हुन पनि ढोर भू–स्वर्ग हो । प्राकृतिक, जैविक, सांस्कृतिक एवं भौगोलिक हिसाबले धनी । तर अझै विकास, परिवर्तन र समृद्धिका हिसाबले ढोर धेरै पछि नै छ ।
ढोरपाटन साइकल यात्राको छैटौं दिन । ढोरपाटन पुग्नु अघिको अन्तिम उकालो थियो त्यो । अर्थात फलेगरा मास्तिरको घुम्ती नै घुम्तीको बाटो । म कहिले साइकल ठेल्दै थिए त कहिल्यै धकेल्दै । घाम डाँडापारि ढल्किदै थियो । चिसो नमज्जाले महसुस भइरहेको थियो शरीरमा । साँझसम्म ढोरपाटन पुगिने अठोट थियो मनमा ।
बेतोडले घोडा कुदाएर आइरहेका थिए दुई बालकहरु । घोडाको गति नियाल्दा त यस्तो लाग्थ्यो, कुनै घोडा कुदाउन प्रारङ्गत मानिसहरु थिए दुवै । मलाई छाडेर धेरै तल पुगिसकेका थिए उनीहरु । नजिकबाट चियाउँदा पो मेसो मिल्यो, उनीहरु त भर्खरका बालकहरु नै पो रहेछन् । मलाई उनीहरुसँग बात मार्न मन लाग्यो । नभन्दै उनीहरुले आफ्ना घोडाहरु रोके । अनि मतिर फर्काएर ल्याए । अनि सुरु भयो हाम्रो भलाकुसारी ।
खैरो रंगको पाइन्ट र रातो ज्याकेट लगाएका हुन्, आशिष सिल्पाली । उनी उमेरले भर्खर ११ लागे । उनको घोडाको नाम चाहिँ कमरा । उनलाई सम्झना भएदेखि नै उनले घोडा चलाएका हुन् । सालले त २/३ वर्ष नै भएछ । ‘सानैदेखि बाले नै सिकाउनु भएको हो घोडा चलाउन,’ उनले थपे, ‘आमाको बुइँ त्यति चढिएन होला जति घोडा चढियो । घरमै घोडा भएपछि म सानैदेखि यहीँ कमरासँगै खेल्थे । बजार जाँदा आउदा पनि घोडामै चढेर आवातजावात गरिन्छ । वनपाखा, खेत बारी जाँदा त हामी सधैं साथमै रहन्छौं ।’
उनलाई घोडा नियन्त्रणमा लिन आउँछ । घोडालाई कसरी अगाडि दौडाउने, दायाँ बाया लगाउने र फर्काउने, उनले सब सिकिसकेका छन् । जीवनले जीवन सिकाउँछ भनेझैं उनले हर सीप सिक्दै छन् । यी सब उनले कुनै कक्षाकोठामा शिक्षकशिक्षिकाबाट सिकेका हैनन् । न त कुनै किताबका ठेली रटेर जानेका हुन् । पढेर भन्दा परेर जानिन्छ, उनले अथ्र्याएका छन् । उनलाई ढोरको फाँटले धेरथोर साहस भरिदिएको छ ।
साथमा अर्का थिए सन्जोक सिल्पाली । उमेरले भने उनी १२ लागे । आशिषका काकाका छोरा हुन् उनी । नाताले उनी दाई हुन् तर दुवै सँगै पढ्छन् एउटै कक्षामा, सुकुर्दुङ विद्यालयमा । अर्थात पाँच कक्षामा । सँगै विद्यालय जान्छन्, अनि सँगै साँझ घर फर्कन्छन् । उनी पनि आशिष भन्दा कम छैनन् घोडा चलाउन । उनले त झन् ६ वर्षदेखि नै सिकेका रे, घोडा चढ्न । आशिषभन्दा पनि पहिले ।
दुवै ढोरबाट सुप्राङ झर्दै थिए । दुवैका घरहरु ढोरपाटन पाँखाथरमा छन् । अनि उनीहरुका घरहरु तल औंलोमा समेत छन् । अर्थात सुप्राङमा । वर्खा अनि गर्मी यामभरि उनीहरु ढोरमै बस्छन् । ढोरमै खेतीपाती गर्छन् परिवारहरु । पशुपालन गर्छन् । जाडो यामको सुरुवातसँगै उनीहरु सुप्राङ झर्छन् जाडो छल्न ।
कार्तिक लागेपछि ढोरमा औधी जाडो हुन्छ । हिउँ परेपछि हप्तौं अनि महिनौ रहिरहन्छ । मानव जनजीवन कष्टकर बन्छ । त्यसैले यहाँका स्थानीयहरु प्राय औलो झर्छन् । कोही सुप्राङ त कोही बोबाङ गाउँमा । सबैका प्राय दुई ठाउँमा घरहरु हुन्छन् ।
यी दुई दाजुभाई तल सुप्राङमा परिवारसँगै थिए । बिहानै १० बजे खाना खाइवरी तलबाट ढोर उक्लेका रहेछन् । दुई घण्टामा पाखाथर पुगेका थिए । गाउँबाट हजुर बा र आमाका लत्ताकपडा र सरसामान घोडामा ल्याएर सुप्राङ झर्दै थिए । हजुर बा र आमा भने भोलि मात्र सुप्राङ झर्ने योजनामा रहेछन् । अर्थात औलो झर्दै रहेछन् । भन्दै थिए, उनीहरु साँझसम्म तल सुप्राङ पुग्नेछन् घोडासँगै ।
दुवैको साहस र कौशलतालाई मैले खुलेरै प्रशंसा गरे । घोडा चलाउनु र सामान ओसार्नु त हाम्रो दैनिकी नै हो, हौसिदै सन्जोकले थपेका थिए, ‘घोडामा बजारबाट सामान किनीवरी गाउँसम्म हामी आफैं ल्याउन सक्छौं । जंगलबाट घाँस, दाउरा यसैमा राखेर घर पु¥याउनु सामान्य हो । हामीलाई घोडासँग खेल्नु, रमाउनु र काम गर्नु त दैनिकी नै हो ।’
आशिष र सन्जोक ढोर यात्रामा भेटिएका केही साहसका उदाहरणहरु मात्र हुन् । ढोर पुग्नु अघि लागेको थियो, ढोरका फाँटमा सुन्दर लोभलाग्दा रंगीचंगी फूलहरु मात्र फूल्छन् तर म गलत रहेछु । यहाँ त सँगै फुल्दा रहेछन् थुप्रै आशा र साहसका फूलहरु । संघर्षका कथाहरु ।
पढेरभन्दा परेर जानिन्छ, उहिलेका बुढापाकाले भन्थे । मानिसलाई समय, परिस्थिति र बाध्यताले धेरै थोक सिकाउँछ, व्यवहारिक बनाउँछ । परिपक्कता बनाउँछ । किताबले बस् कोरा ज्ञान न दिने हो मानिसलाई । आशिष र सन्जोक सानै उमेरमा बाध्यताले खारिएका केही जीवन्त उदाहरणहरु मात्र थिए ।
ढोर यात्राको दुई हप्ता म यस्तै फरकफरक पात्रहरुसँग भेट्थे । अनि सुन्थें उनीहरुका फरकफरक प्रेरणाका कथाहरु । आशिष र सन्चोकलाई भेट्नुु अघिल्लो दिन थियो त्यो । अर्थात ढोर यात्राको पाचौं दिन । म साइखोला गाउँबाट बोबाङ उक्लदै थिए । सौभाग्य पनि कस्तो, त्यहीँ दिन ढोरपाटनका स्यालपाखे, नबी र पाखाथरका धेरै स्थानीयहरु बोबाङ जाडो छल्न झर्दै थिए ।
बोबाङ मास्तिर बाटैमा भेट भएका थिए तीन दाजुभाई । सन्दिप, सुजन र सुजल । सन्दिप जेठा थिए सबैभन्दा तर उमेर मात्र ११ लागेका । उनले काखमा बाख्राका पाठा च्यापेका थिए । बाख्राका पाठा र भाइहरुलाई सकुशल बोबाङ पु¥याउनु पर्ने उनको कर्तव्य थियो । उनका बा आमा पछिपछि भैंसी, गाइवस्तु धपाउँदै ल्याउदै थिए ।
उनीहरु बिहानै ९ बजे घरबाट खाना खाइवरी हिँडेका । ठाउँठाउँमा थकाइ मार्दै, बिसाउँदै ३ बजे बोबाङ माथि उकालोमा आइपुगेका थिए । त्यहाँबाट करिब १ घण्टामा त उनीहरु बोबाङमा पुग्थे । अनि उनीहरु त्यहीँको अबको करिब पाँच महिनाको बसाइँ यहीँ हुनेछ । जाडो याम निख्रिएपछि मात्र उनीहरु फेरि ढोरपाटन उक्लनेछन् ।
दुई हप्ताको ढोर यात्रामा धेरथोर ढोरको वास्तविकता बुझ्ने जमर्को गरे । बाग्लुङ जिल्लामै रहेर पनि ढोरका धेरै अंशहरु अझै विकट छन् । वर्षौभरि यातायातले जोडिदैन् ढोरपाटन । स्वास्थ्य, शिक्षा र सञ्चारको अवस्था अझै कमजोर छ यहाँ । यसको असर प्रत्यक्ष वा अप्रत्यक्ष बालबालिकामा पर्ने गर्दछ ।
प्रायः ढोरबासीहरु तीनपटक बसाइँसराइ छन् । वर्खामा माथि लेखमा गोठ सार्छन्, वर्खा सिद्धिएपछि ढोर फाँट आइपुग्छन् अनि जाडो पलाउनु अगावै तल औंलो झर्छन् । अनि फेरि त्यहीँ चक्र दोहो¥याउँछन् । परिवारसँगै बालबालिका पनि माथि तल भइरहन्छन् । यसले बालबालिकाको शिक्षा, स्वास्थ्य र सिंगो भविष्यमा चुनौती थपिरहेको छ । ढोरका बालबालिकाहरुले प्राय पढाइलाई निरन्तरता दिन पाएका छैनन् किनकि बाध्यता छ उनीहरुको, परिवारसँगै माथि लेक अनि तल औंलो झर्न । गाईवस्तु, भाइबहिनी हेर्ने जिम्मेवारसँगै थपिएका छन् । यसले उनीहरुले सानैमा जिम्मेवार हुन बाध्य पारेका छन् ।
धेरैको एउटै गुनासो छ, ढोर धेरै पिछडिएको छ । ढोरबासीकै आँखाबाट ढोर नियाल्दा त्यो पिडा म महसुस गर्न सक्छु । म त्यो वास्वविकता धेरथोर बुझ्ने सामाथ्र्य राख्छु । जति प्रगति र विकासका लहरहरु छाउनु पर्ने हो, त्यो ढोरमा देखिएन । ८० वर्षीय लिला साँघु भट्टचन विगतमा फर्किन्छिन्, ‘पहिला ढोरमा एकदमै विकास छाएको थियो । जब १८ सालमा तिब्बती शरणार्थीहरु नेपाल आए, त्यसपछि यहाँ स्वीस सरकार र विदेशी दाताहरुले धेरै विकासहरु ल्याएका थिए । यहीँ गाउँ मास्तिर कार्पेट फ्याक्ट्री बनेको थियो । हामीले रोजगार पाएका थियौं । ढोरमै जहाज र हेलिकप्टर देख्न पाइयो । मिसन अस्पताल बनेपछि त हामीले निःशुल्क उपचार पाएका थियौं । हाम्रा छोरछोरीले राम्रै पढ्न पाएका थिए । तर समय उस्तै रहेन सधैं । समयसँगै ढोरको विकास खस्किदै गयो ।’
समयसँगै विकासका खुड्किलाहरु बढ्नुको सट्टा खस्किदै गए । कोही तिब्बतीहरु पोखरा, काठमाडौं पुगे त कोही विभिन्न देशहरुमा पुगे । पछि यहाँको मिसन अस्पताल समेत पाल्पा सारियो । कार्पेट कारखानाहरु बन्द भए । हुँदाहुँदै यहाँको एयरपोर्ट पनि राजनीतिका कारणले बन्द भयो । धेरै ढोरबासीहरु एउटै गुनासो पोख्छन्, राजनीतिले एयरपोर्ट बन्द भयो । बाग्लुङ बजारकै बलेवा एयरपोर्टलाई प्राथमिकता दिएर यहाँको बन्द गरियो, उनीहरु गुनासो पोख्छन् । बुर्तिबाङको बजार र त्यहाँको व्यापार सुक्छ भनेर यहाँभन्दा माथि विकास उक्लन दिन्न हुन्न भनेर धेरै विकासका कामहरु ढोरमा खुट्टा टेक्नै दिएनन्, धेरैले दुखेसो पोखे ।
हुन पनि ढोर भू–स्वर्ग हो । प्राकृतिक, जैविक, सांस्कृतिक एवं भौगोलिक सबै हिसावले धनी । तर अझै विकास, परिवर्तन र समृद्धिका हिसावले ढोर धेरै पछि नै छ । परम्परागत रुढीबाढी सोचदेखि विकासका पूर्वधारहरुसम्म परिवर्तन आउन जरुरत छ । पर्यटन ढोर विकासको लागि अचुक मन्त्र बन्न सक्छ । यसका लागि सबैको उतिकै भूमिका रहन्छ । सबै विकासका पूर्वधारहरु ढोरमै भइदिए, कति सहज हुँदो हो ती बालबालिकाहरुलाई । आशा छ, आशिष र सन्जोकजस्ता साहसी बालकहरु ढोरमै केही गर्न सकून् । ढोरमै सुन्दर भविष्य कोर्न सकून् । सकून् ढोरमै फुलिरहन ।





