स्याङ्जा/ स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क संकलन थालेको छ ।
नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा वालिङ नगरपालिकाले बिहीबारबाट नामावली संकलन सुरु गरेको हो ।
गणकहरुलाई वैदेशिक रोजगारीमा गएका वा फर्केकाहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरुमा रहेको सीप,योग्यतालगायतका विवरण संकलन गर्न अह्राइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
नगर प्रमुख खाणँले तथ्याङ्क संकलनपछि उनीहरुको नामावली, सीप, क्षमता, योग्यतालाई ‘रोजगार पोर्टल’ मा राख्ने उद्घोष पनि गरे । यद्यपि, नागरिकले नचाहेमा भने नाम पोर्टलमा राखिने छैन । रोजगार पोर्टल’ ले श्रमिक तथा रोजगारदाताबीच पुलको काम गर्ने उनको भनाइ छ । वालिङका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईका अनुसार १७ जना गणकलाई एक महिनाभित्र गाउँगाउँमा पुगेर विवरण सङ्कलन गर्न निर्देशन दिइएको छ । गणकहरुले डिजिटल प्रविधिबाट तथ्याङ्क सङ्कलन गर्नेछन् । गणकहरुको नियमनको लागि अर्को एप्सको व्यवस्था गरिएको र उनीहरु घरघर पुगे–नपुगेको जानकारी हुने कार्यक्रम संयोजक एकनारायण सापकोटाले जानकारी दिए ।




