स्याङ्जा/ वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणका लागि दश बुँदे प्रतिवद्धता जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाले दश बुँदे प्रतिवद्धता जारी गरेको हो ।
सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि ब्यापकरुपमा अभियान सञ्चालन गर्ने, नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतीज्ञा गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
प्रतिवद्धतामा नगरका सम्पूर्ण सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गर्ने, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थको बेचबिखन गर्न पाउने व्यवस्था मिलाउने, लत छुटाउन सञ्चार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिने व्यवस्था मिलाउने, थप अध्ययन तथा अनुसन्धान गर्दै जाने रहेका छन् ।
त्यस्तैगरी जनसमुदाय तथा सरोकारवालाहरु (आमा समूह, शिक्षक, पत्रकार, युवा क्लब, टोल विकास संस्थाहरु) सँग सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि अन्तरक्रिया एवं छलफल गर्ने, नगरपालिकाको जनस्वास्थ्य ऐन २०७८ अनुसार सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनकालागि रणनीति तयार गर्ने, निरन्तर अनुगमन तथा सुपरभिजन गर्ने र वालिङ नगरपालिकालाई क्रमशः सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गर्ने प्रतिवद्धता गरिएको उनले जानकारी दिए ।
सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि २०६८ सालमा ऐन नियम आएको र यसको कार्यान्वयन पक्षलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित देशका केही पालिकाहरुमा अभियानकोरुपमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिए ।




