स्याङ्जा/ राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नवौं राष्ट्रिय खेलकुदमा स्याङ्जामा कम्तिमा एक खेल खेलाउने बताएका छन् । प्रथम विवेक खाँण स्मृति सेभेन ए साइड अन्तर क्लब पुरुष फुटबलको समापन तथा पुरस्कार वितरणमा कोइरालाले आफू आफ्नो गृह जिल्लामा प्याराग्लाइडिङ बाहेक थप एक खेल खेलाउन छलफलमा रहको बताएका हुन् ।
कुनै पनि प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने बताउँदै कोइरालाले खेलकुदमा सबैको चासो हुनुपर्ने सुनाए । देशकै पदमा आसिन भएपनि आफू हुर्केको ठाउँमा सहयोग गर्र्न मन लाग्ने सुनाए । ‘खेल पूर्वाधारका लागि डिपीआर बनाएर लिएर आएमा आर्थिक सहयोग जुटाउन पहल गर्नेछु,’ उनले भने ।
हेलु लामाचौर युवा क्लबले भीरकोट १, लामाचौरमा आयोजना गरेको सेभेन ए साइड अन्तर क्लब पुरुष फुटबलमा उपाधि रामबाच्छा ब्वाइज वालिङले जितेको हो । स्मार्ट युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै रामबाच्छाले उपाधि सहित ३० हजार नगद, कप, मेडल जितेको हो । उपविजेताका बनेको स्मार्टले २० हजारमा चित्त बुझाएको हो ।
खेलको २८ औ मिनेटमा सफल थापाले गरेको गोल निर्णायक गोल बनेको हो । चैत २८ गतेबाट शुरु भएको प्रतियोगितामा १८ क्लबको सहभागिता थियो । प्रतियोगितामा म्यान अफ दि सिरिज अयोजक टिमका ईश्वर खाँण, बेस्ट फरवार्ड रामबाच्छाका जनम गुरुङ, बेष्ट किपर रामबाच्टाका रुपेश हमाल, बेस्ट डिफेन्डर स्मार्टका सन्देश क्षेत्री भएका थिए ।





