पोखरा/कोभिड व्यवस्थापनको लागि गठित गण्डकी निर्देशक समितिले आउँदो माघ ७ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिडविरुद्धको दुबै खोप लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको अध्यक्षतामा सोमबार बसेको बैठकले सार्वजनिक स्थानको परिभाषामा कार्यालय,होटल,रेष्टुरेन्ट,सिनेमा हल,रंगशाला,हवाई यात्रा,पार्क आदि किटान गरिएको छ ।
निर्णय यो भए पनि कार्यान्वयनको पाटो भने जटिल रहेको छ । किनकि,यो निर्णय लागू भएमा करिब आधाभन्दा बढी नागरिक घरमै थुनिएर बस्नुपर्ने अवस्था आउने भएको छ । गण्डकीमा हालसम्म ७७.९ प्रतिशतले दुबै मात्रा खोप लगाएका छन् भने पहिलो मात्रा लगाउनेहरुको संख्या ९१.८ प्रतिशत रहेको छ । अझ १२ देखि १७ वर्ष उमेर समूहको हकमा त यो संख्या झन धेरै छ । यो उमेर समूहकामध्ये हालसम्म गण्डकीमा ५९.३ प्रतिशतले मात्रै पहिलो मात्रा खोप पाएका छन् भने दोस्रो मात्रा पाउने मात्र १.१ प्रतिशतमात्रै रहेका छन् ।
गण्डकी स्वास्थ्य निर्देशनलायका अनुसार सबै खोप पाउनेमा कास्की, मनाङ र मुस्ताङका नागरिकहरु मात्रै छन् । त्यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका सबैले खोप पाएका छैनन् । यो उमेर समूहमा रहेका मनाङका २५ प्रतिशतले पहिलो खोप लगाएका छन् भने मुस्ताङको हकमा यो संख्या ५३ प्रतिशत छ । दुबै जिल्लामा दोस्रो डोज खोप दिइएको छैन । १८ वर्षमाथिको हकमा गोरखाका ९८ ले पहिलो र ७९ प्रतिशतले पूरा खोप पाएका छन् । म्याग्दी र लमजुङमा ८०,तनहुँमा ६३,नवलपुरमा ४७,स्याङ्जामा ९६,पर्वतमा ७६ र बागलुङमा ७४ प्रतिशत नागरिकलाई दुबै डोज खोप दिइएको छ । १२ देखि १७ वर्ष उमेर समूहकामध्ये कास्की र बागलुङका ३ प्रतिशत बालबालिकाले दुबै डोज खोप पाएका छन् ।
गण्डकीका स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले सबै नागरिकले खोप पाएकाले नै कार्डको प्रावधान ल्याइएको जिकिर गरेका छन् ।आफ्नै कार्यालयको तथ्याङ्कमा सबै नागरिकले खोप नपाएको उल्लेख भए पनि खोप सबैले पाएको उनको जिकिर छ ।
‘हामीले २०६८ सालको जनगणना अनुसारको खोपको मात्रा जिल्लामा पु¥याएका हौं’,उनले भने,‘ जिल्लामा गएर हामीले खोप लगाउनुहोस् भनेर मान्छे खोजेकोखोज्यै छौँ तर आउन्नन,त्यसैले सबैले खोप पाए भन्ने हो ।’ २०६८ सालको जनगणनामा समेटिएकामध्ये धेरै विदेश वा अर्को जिल्लामा बसेको उनले अनुमान लगाए । उनले सबै नागरिकले खोप लगाउन भन्नका लागि पनि यो प्रावधान ल्याइएको जिकिर गरे ।‘यहाँ खोप फिर्ता आएको छ,हामीसँग भेरोसेल,जोन्सन र आवश्यक पर्दा कोभिसिल्ड पनि छ,छुटेको भए लगाउनुहोस्’,उनले भने,‘ १२ देखि १७ उमेर समूहमा पनि बागलुङ र नवलपुरबाट त खोप फिर्ता आएको छ ।’ बुस्टर अर्थात् तेस्रो डोज खोपबारे भने निर्णय नभएको उनले बताए ।
कोभिड व्यवस्थापनको गण्डकी समितिले सीमा नाकाहरुमा चेकजाँच कडा बनाउने, आइसोलेसन सेन्टरहरु पुनः संचालनमा ल्याउने,सार्वजनिक ठाउँमा निःशुल्क एन्टीजेन जाँच गर्ने,सबै प्रकारका मेला महोत्सवहरु बन्द गराउने र गर्नैपर्ने कार्यक्रमको हकमा स्मार्ट लकडाउन गर्नेलगायतका निर्णयहरु पनि गरेको छ ।





