बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हृदयाघात कसरी ?

हृदयाघात कसरी ?


  • कृष्ण कुमार सैजु
  • बैशाख १६ २०७९, शुक्रबार

अप्राकृतिक तथा अव्यवस्थित मानविय क्रियाकलाप र वर्तमान लार्पवाहीपुर्ण जीवनशैलीको कारण मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएरहेको छ । सहरीकरणसँगै बढेको अस्वस्थ परिवर्तित जिवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ । विगतमा यो रोग विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा देखिन्थ्यो भने अहिले ४० भन्दा कम उमेरका युवाहरूमा देखिने क्रम बढिरहेको छ ।

मुटुले रगत पम्प गरेर शरीरभरि फैलाउने गर्छ । तर मुटुलाई काम गर्नका लागि पनि रगतको आवश्यक पर्छ । मुटुले आफ्नै रगत नली (कोरोनरी धमनी)को सहायताले मुटुमा रगत फैलाउँछ ।

मुटुको नलीमा बोसोजन्य पदार्थ कोलेस्टेरोल जम्दै जाँदा नली खुम्चिँदै र साँधुरिदै जाने हुन्छ । यसले गर्दा मुटुको नली विस्तारै बन्द हुन्छ । जसका कारण मुटुमा रगत र अक्सिजन पुग्दैन र हृदयाघात हुन्छ । हृदयाघात भनेको पनि कुनै कारणवश मुटुले पाउनुपर्ने रगत र अक्सिजन नपाएर मुटुले काम गर्न नसक्ने स्थिति हो ।

कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयाघात हुन्छ । समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेशी मरेर जान्छ । यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ । तर, अत्यन्तै डरलाग्दो अवस्था त्यो बेला उत्पन्न हुन्छ, जब अचानक रक्तसञ्चारमा अवरोध भएर मुटुभित्र रसायनको अस्थिरता हुन्छ । यसले मुटुको चालमा परिवर्तन ल्याउँछ । यसलाई एरिद्मिया भनिन्छ । यसले गर्दा मुटुको चाल अत्यन्तै कम वा बढी भएर बिरामीको अचानक मृत्यु हुन सक्छ । विभिन्न अध्ययनका अनुसार हृदयाघात भएको आधाभन्दा बढी मानिसको मृत्यु अस्पताल पुग्नुअगावै भइसक्छ । हृदयाघात भएको पहिलो २४ घण्टा ज्यादै जोखिमपूर्ण मानिन्छ । किनभने अत्यधिक मृत्यु २४ घण्टाभित्रै हुनेगर्छ ।

हृदयाघात भएको कसरी थाहा पाउने ?

हृदयाघात अकस्मात हुने रोग भएकाले छाती दुख्ने तथा यससंग सम्बन्धित अन्य लक्षण पनि अचानक नै सुरु हुन्छन् । छातीको बीच भागमा वा बायाँतिर दुख्नु वा पोलेको जस्तो अनुभव हुनु, छातीमा दबाब महसुस गर्नु वा मन्द–मन्द दुखिराख्नु जस्ता लक्षण देखा पर्न सक्छन् । छाती दुख्नुको संगै अरु लक्षण जस्तै, पसिना आउनु, वाकवाकी लाग्नु, उल्टी हुनु, डर लाग्नु, छटपटी बढ्नु, मुटु ढुकढुक हुनु, रिंगटा लाग्नु आदि समस्या छन् भने हृदयाघात हुने सम्भावना झन् प्रबल हुन्छ ।

हृदयाघातका कारण भएका बिरामीमा यस्ता लक्षण देखिना साथ यथाशिघ्र आकस्मिक सुविधा भएको अस्पताल पु¥याई इसिजि गराइहाल्नुपर्छ । लक्षणको आधारमा हृदयाघातको शंका भएका एस्प्रिन औषधिको ३०० मिग्रा घरमै दिन मिल्छ ।

हृदयाघातको सुनौलो घण्टा

हृदयाघात भएको बिरामीले छाती दुखेको १२ घण्टाभित्रै अस्पताल पुग्नुपर्छ । आवश्यक उपचार समयमै पाउँदा बन्द भएको रक्तनलीमा पुनः रक्तसञ्चार हुने सम्भावना बढी हुन्छ । रक्तप्रवाह समयमै पुनः सञ्चालन भएमा मुटुका मांसपेशी निष्कृय हुनबाट जोगिन्छन् । छाती दुखेको ३ घण्टाभित्र अस्पताल पुगेर आवश्यक उपचार हुन पाएमा कोरोनरी आर्टरीमा रक्तप्रवाह गराउन सकिने सम्भावना बढी हुन्छ । छाती दुख्न थालेपछि जति चाँडो अस्पताल पुगेर उपचार गराउन सकिन्छ, त्यति नै धेरै मुटुको मांसपेशी जोगाउन सकिन्छ ।

छाती दुखेको १२ घण्टापछि रक्तप्रवाहलाई सुचारु गर्न सकिने सम्भावना कम हुन्छ । त्यसैले छाती दुखेको १२ घण्टापछि अस्पताल पुगेमा असर परेको मुटुको मांसपेशी निष्कृय भइसकेको हुन्छ । यस्तो अवस्थामा उपचार गरेर बन्द भैसकेको रक्तनलीलाई खोले पनि केही फाइदा नहुन सक्छ । त्यसैले छाती दुखेको २४ घण्टापछि अस्पताल पुगेर एन्जिओप्लास्टी गरेमा पनि फाइदा हुने सम्भावना न्युन हुन्छ ।

अस्पतालको इमर्जेन्सीमा गरिने जाँचहरु

हृदयाघातको शंका भएको बिरामीलाई तुरुन्तै इमर्जेन्सीको खाटमा सुताएर इसिजी गर्नुपर्छ । अस्पताल पुगेको १० मिनेटभित्रै उपलब्ध चिकित्सक वा मुटुरोग विशेषज्ञले इसिजि हेरिसकेको हुनुपर्छ । इसिजीबाहेक सामान्य रगतको जाँच र ट्रोपोनिन भन्ने रगतको जाँच पनि गरिन्छ । यो जाँचले चिकित्सकले हृदयाघात भएको वा नभएको पुष्टि गर्न सक्छन् । हृदयाघातको निदान विशेषगरी लक्षणका आधारमार इसिजी या ट्रोपोनिनको रिपोर्टअनुसार गरिन्छ ।

हृदयाघातको प्रमुख उपचार

बन्द भएको कोरोनरी आर्टरीलाई खोल्नु र रक्तप्रवाहलाई पुनः सन्चालन गर्नु नै हृदयाघातको प्रमुख उपचार हो । रक्तप्रवाहलाई जतिसक्दो चाँडो र पूर्ण रुपमा सञ्चालन गर्नु महत्वपूर्ण कदम मानिन्छ । बन्द भएको नलीलाई दुई तरिकाले खोल्न सकिन्छ । प्रथमः औषधिर दोस्रो एन्जिओप्लास्टी । कुन बिरामीलाई औषधि र कुनलाई एन्जिओप्लास्टी उपचार गर्ने हो, यसको निर्णय उपचारमा संलग्न चिकित्सकले धेरै कुरामा विचार गरेर गर्नुपर्ने हुन्छ ।

एन्जिओप्लास्टी भन्नाले कोरोनरी आर्टरीमा तार छिराएर बेलुन र स्टेन्टको मद्दतले रक्तप्रवाह सुचारु गर्ने भन्ने बुझिन्छ । औषधिले आर्टरीमा भएको क्लटलाई पगालेर रक्त प्रवाह सुचारु गर्छ । दुवै तरिकाको आ–आफ्नै फाइदा र बेफाइदा हुने भएकाले उपचारमा संलग्न विशेषज्ञले नै आफ्नो बिरामीको लागि उपयुक्त तरिका छान्ने गर्छन् । तर, सुविधा भएको ठाउँमा एन्जिओप्लास्टी नै सर्वोत्तम उपचार मानिन्छ । कुनै कारणवश एन्जिओप्लास्टी गर्न नमिल्ने अवस्था भएमा बिरामीलाई औषधिद्वारा नै उपचार गरिन्छ ।

हृदयाघात भइसकेपछि के–के सावधानी लिनुपर्छ ?

उपचारका बारेमा चिकित्सकको सल्लाहअनुसार नै औषधि खानुपर्छ । आफ्नै इच्छाले मात्र कम गर्नु, बढाउनु वा खाँदैं नखानुले अर्को हृदयाघात निम्त्याउन सक्छ । चिकित्सकको सल्लाहअनुसार इसिजी, इकोकार्डियोग्राफी र पोटासियमको जाँच समय समयमा गराइराख्नुपर्छ ।

शारीरिक गतिविधिका बारेमा शारीरिक गतिविधि सामान्य रुपले कति दिनमा गर्ने हो, सो कुराको जानकारी चिकित्सकसंग लिनुपर्छ । बिरामीले बिस्तारै बिस्तारै प्रतिदिन गतिविधि बढाउँदैं लैजानुपर्छ र लगभग २, ३ हप्तापछि अफिस जाने या सामान्य कार्य गर्न सक्ने हुन्छ । हेभी एक्सरसाइज गर्नुहुँदैंन । यसका बारेमा आफ्नै मुटुरोग विशेषज्ञसंग छलफल गर्नुपर्छ । यौनक्रियामा संलग्नता र गाडी चलाउने काम कम्तिमा ३ हप्तापछि गर्न मिल्छ । तर, यसबारे पनि डाक्टरको सल्लाह लिनुपर्छ ।

खानाका बारेमा खानामा नुन, चिनी र चिल्लो कम गर्नुपर्छ । सागपात र फलफुल बढी खानुपर्छ । खाना खाएपछि तुरुन्तै हिड्नु हुँदैंन । खाना थोरै–थोरै बरु धेरैपटक खान मिल्छ । मुटु रोगीले दिउँसो खाना खाएपछि एकछिन भएपनि सुत्नु वा आराम गर्नु जरुरी छ । धुम्रपान र मदिरा सेवनका बारेमा हृदयाघात भइसकेका व्यक्तिले चुरोट सेवन गर्नै मिल्दैन । अरुले सेवन गरेको धुवाँले पनि नराम्रो असर गर्छ ।

हर्टअट्याकबाट जोगिने १५ तरिका

१. शरीरको तौल नियन्त्रण गर्ने ।
२. सामान्यता अत्याधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउँछ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्याधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ ।
३. स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने । ओलिभ अयललाई सलादसँग नियमित रुपमा उपयोग गर्नेलाई हृदयाघात तथा मुटुका अन्य समस्या कम पाईन्छ । गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको उपयोग गरौँ ।
४. खानामा माछालाई हप्तामा कम्तीमा तीन पटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन् ।
५. ओलिभ ओइल ओमेगा ३ फ्याट्टी एसिडको स्रोत हो । तर प्रमुखतया भेजिटेवल आयलमा ओमेगा ६ फ्याट्टी एसिड हुन्छन् जसले शरीरमा आन्तरिक सूजनलाई बढाएर हृदयाघात तथा अन्य दीर्घरोग निम्त्याउँछन् । ओमेगा ३ ले असल कोलेस्ट्ररोल एचडीएलकोलेस्टेरोलको मात्रा बढाउँछन् । तसर्थ ओमेगा ३ फ्याट्टी एसिडयुक्त खानाको नियमित सेवन गरौँ र ओमेगा ६ को मात्रा नियन्त्रण गरौँ ।
६. तनाव नियन्त्रण गरौं । किनभने तनावले आन्तरिक सूजनलाई बढाईदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ ।
७. भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तैः बिटा क्यारोटिन, भाइटामिन ए, भाइटामिन सि, भाइटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ ।
८. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिनसेन्सिटिभिटीलाई बढाउँछ । यस्तै, टाईप २ डाईबिटिजलाई नियन्त्रण गर्छ र मानसिक स्वास्थ पनि राम्रो हुन्छ ।
९. महिलाले दिनमा एक प्याक रेड वाईन र पुरुषले दुई प्याक उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाईदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पुर्याउँछ ।
१०. गाढा हरियो सागसब्जी, ब्रोकाउली, फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुव लगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ ।
११. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ ।
१२. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।
१३. यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ ।
१४. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ ।
१५. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ । यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भाइटामिन बि ६ तथा भाइटामिन बि १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->