाको मौलिकता कसरी हस्तान्तरण गर्ने भन्ने चिन्ताको विषय बनेको छ । गाउँका युवायुवती कोही पढ्न बजार गए । कोही परदेशमा छन् । कस्ले सिक्ने ?गाउँमा भएकाहरुको अभ्यास नै छैन् । बुढापाकाले कष्टपूर्ण ढंगले धान्ने काम मात्रै भएको छ कौराहा।’
उनका अनुसार पहिला गाउँ–गाउँमा रोधीघर थिए । दसैँदेखी सुरुवात गरेर जेठको दसहरासम्म धुमधामले कौराहा नाचगान हुन्थ्यो । बैशाखे पुर्णिमाको बेला त कौराहाको रौनक उधुम हुन्थ्यो । ‘गाउँ–गाउँमा कौराहा गुञ्जिन्थ्यो । नाचगानको माहोल थियो । अहिले रोधीघर नै हरायो,’ उनी भन्छन्् ।

अचेल कहिलेकाहींमात्र कौराहागाउने नाच्ने गरेकोआले सुनाउँछन्।विशेष कार्यक्रम भएको बखतमा मात्रै कौराहा नाचगान हुने गरेको आलेले बताए । छोटो समय मात्र नाचगान हुने भएकाले मौलिकता समेट्न मुस्किल पर्ने उनको तर्क छ ।
कौराहा सामूहिक नृत्य र गायन हो । एक्लै गाउन र नाच्न सम्भव छैन् ।कौराहा सुरुमा देवीदेवता सम्झिएको अन्तराबाट सुरु हुन्छ ।
यो गाउँको देवी देउता चन्डी र भुयाँरी
हामरो शिर रक्षे गरन

यस्तै शब्दलाई लामो भाकामा ४ पटकसम्म दोहो¥याईन्छ । २ पटक बिसाउने र फेरी दुई पटक उठाउने । त्यसपछि बल्ल अन्तरा पूरा गरिन्छ ।

घुम्दै फिर्दै आको हामी पर्छौ तिम्रै शरण
हामरो शिर रक्षे गरन

देवीदेवतालाई सम्झिएपछि विस्तारै गीतबाटै चिनजानका कुरा हुन्छन् । जिस्कने, ख्याल ठट्टा, माया पिरती लाउने कुरा हुदैँ जिवनका भोगाई पनि गीतमा समेटिन्छ । अन्तमा विछोडको गीत गाएर छुट्टिन्छन् तन्नेरी र तरुनीहरु ।

हे निष्ठुरी मायालु छोडी गयो नभन
छुटनी बेलैमा के दिन्छौँ नानी सम्झना

कौराहाको एक अन्तरा पुरा गर्न झण्डै आधा घण्टा समय लाग्दछ । कौराहा लामो भाका हालेर गाईन्छ ।
मेला, महोत्सव, साँस्कृतिक कार्यक्रममा पनि कौराहा गाउने नाच्ने गरिन्छ ।यस्ता कार्यक्रममा प्रस्तुत कौराहाले संस्कृति चिनाउन सघाउ पु¥याएपनि मौलिकता भने उतिसारो झल्कदैन ।
सांगीतिक बजारमा लोक गीत अन्र्तगत रेर्कड गरिएका कौराहा गीतहरु छ्यापछ्याप्ती छन् । ती गीतले कौराहालाई चिनाएपनि मौलिकता प्रस्तुत गर्न नसकेको ऋषिङ्गे कौराहा गायक पदम थापा मगर बताउँछन् । ‘रेर्कड गरिएको कौराहा ५/७ मिनेटमै सकिन्छ । मौलिक कौराहाको एउटै टुक्का गाउन लगभग आधा घण्टा समय लाग्दछ । त्यसैले रेर्कड गरिएका कौराहामा त्यति मौलिकता पाईदैन्’, उनले भने । सांगीतिक बजारको कौराहामा माया प्रेमका कुरा हावी भएको उनी स्विकार्छन् ।

कौराहा तनहुँसंगै आसपासका जिल्ला कास्की, स्याङजा, लमजुङ, गोरखा, नवलपुर, चितवनमा पनि प्रचलित संस्कृति हो । यी जिल्लाका मगर समुदायमा प्रचलित मानिएको कौराहा पछिल्लो समय देशभरका आदीवासी जनजाती समुदायले अंगालेका छन् । ऋषिङको कोटदरबारबाट करिब अढाई सय बर्ष अगाडी कौराहको सुरुवात भएको जानकारहरु बताउँछन् । कानराहबाट अप्रभंस भई कौराहा भयो । अझै कतिपयले कौरा, कौडा पनि भन्छन् ।
पछिल्लो पुस्ताले कौराहाको मौलिकतालाई भुल्दै गएपछि मौलिक कौराहा संरक्षण समिति नेपालले तीन बर्ष अगाडी ऋषिङकै माझकोट र आर्थथोकमा छायांकन गरी डकुमेन्ट्री निर्माण गरेको छ । देश विदेशमा डकुमेन्ट्रीको च्यारिटी शो मार्फत प्रर्दशन गरिएको छ । विदेशमा भएका नेपालीलाई समेत डकुमेन्ट्रीले कौराहाबारे जानकार बनाएको छ ।

‘श्रव्य र दृश्य कैद गरेर संरक्षण स्वरुप डकुमेन्ट्री बनाएका हौँ’, समिति अध्यक्ष हर्क आले बताउँछन् । उनका अनुसार समितिले संरक्षणका निम्ति पाँच बर्ष अगाडी विज्ञ भेला गराएर तनहुँको दमौलीमा राष्ट्रिय कौराहा सम्मेलन गरेको थियो । जिल्ला जिल्लामा कौराहा नृत्य गर्ने समुह गठन गरेको आलेले जानकारी दिए । सञ्चारको पनि कौराहा संरक्षणमा भुमिका रहने भएकाले कौराहाबारे प्रचारप्रसार गर्ने पत्रकारलाई बर्षेनि कौराहा पत्रकारिता पुरस्कारद्वारा सम्मान गर्दै आईरहेको समितिले जनाएको छ ।

तनहुँमा कौराहा संरक्षण गर्न मगर समुदायसंग सम्बन्धित संघसंस्थाले बेलाबखतमा कौराहा प्रतियोगिता आयोजना गर्ने गरेका थिए।पछिल्लो दुई बर्ष यता भने कोरोना संक्रमणले रोकिदिएको छ ।
कौराहाको मौलिकता जोगाउनलाई उद्गमथलो मानिएको ऋषिङ गाउँपालिकाले पनि चासो लिएको उपाध्यक्ष गिनुमाया थापाको दाबी छ । उनी भन्छिन्, ‘मोबाईल, टिभी, साउण्ड सिस्टम आएपछि आफैँले गाउन र बजाउनलाई बिर्सिए जस्तो छ । देखासिकी बढ्यो । अबको पुस्तलाई कौराहाबारे सिकाउन जरुरी छ ।’ चालु आर्थिक बर्षमा गाउँपालिकाले संस्कृती संरक्षणमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिईन् । यो बजेटले कौराहा संरक्षणलाई प्राथमिकता दिने उनको भनाई छ ।

डकुमेन्ट्री कौराहा निर्माणमा पनि एक लाख रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । युवा पुस्ताको आकर्षण बढाउन गाउँपालिकाले वडास्तरीय कौराहा प्रतियोगिता समेत गरेको उपाध्यक्ष थापाले बताईन् । युवा क्लबसंग पनि सहकार्य गरेको थापाले उल्लेख गरिन् ।
कौराहाको मौलिकतालाई संरक्षण गरेको आगामी पुस्तालाई जोगाउन युवापुस्था अग्रसर हुन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->