बागलुङ – जिल्लाका १० पालिका मध्ये सूचना प्रविधिको क्षमतामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको छ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कनमा जिल्लामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको हो ।
मन्त्रालय अन्र्तगतको सूचना तथा प्रविधि शाखाले हालै सार्वजनिक गरहेको मूल्याङ्कन प्रतिवेदनका आधारमा काठेखोला गाउँपालिकाले जिल्लाको १० पालिका मध्ये सबैभन्दा बढी अंकभार प्राप्त गरेको छ ।
विद्यालयमा सिसि क्यामेरा, कार्यालय विद्युतिय हाजिरी, बैकल्पिक उर्जाका लागि सोलार, इन्टरनेट पुहँच, वेवसाईट ब्यवस्थापन जस्ता विषयमा आधारमा पालिकाले ६० अंकभार प्राप्त गरेको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णवहादुर कार्कीले जानकारी दिए ।
त्यसपछि निसीखोला गाउँपालिकाले ५२ अंक प्राप्त गरेर जिल्लामा दोस्रो उत्कृष्ट भएको छ । एक सय अंकभार रहेको बरेङले ४९, तमानखोला ४५, ढोरपाटन नगरपालिकाले ४१ अंक प्राप्त गरेको छ ।
जिल्लाका अन्य पाँच स्थानय तहलेभने विवरणनै उल्लेख नगरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । पालिकाको सूचना प्रविधि संगको सामिप्यता, सूचना प्रविधि सम्बन्धी संस्थागत क्षमता र सूचनासंग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अंक प्रदान गरेको थियो ।
नेपाल भरका ७५३ तहमध्ये ४३४ वटा स्थानीय तहले मात्र विवरण भरेका थिए । गण्डकी प्रदेशमा सिरानचोक गाउपालिकाले पनि ६० अंक प्राप्त गरेर उत्कृष्ठ भएको छ ।





