स्याङ्जा/ ‘रेबिज तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ वालिङमा निशुल्क रेबिज विरुद्धको सप्ताहब्यापी कार्यक्रम शुरु गरिएको छ ।
वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा अभियान अगाडी बढाइएको हो ।
रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको हो ।
सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले रेबिज विरुद्धको अभियानमा सबै एक भएर अगाडि बढ्न आग्रह गरे ।
उनले घरभित्रका वा बाहिरका कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाई सुरक्षित रहनकालागि अनुरोधसमेत गरे ।
रेबिज रोग लागिसकेपछि यसको उपचार तथा बिरामी बच्ने संभावना निक्कै कम हुने भएकाले रोग लाग्नै नदिनका लागि पूर्व सावधानीस्वरुप घरमा पालिएका वा सामुदायिक कुकुर बिरालोलाई निशुल्क रेबिजविरुद्धको खोप लगाईएको नगर प्रमुख खाँणले बताए ।
रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन सकेको खण्डमा यसबाट बच्न सकिने भएकाले रोग लाग्ने अवस्था आउन नदिनका लागि नगरपालिकाले निशुल्क खोपको ब्यवस्था गरेको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए ।
एक सातासम्म सञ्चालन हुने भएकाले एकसातासम्म कुकुर बिरालोलाई निशुल्क खोप लगाउन सकिने छ ।




