आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘खेलाडीको संरक्षण छैन’

‘खेलाडीको संरक्षण छैन’

एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबलका विजेता गण्डकीका ४ खेलाडी सम्मानित ।


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७८, मंगलबार

पोखरा/ बंगलादेशमा भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबलमा खेलमा जानुअघि कप्तान अरुणा शाहीलाई टिमलाई जसरी पनि जिताउनु थियो । यसका लागि उनीसँग दुई कारण र दबाब थियो, एक त डिफेन्डिङ च्याम्पियन र अर्को आफूहरुले गरेको मेहेनत ।

बंगलादेश राजधानी ढाका पुगिसकेपछि कप्तान शाहीले प्रतिद्वन्द्वी टिमहरुका खेल हेरिन् र त्यहीअनुसार रणनीति बनाइन् । प्रतियोगिताको प्रतिद्वन्द्वी कमजोर नभए पनि नेपाली राष्ट्रिय महिला टिमले सोचेजस्तै भयो । डिफेन्डिङ च्याम्पियन नेपालले दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि चुम्यो ।

‘जित्नकै लागि हामीले प्रतिस्पर्धीका खेल हे¥यौं । अघिल्लो पटकको च्याम्पियन भएकाले त्यसलाई कायम राख्नु पनि थियो,’ शाहीले सुनाइन्, ‘तर, खेलमा श्रीलंका र उज्जेकिस्तानसँगको खेल एकदम ‘टफ’ थियो । त्यै पनि जित्छौं भन्ने आत्मविश्वासचाहिँ थियो ।’

ढाकामा १३ गते सकिएको महिला भलिबलको फाइनलमा नेपालले उज्जेकिस्तानलाई ३–२ को सेटमा हराउँदै दोस्रो पटक उपाधि चुमेको थियो । उक्त खेलमा गण्डकीका मात्रै ४ जना खेलाडी सहभागी थिए । राष्ट्रिय टिमको कप्तान भूमिका निभाइरहेकी म्याग्दीकी शाहीसँगै तनहुँकी उषा भण्डारी, बागलुङकी साफिया पुन र नवलपुरकी शान्तिकुमारी थारु उक्त टिममा थिए ।

खेल जितेर गृह प्रदेश फर्किसकेपछि गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले उनीहरुसहित राष्ट्रिय भलिबल संघका कार्यवाहक अध्यक्ष तथा टिमका नेता यामबहादुर गुरुङलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँसहित सोमबार सम्मान गरेको छ ।

‘खेलाडीलाई संरक्षण हुनुप¥यो’

सम्मानपश्चात राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले नेपालमा खेलाडीको संरक्षण गर्ने परिपाटी नरहेको औंल्याइन् । उत्पादन भएका खेलाडीलाई समेत सरकारले संरक्षण गर्न नसक्दा राम्रा खेलाडीहरु पनि पलायन हुनुपरेको उनको गुनासो थियो ।

‘हो, प्रदेश सरकारले आज हामीलाई सम्मान ग¥यो । तर, यतिलेमात्रै पुग्दैन । अब सम्मानभन्दा पनि खेलाडीको संरक्षणमा बढी ध्यान दिनुपर्छ,’ कुनैबेला समग्र पश्चिम क्षेत्रको भलिबलमा गण्डकीले नै एकछत्र राज गरेको इतिहास सुनाउँदै शाहीले प्रश्न गरिन्, ‘अहिले पनि प्रदेशमा खेलाडी उत्पादन नहुने होइनन्, हुन्छन् । तर, खै त संरक्षण ?’

आफूसँग शक्ति हुँदाभरि खेलाडीले जिउज्यान लगाएर देशका लागि खेल्ने तर, शक्ति कमजोर हुँदै गएसँगै भविष्य नै अन्योल हुने खेलकर्मीको अवस्था रहेको शाहीले सुनाइन् । ‘पावर छउञ्जेल त हामी पनि खेल्छौं । तर, त्यसपछि के गर्ने ? यसमा सम्बन्धित स्थानीय तहले पनि अपनत्व लिनुपर्छ,’ उनले भनिन् ।

नयाँ खेलाडी उत्पादन गर्न स्कुलतहबाटै सरकारले लगानी बढाउनुपर्ने कप्तान शाहीको सुझाव छ । ‘विभिन्न क्लबहरुले आफ्नै लगानीमा खेलाडी उत्पादन गरिरहेका छन् । तर, बाध्यतावश फल दिनेबेला किन विभागीय टिममा लाग्नुपर्छ कि पलायन,’ उनले भनिन्, ‘म पनि प्रदेशमा महिला भलिबल टिम नभएर बाहिरकै क्बलबाट खेल्नु परिराखको छ ।’

शाहीले जति धेरै प्रतियोगिता भए त्यतिधेरै खेलाडीमा निखारता आउने सुनाइन् । ‘टुर्नामेन्टहरु धेरै भयो भने भएका खेलाडीको प्राक्टिसमात्रै हुँदैन । नयाँ खेलाडी उत्पादन गर्न पनि फाइदा पुग्छ,’ उनले भनिन्, ‘पहिलेपहिले भर्खर भलिबल खेल्न सुरु गर्दा वर्षमा मुस्किलले २ वटा खेल हुन्थ्यो । त्यतिबेला खेलाडी उत्पादन पनि कम हुन्थ्यो ।’

खेलमा बजेट छैन : प्रदेश सरकार

सम्मान कार्यक्रममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूहरुले खेलकुदमा उल्लेख्य काम गर्न खोजे पनि बजेट पर्याप्त नहुँदा रोकिनु परेको बताए । उनले गठबन्धन सरकारसँग धेरै कुरा मिलाउनुपर्दा गाह्रो भइरहेको सुनाए । उनले भने, ‘आज हामी सरकारमा छौं । तर, पहिलाको जस्तो सरकार होइन यो । ५ वटा दलसँगै धेरै कुरा मिलाउन पनि गाह्रो छ ।’

गण्डकी प्रदेश भलिबलका लागि राम्रो भए पनि सरकारले नै उपेक्षा गरिरहेको मन्त्री गुरुङको भनाइ थियो । ‘कमसेकम मुख्यमन्त्रीलाई खेल भनेको के हो भन्ने थाहा हुनुपर्छ । उहाँलाई यसमा ‘नलेज’ छैन हेर्नूस्,’ उनले भने, ‘खेलकुद विकास गर्न एउटा जिल्लालाई १ लाख आउँछ । त्यो पैसा जिल्लामा पठायो भने पनि केही हुने हैन, मैले गाली खाने हो । नपठाम् पनि मैले नै खायो भनिमाग्ने हो ।’
मन्त्री गुरुङले आफूहरुले खेलाडीहरु पलायन नहुनका लागि स्वरोजगार कार्यक्रमको योजना ल्याइरहेको सुनाए । ‘आजका खेलाडी प्रशिक्षक पनि हुन् । स्कुल खोलेर उनीहरु प्रशिक्षण दिन्छन्, त्यसमा प्रदेश सरकारले सहयोग गर्छ । स्वरोजगार भन्दैमा आलु रोप्न जानुपर्दैन,’ उनले भने । उनले स्वरोजगार कार्यक्रमका लागि २ करोड ५० लाख रुपैयाँ माग गरेको जानकारी दिए ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले सम्मानित ४ खेलाडीले प्रदेशको मात्रै नभएर देशकै नाम चिनाएको बताए । ‘नेपाल देश सानो भए पनि क्षमतावान युवाहरु छन् भन्ने देखाएको छ,’ उनले भने । उनले अन्य प्रदेशले पनि खेलाडीको सम्मान गरोस् भन्ने ध्येयले गण्डकीबाट सुरुआत गरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->