सडक डिभिजनले उक्त पुल बनाउन २०६८ असार २६ गते इलाइट एडी जेभीसँग ३ वर्षमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो । तर, पुलको डिजाइन नै फेल हुँदा करिब ९ वर्षसम्म अलपत्र परेको थियो ।
स्याङ्जा/ स्याङजा र पाल्पा जोड्ने गरी कालीगण्डकीमा निर्माण भइरहेको पुल आइतबार साँझ भत्किँदा ८ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको रामपुर नगरपालिका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।
घाइते हुनेहरुमा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाका २३ वर्षीय सृजन परियार छन् । ‘सबैको अहिले पाल्पामा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था नाजुक छ,’ प्रवक्ता न्यौपानेले भने ।
प्रवक्ता न्यौपानेका अनुसार रामपुर नगरपालिका ६, प्याकलुङ र चापाकोट नगरपालिका ८, दामाचौर जोड्ने गरी कालीगण्डकीमा पुल निर्माण भइरहेको थियो । उक्त पुलमा आइतबार साँझ क्रेनले बिम जोड्ने क्रममा ‘असावधानिवश छोइएर’ बिमसँगै कामदार खस्दा घाइते हुन पुगेको उनले जानकारी दिए ।
म्याद सकिनेबेला बल्ल ४५ प्रतिशत काम
दुर्घटना भएको पुल सडक डिभिजन कार्यालय, पाल्पाको मातहतमा बनिरहेको हो । सडक डिभिजनले उक्त पुल बनाउन २०६८ असार २६ गते इलाइट एडी जेभीसँग ३ वर्षमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो । तर, पुलको डिजाइन नै फेल हुँदा करिब ९ वर्षसम्म अलपत्र परेको थियो ।
स्याङ्जा र पाल्पा जोड्ने गरी कालीगण्डकी नदीमा बनिरहेको उक्त पुल सम्झौता भएको ९ वर्षसम्म काम अघि नबढेपछि स्थानीयलेसमेत चर्को विरोध गरेका थिए । बेल फाउन्डेसनयुक्त बनाउने गरी बनेको सुरुको डिजाइनले नदीको बीच भागको गहिराइमा अवरोध सिर्जना गरेपछि निर्माण प्रक्रिया ठप्पै बनेको थियो ।
सुरुको डिजाइनअनुसार बेल १५/ १५ मिटर जमिन मुनि हुनुपर्नेमा ५ मिटरमै कडा चट्टान फेला परेको थियो । जसका कारण काम सुरु भएको ६ महिनामै निर्माण कार्य रोक्नु परेको थियो । बेल फाउन्डेसन डिजाइन असफल भएपछि पाइल फाउन्डेसनयुक्त नयाँ डिजाइन गरिएको थियो । तर, उक्त डिजाइन पनि स्वीकृत हुन लामो समय लाग्यो ।
पटकपटक म्याद थप्दै पछिल्लो समय जेभीले चैत मसान्तसम्म पुल बनाउने समय थपेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर रवि शाहले ढोरपाटनलाई जानकारी दिए । तर, पछिल्लो पटक थपिएको समयसीमामा पनि ठेकेदार कम्पनीले ४५ प्रतिशतमात्रै काम सकेको छ । ठेकेदार कम्पनीले कुल २१ करोड ३८ लाख रुपैयाँमा पुल बनाउने जिम्मा लिएको थियो ।
पछिल्लो पटक थपिएको म्याद सकिन जम्मा ९ दिनमात्र बाँकी छ । ‘सुरुको सम्झौताअनुसार कम्पनीको म्याद पहिल्यै सकिनु पर्ने थियो । तर, बीचमा डिजाइन रिभ्यु, कोरोना देखाएर फेरि समय थपेको देखिन्छ,’ इन्जिजियर शाहले भने, ‘पछिल्लो समय कोरोनालाई कारण देखाएर समय थपिएको हाम्रो अभिलेखमा छ ।’ उनका अनुसार ०७८ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना प्रभावित ठेकेदार कम्पनीहरुलाई चैत मसान्तसम्म म्याद थप्ने निर्णयअनुसारनै म्याद थपिएको हो ।
ठेकेदार कम्पनीका प्रतिनिधि श्याम केसीले पुल निर्माणको काम पहिल्यै सकिने भए पनि बीचमा पुनःडिजाइन गर्नुपर्दा ढिलाइ भएको दाबी गरे । ‘सुरुको डिजाइनले काम गरेन । पछि बनाएको अर्को डिजाइन स्वीकृत हुनै ६ वर्षभन्दा बढी लाग्यो,’ उनले भने, ‘त्यसैले निर्माणको काम ढिलो भएको हो ।’ उनले आइतबार दुर्घटना नभएको भए बिमसहित करिब ५५ प्रतिशत काम तत्काल सकिने दाबी गरेका छन् ।
कामदारहरु निर्माणाधीन पुलको करिब ९ मिटर तल खसेका थिए । ‘हिजो पनि साँझसम्मै काम गरेर पुलको बिम हालिरहेका थियौं । त्यहीबेला ओभरलोड भएर क्रेनको सामान झर्न पुग्यो,’ कम्पनीका प्रतिनिधि केसीले भने, ‘पुलमा अरु क्षति पुगेको छैन ।’ उनले घाइते कामदारको उपचार खर्च कम्पनीले नै व्यहोर्ने जानकारी दिएका छन् ।




