बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मानसिक रोग, कारण र समाधान

मानसिक रोग, कारण र समाधान


  • कृष्ण कुमार सैजु
  • माघ ७ २०७८, शुक्रबार

गाउँका सोझासाझाहरूलाई त अर्कै कुरा भनेर पनि औषधि खुवाउन सकिन्छ तर, सहरमा आएर शिक्षा पाएकाहरू भने डिप्रेसन वा एन्जाइटी भन्ने बित्तिकै तर्सिन्छन् । तर तर्सिनु पर्ने कुनै कारण छैन ।

मानसिक रोगको समस्याले अहिले समाजलाई निकै नै सताईरहेको छ । विकराल नै त नभनौँ, तर यसको असर भने व्यापक छ । मानसिक रोग भन्ने बित्तिकै मानिसहरू झस्किने गर्छन् । मानसिक रोगको आम बुझाई भनेको ‘दिमाग खुस्किनु’ हो भन्ने रहेको छ । सहरबजारमा बस्ने शिक्षित, अर्धशिक्षित समेत यस्तै सोच्छन् । तर दिमाग खुस्किने वा दिमागी असन्तुलन आउने भनेको कडा किसिमको मानसिक रोगमा मात्रै हुन्छ । यसमा मात्रै माथि भनिएझैँ ‘दिमाग खुस्किने’ हो । यस्तो मानसिक समस्या थोरै मानिसमा हुन्छ (करिब १%) । अधिकांश मानिसहरूलाई एन्जाइटी, डिप्रेसन जस्ता समस्याहरूले घेरेको हुन्छ । तर यी रोगहरूले दिमागी असन्तुलन ल्याएका भने हुँदैनन् । मानसिक रोगकै वर्गमा राखिएता पनि यी रोगहरूले दिमागी संरचना वा कार्यप्रणालीमा कुनै असर वा असन्तुलन ल्याएको हुँदैन । त्यसैले आफूलाई डिप्रेसन वा एन्जाइजी भएको कुरा लुकाएर राख्नु जरुरी पनि छैन ।
यसको अर्को एउटा अहम पक्ष पनि छ । आम मानिसहरू आफूमा मानसिक रोग भएको स्वीकार गर्दैनन् । लक्षणहरू सोह्रै आना डिप्रेसनसँग मिल्दाजुल्दा भएपनि, डिप्रेसन भएको स्वीकार गर्दैनन् । विचार असन्तुलित हुँदा, असामान्य विचार आउँदा, धेरै निराशा हुँदा, शंका लाग्दा, आदि जस्ता लक्षणमा चिकित्सकको परामर्श लिनु अत्यन्त जरुरी हुन्छ । त्यस्तै अनेक किसिमका परीक्षण गरिसकेपछि पनि शारीरिक विकारहरू केही नदेखिनु मानसिक समस्या हो भनी बुझ्नु आवस्यक छ ।
एन्जाइटी, डिप्रेसन, मुड स्विङ, आदि क्लिनिकल समस्या (औषधिमूलो गरेर निको पार्न सकिने) समस्या हुन् भनेर आम मानिसलाई बुझाउनु एउटा ठूलो चुनौतीको रूपमा रहेको छ । यसै सन्दर्भमा केही प्रश्नउत्तर ।
शारिरीक स्वास्थ्य उत्तम भएको जान्नका लागि केही मापदण्डहरूलाई हेरिएझैँ मानसिक स्वास्थ्य राम्रो भएको थाहा पाउन हामीले के–के हेर्नुपर्ला ?
यसको पहिचान सजिलै गर्न सकिन्छ । यदि कुनै व्यक्तिलाई खानेकुरा मिठो हुन्छ, राम्रो निद्रा लाग्छ, बिहान उठ्दा तरोताजा भएर उठिन्छ, घरको काम वा कार्यालयको काम जोश र उत्साहका साथ गर्न सकिन्छ, साथीभाइ वा घरपरिवारका सदस्यहरूसँग कुरा गर्दा रमाइलो लाग्छ, फूर्ति कायम रहन्छ भने यसले राम्रो मानसिक स्वास्थ्यको संकेत गर्छ । यति मात्र होइन यी लक्ष्यणहरू शारीरिक स्वास्थ्य पनिराम्रो भएको संकेत हुन् । मानसिक स्वास्थ्य पनि शरीरको स्वास्थ्यसँग जोडिएको हुनाले दुवैको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।
हामीलाई दिमाग टाउकामा छ र समस्या पनि त्यहीँ उत्पन्न हुन्छ जस्तै लाग्छ । यो सही भएता पनि अचेल विज्ञहरूले दिमाग तीन ठाउँमाहुन्छ भन्न थालिसकेका छन्– टाउको (सबैभन्दा बढी स्नायुकोषहरू भएको ठाउँ), मुटु (प्रचुर स्नायुकोषहरू भएको ठाउँ) र आन्द्राहरू । जहाँ स्नायु कोषहरूको उपस्थिति हुने भएकोले यसो भनिएको हो । सोच्ने काम मस्तिष्कले गरेतापनि, प्रभाव त मुटु र अन्य भागमा नै पर्ने हो । त्यसैले कुनै रोगलाई वा समस्यालाई मानसिक मात्र भनेर हेर्नुभन्दा समग्रमा हेर्नु पर्ने हुन्छ । मानसिक रोगका लक्षणहरू वा मानसिक रोगका कारण शरीरमा देखिने लक्षणहरू के–के होलान् ?
मानसिक रोगहरू धेरै छन् र ती सबै रोगका भिन्न–भिन्न लक्षणहरू छन् । मानसिक रोगलाई वर्गीकरण गरेर तिनीहरूका लक्षणहरू हेर्न सकिन्छ ? पक्कै पनि । कडा किसिमको मानसिक रोगलाई तीन वर्गमा राख्न सकिन्छ । यी तीन हुन्ः
–एक्युट साइकोसिस (अल्पकालीन)
–क्रोनिक साइकोसिस (दीर्घकालीन)
–बाइपोलर (म्यानिक र डिप्रेसिभ)
साइकोसिसमा व्यवहारमा परिवर्तन आउँछ– पहिला नरिसाउने रिसाउने, पहिला झगडा नगर्ने झगडा गर्ने, पहिला सुत्ने पछि नसुत्ने, गरिरहेको काम गर्न छाड्ने, शंका नगर्नेले शंका गर्न सुरु गर्ने, कुटपिट नगर्नेले कुटपिट गर्ने, यसरी व्यवहारमा थुप्रै परिवर्तन आएका हुन्छन् । ती परिवर्तनहरू अस्वाभाविक र स्वीकार गर्न नसकिने किसिमका हुन्छन् ।
उदाहरणका लागि एक जना मास्टर्स पढेको मानिसलाई साइकोसिस भयो । उनी कोठाबाट बाहिरै निस्कँदैनथे । खाना कोठामै दिनुपर्ने, दारीकपाल काट्न नमान्ने; नुहाउन, कपडा फेर्न नमान्ने; एकै ठाउँमा बसिरहनु पर्ने । बाहिर निस्कनु हुँदैन भन्ने, बाहिर निस्कँदा भवितव्य हुन्छ भनेर भित्रै बसिरहने । केही बल प्रयोग गर्दा पनि रिसाएर कुटपिट गरिहाल्ने ।
अर्को उदाहरण, कसै–कसैलाई चाहिँ यस्तो अनुभव हुन्छ– मलाई कसैले पीछा गरिरहेका छन्, मार्न लागिरहेका छन्, सिसि क्यामेराबाट मेरो जासुसी गरिराखेका छन् । मेरो परिवारलाई, छोराछोरीलाई खत्तम पार्न खोजेका छन्, मेरो सम्पत्ति लुट्न खोजेका छन् आदि । यस्तो मानेर एकदमै सशंकित हुने, हरेक मानिसमाथि शंका गर्ने, खानेकुरामा विष पो हालेको छ कि भनेर अरूले खाएपछि मात्रै खाने वा आफैँ पकाएर मात्र खाने, आफ्नै श्रीमान÷श्रीमतीलाई पनि यो अर्कै कोही हो, मैले बिहे गरेको हुँदै होइन भन्ने आदि पनि साइकोसिसका लक्षण हुन् ।
साइकोसिसमा पदार्थजन्य साइकोसिस पनि हुन्छ जस्तै अल्कोहल (मदिरा) साइकोसिस, ड्रग साइकोसिस, क्यानाबिस (गाँजा) साइकोसिस आदि ।
साइकोसिस भएका मानिसहरूको बोली पनि सामान्य हुँदैन । कतिपय स्थितिमा बुझ्न सकिँदैन । यस्तो रोग लामो समय रह्यो भने त्यो क्रोनिक भयो र थोरै समयमा गयो भने एक्युट । कहिलेकाहीँ साइकोसिस औषधि नै नगरी, अन्य उपायबाट पनि निको हुने सम्भावना हुन्छ ।
बाइपोलर– यसमा पहिले म्यानिया हुन्छ जसमा आफूलाई धेरै ठूलो ठान्ने, घमण्ड गर्ने, मसँग धेरै धनसम्पत्ति छ भन्ने, शक्तिशाली छु, मजे पनि गर्न सक्छु, मसँग देवी देउताको शक्ति छ आदि कुरा भन्ने र त्यसपछि डिप्रेसनमा जाने र डिप्रेसनका लक्षणहरू देखाउने ।
(तीनै किसिमको कडा मानसिक समस्या– एक्युट साइकोसिस, क्रोनिक साइकोसिस र बाइपोलरमा आत्महत्या गर्ने जोखिम बढी हुन्छ । औषधि छोड्दा पुन रोग बल्झिने पनि हुन्छ ।)
डिप्रेसनको समस्या देखिनुमा कारणहरू के–के हुन् जस्तो लाग्छ तपाईँलाई ?
एउटा बाइपोलरमा डिप्रेसनको समस्या देखिन्छ । अर्को चाहिँ बाइपोलर नभैकन पनि डिप्रेसन हुन सक्छ । बाइपोलर चाहिँ म्यानिया भैसकेपछि हुने हो वा म्यानिया र डिप्रेसन एकअर्कापछि आउने हो र यो महिला र पुरुष दुवैमा बराबर जस्तो हुन्छ । तर अन्य किसिमको डिप्रेसन चाहिँ पुरुषमा भन्दा महिलामा बढी देखिएको छ ।
डिप्रेसन गराउने कारणहरू धेरै हुन सक्छन्–
क) शारीरिक रोगका कारणले– जस्तैः मधुमेह, हृदय रोग, थाइराइड, बाथ, क्यान्सर, एचआइभी लागेकाहरूलाई डिप्रेसन हुनसक्छ । अन्य धेरै किसिमका शारीरिक रोगका कारण पनि डिप्रेसन हुनसक्छ ।
ख) भिटामिनको कमी– भिटामिन बि १२, भिटामिन डि आदिको कमीले डिप्रेसन हुन सक्छ ।
ग) सामाजिक कारण– घरको समस्या, वैवाहिक सम्बन्ध, आर्थिक अवस्था, सम्बन्ध विच्छेद, घरेलु हिंसा, सामाजिक दुव्र्यवहार आदि कारणहरूले पनि डिप्रेसन हुन्छ ।
घ) रासायनिक– जैविक रूपमा मस्तिष्क र शरीरका रसायनहरूले राम्रो काम नगर्दा पनि डिप्रेसन हुनसक्छ ।
ङ) मस्तिष्कमा इन्फ्लामेसन (सुन्निने) वा अन्य विकार भएर पनि डिप्रेसन हुनसक्छ ।
च) परिवारमा कसैलाई डिप्रेसन भएको छ भने वंशानुगत कारणले पनि डिप्रेसन हुनसक्छ ।
करिब दस प्रतिशत जनसंख्यामा एन्जाइटी (चिन्ता रोग) र डिप्रेसन देखिएको छ । दुवैलाई सँगसँगै व्यवस्थित गर्नुपर्ने हुन्छ ।
मानसिक रोगीलाई तपाईँ मानसिक रोगी हो भनेर सम्झाउन एकदमै कठिन पर्छ । कसो गर्दा उनीहरूलाई सम्झाउन सकिएला ?
यो अहिले हामीले भोगीरहेको समस्या पनि हो। ठूलो समस्या चाहिँ मानिसहरूले मानसिक रोग भन्ने बित्तिकै दिमाग बिग्रेको हो भन्ने ठान्छन् र समस्याको जरो नै त्यहीँ छ ।
कडा किसिमको मानसिक रोग (साइकोसिस, बाइपोलर) करिब १ प्रतिशतमा मात्रै छ । यिनीहरूमा चाहिँ मानसिक असन्तुलन हुन्छ अर्थात् मानिसहरूको भाषामा दिमाग बिग्रिन्छ । तर अधिकांश मानिसहरू पीडित भएको चाहिँ डिप्रेसन र एन्जाइटीले हो । कडा मानसिक रोगमा दिमागमा समस्या हुन्छ तर डिप्रेसनमा वा एन्जाइटीमा दिमागमा समस्या हुँदैन, दिमाग बिग्रेको पनि हुँदैन, असन्तुलन पनि हुँदैन । हाम्रो समस्या भनेको चाहिँ यही कुरा मानिसहरूलाई बुझाउन नसक्नु हो ।
त्यस्तै फोबियालाई पनि मानिसहरू मानसिक रोग ठान्छन् । कुनै वस्तु, जनावर वा किरा फट्याङ्ग्रा, उचाइ आदिसँग डराउने लक्षणलाई फोबिया भनिन्छ र यसमा दिमाग असन्तुलन भएको हुँदैन । यो अप्राकृतिक किसिमको डर मात्र हो । यो मानसिक समस्याको पाटो हो तर मानसिक असन्तुलन नै चाहिँ पटक्कै होइन । अहिले आएर एन्जाइटी, डिप्रेसन र फोबियालाई मानसिक रोग होइन भनेर पढेलेखेकालाई सम्झाउन चाहिँ गाह्रो भएको छ । उनीहरू पर्याप्त पढ्दैनन् पनि र खोजीनिती पनि गर्दैनन् । (अधुरो क्षिक्षा खतरनाक हुन्छ) भएको जस्तै छ । गाउँका सोझासाझाहरूलाई त अर्कै कुरा भनेर पनि औषधि खुवाउन सकिन्छ तर, सहरमा आएर शिक्षा पाएकाहरू भने डिप्रेसन वा एन्जाइटी भन्ने बित्तिकै तर्सिन्छन् । तर तर्सिनु पर्ने कुनै कारण छैन ।
नियमित औषधि खानु पर्ने मानसिक रोगहरूमा औषधि खान बिर्सियो भने त्यसले नकारात्मक असर पार्छ कि पार्दैन ? वा औषधि खान छोड्यो भने कसो हुन्छ?
एउटा मात्रा छुट्यो भनेदेखि खराब असर गर्दैन । यो कुरामा चाहिँ, औषधि दिँदा डाक्टरले पनि सम्झाउनु पर्छ । कुन औषधि छोड्न हुने वा नहुने हो स्पष्ट भन्नुपर्छ । छोडेमा के परिणाम हुन्छ त्यो कुरा पनि भन्नुपर्छ ।
छारे रोगलाई गाउँघरमा मानसिक रोग भन्ने गर्छन् । तर त्यो मानसिक रोग नभएर न्युरोलोजिकल डिसअर्डर हो । यसमा एउटा पनि औषधि छोड्नु हुँदैन । नत्र रोग तुरुन्तै (औषधि छोडेको दोस्रो दिनमै) बल्झिन सक्छ ।
यस्तै दीर्घकालीन (क्रोनिक) मानसिक रोगको औषधि खाएका मानिसहरूले नियमित खानु पर्छ । मधुमेह, रक्तचाप, बाथ आदि भएका मानिसहरूले नियमित औषधि खाएजस्तै यी रोगहरूमा पनि औषधि खानुपर्छ ।
सामान्य मानसिक समस्यामा भने औषधि खाइरहनु पनि पर्दैन । काउन्सेलिङ, थेरापी आदिद्वारा निको पार्न पनि सकिन्छ । कग्निटिभबिहेभियर थेरापी जस्ता विभिन्न मनोवैज्ञानिक थेरापीहरू प्रयोग गर्न सकिन्छ । त्यस्तै कहिलेकाहीँ हुने प्यानिक एन्जाइटीमा औषधि ख्वाएर निको भएपछि फेरि खान पर्दैन ।
डिप्रेसनको औषधि खाएर निको भैसकेपछि छोड्दा केही फरक नपर्ला तर डिप्रेसनको कारण पहिलेकै जस्तो छ भने चाहिँ औषधि खाइरहनु र डिप्रेसनको कारण हटाउनु पर्ने हुन्छ । त्यसैले के कारणले डिप्रेसन भएको हो पत्ता लगाउनु जरुरी छ । कारण पत्ता लागेपछि समस्या समाधान गर्नुपर्ने हुन्छ । तर यति वंशानुगत कारणले डिप्रेसन भएको छ भने सधैँ औषधि खानुपर्ने हुन्छ ।
शरीरमा हर्मोनहरू वा रसायनहरूको असन्तुलन भयो भने डिप्रेसन हुन्छ कि हुँदैन ?
अनुसन्धानहरूले मस्तिष्कमा विभिन्न रसायनहरू हुन्छन् भन्ने देखाएका छन् । जस्तैः सेराटोनिन, डोपामिन आदि । यी रसायनहरूको असन्तुलन हुँदा डिप्रेसन हुन्छ भन्ने अनुसन्धानले देखाएका छन् । अर्को कुरा मानसिक रोगका धेरैजसो औषधिहरू पनि यिनै रसायनहरूलाई सन्तुलित पार्ने किसिमका औषधिहरू छन् । त्यसैले धेरै हदसम्म यो कुरा सही हो ।
मानसिक रोगका औषधिका पाश्र्व प्रभावहरू (साइड इफेक्टहरू) हुन्छन् कि हुँदैनन् ?
अवस्य हुन्छन् । अरू रोगका औषधिहरूले गर्ने पाश्र्व प्रभाव जस्तै मानसिक रोगका पाश्र्व प्रभाव पनि हुन्छन् । साइड इफेक्ट हुँदा डाक्टरलाई देखाउनु जरुरी हुन्छ । कतिपय स्थितिमा औषधि बन्द गर्नुपर्ने वा बदल्नु पर्ने हुनसक्छ । कतिपयमा अर्को औषधि दिएर साइड इफेक्ट कम गराउनुपर्ने हुन्छ ।
कडा मानसिक रोगका औषधिले कुनैले धेरै निद्रा लगाउने हुन्छन्, कुनैले कोलेस्टेरोल बढाउने हुन्छ, कुनैले मोटोपन बढाउने, कुनैले यौन समस्या निम्त्याउने, कुनैले खाना मन नलाग्ने, कुनैले मुख सुकाउने हुन्छ । यसमा सबैभन्दा राम्रो चाहिँ आफ्नो उपचार गराउने चिकित्सकसँग सल्लाह गरेर औषधि प्रयोग गर्दा राम्रो हुन्छ ।
मानसिक रोग कुनै वर्ग वा पेसा विशेषका मानिसहरूलाई मात्र लाग्छ कि सबैलाई लाग्ने सम्भावना हुन्छ ?
शारीरिक रोगहरू लाग्दैनन् भनेर निस्चित गर्न नसकिए जस्तै मानसिक रोगहरू पनि लाग्दैनन् वा मानसिक रोगको जोखिम हुँदैन भन्न सकिँदैन । तर शारीरिक रूपमा स्वस्थ मान्छेलाई रोग लाग्ने सम्भावना कम भए जस्तै स्वस्थ व्यक्तिलाई मानसिक रोग लाग्ने सम्भावना पनि कम हुन्छ । धेरै रोगहरू जीवन शैलीमै भर पर्छन् । स्वस्थ खाना, पर्याप्त व्यायाम, उचित मात्राको निद्रा, आदि जस्ता स्वास्थ्यका नियमहरू पालना गर्दा मानसिक र शारीरिक रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।
व्यवस्थापकीय, प्रशासकीय वा नेतृत्वदायी भूमिका निभाउनु पर्ने व्यक्तिहरूमा बढी डिप्रेसन देखिएको छ । यसलाई कसरी हेर्नुहुन्छ ?
हो, पेसागत रूपमा आइपर्ने तनावले पनि डिप्रेसन हुन्छ । तर त्यस्तो तनावलाई कसरी कम गर्ने, व्यवस्थित गर्ने भन्ने कुरा सम्बन्धित व्यक्तिले सिक्न जरुरी छ । कार्यालयको जीवन, घरेलु जीवन, र स्वास्थ्यबीच उचित सन्तुलन राख्न जरुरी हुन्छ । जीवनमा जटिलकता सबैका हुन्छन् । तर सन्तुलन राख्नुपर्छ ।
अहिलेका अध्ययनहरूले त तनाव (स्ट्रेस)ले नै सारा रोगहरू निम्ताएको देखिएको छ– रक्तचाप, हृदय रोग, मधुमेह, क्यान्सर, छाला रोग, अल्सर, निद्रा, डिप्रेसन आदि । कतिपय अध्ययनले ९०% रोग तनावबाट उत्पन्न हुन्छन् भनेका छन् भने प्राचिन योग साधकहरूका अनुसार ८०% रोगहरू तनावका कारणले हुन्छ भनेका छन् ।
सकारात्मक सोच, सरल सुपाच्य भोजन, नियमित ब्यायम र तनावरहित जिबन नै स्वास्थ, शुखी अनी दिर्घ जिबनको प्रमुख आधार हो । त्यसैले आफ्नो दैनिक जिबनमा सकारात्मक परिबर्तन गरी स्वस्थ र शुखी रहने प्रयत्न गर्नुहोला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->