पोखरा/ वालिङ नगरपालिकाको वेवसाइट खोल्नासाथ ‘वालिङ एप’ले अनुरोध गर्छ,‘अब स्मार्ट वालिङ एप वा खल्ती एपबाट सजिलै भुक्तानी गर्नुहोस् ।’ एपबाट बिजुली,पानी र राजश्व भुक्तानी गर्न सकिने जानकारी पनि त्यहीँ राखिएको छ । सुशासन र स्मार्ट खोज्नेहरुलाई वालिङको वेवसाइटले सुरुमै आकर्षित गर्छ ।त्यसो त वालिङले देखिने केही काम पनि गरेकै छ ।
पोखराबाट ६५ र पुतलीबजारबाट १७ किलोमिटरको दूरीमा रहेको वालिङ २०७७ चैत ३० गते संघ सरकारबाट स्मार्ट सिटीको घोषित गण्डकीको एकमात्र सहर हो । यद्यपि,गोरखाको पालुङटारको पनि मास्टर प्पान भने बनेको छ । वालिङले देशको उत्कृष्ट नगरको उपमा र पुरस्कार पाएको छ । स्मार्ट सहर भनेको प्रविधि केन्द्रीत सहरी शासनको अभ्यासको रुपमा अथ्र्याएको छ । सबै त हैनन्, तीमध्ये केही काममा वालिङ अब्बल देखिएको छ ।
डिजिटल यात्रा
वालिङको देखिने काम नै डिजिटल सेवा प्रवाह हो । स्मार्ट वालिङ एप्सभित्र सबै नागरिकलाई सामेल गराइ सजिलो सेवा प्रवाह गरिएको पालिका उपप्रमुख कल्पना तिवारी बताउँछिन् ।, उनका अनुसार वडाका सिफारिसदेखि सामाजिक सुरक्षाका सबै कामहरु विद्युतीय बनाइएको छ ।‘कर्मचारी र जनप्रतिनिधिहरुको विद्युतीय हस्ताक्षर चलाएको छ भने कामको लागि दिइने टोकन पनि विद्यूतीय (क्रिप्टो) बनाएको छ’,उनले भनिन्,‘ विद्युतीय भएकाले अफिस समयबाहेक पनि सेवाग्राहीले काम लिनसक्ने बनाइएको छ ।’ घरनक्साको डाटालाई प्रविधिमा प्रविष्टि गर्ने तथा घरधनीको घर नक्सा डिजिटाइजेशन गरिएको पनि उनको भनाइ छ ।
गुलाबी सहर
वालिङका घरहरुमा गुलाबी रंग पोतिएको छ । घरको भित्तामा गुलाबी रंग लगाएपछिमात्रै सम्पन्नताको प्रमाणपत्र दिने घोषणा नगरको छ । वालिङलाई नयाँ स्वरुप दिन थालिएको यो अभियानले सार्थकता पाएको नगर प्रमुख दीलिपप्रताप खाँण जिकिर गर्छन् । यद्यपि, यो प्रावधानको प्रशंसा र आलोचना दुबै भइरहेको छ ।
बेरोजगारको सूची
वालिङले नगरभित्रका बेरोजगारको सूची तयार पारेको छ भने उनीहरुलाई वार्षिक १८ दिनको दरले रोजगारी पनि दिएको छ । नागरिकको रोजगारीको हक सुनिश्चित गर्न सुरु गरिएको अभियानअन्तर्गत न्यूनतम ज्यालामा सूचीकृत बेरोजगारलाई काम दिने गरिएको उपप्रमुख कल्पना तिवारीले बताइन् । हालसम्म २८ योजनाहरुमा सूचीकृत बेरोजगारलाई काम दिइएको पनि उनले बताइन् ।
नगरले न्यून आय भएका वा गरिबीको रेखामुनि रहेका,राष्ट्रिय र स्थानीय तहका खेलाडी तथा परिवारको निःशुल्क बीमा गरिदिन्छ । यही योजनाबाट २०७७ को वैशाखदेखि चैत मसान्तसम्म कूल २७ हजार ४७७ र २०७६ जेठ १ देखि चैत मसान्तसम्म १४ हजार १९९ बीमितले स्वास्थ्य सेवा लिएका नगरपालिकाले जनाएको छ । यसैगरी पालिकाले संचालनमा ल्याएको बर्थिङ सेण्टरले पनि मातृशिशु मृत्युदर घटाएको उपप्रमुख तिवारीले जिकिर गरिन् । ‘नगरभित्र हाउस सर्भेदेखि लिएर जिआईएस प्रणाली सम्म, जिपिएस सिस्टमदेखि लिएर एप्लिकेशनसम्मका सफ्टवयर प्रयोगमा आइसकेका छन्’,उनले भनिन्,‘ हरेक नागरिकहरुको सेवा, रेकर्ड सिस्टम, कार्यशैली, नगरपालिकाका सम्पूर्ण कार्यहरु डिजिटल डाटाकोरुपमा उपयोग गरिएको छ ।’
भौतिक निर्माण
भौतिक निर्माण नियमित काम भएको र यसले नगरको आर्थिक वृद्धिमा विशेष योगदान दिने नगर प्रमुख खाँण बताउँछन् । उनका अनुसार हाल वालिङमा ९ सय किलोमिटर सडक सञ्जाल बिस्तार भएको छ ।
सबै गाउँ र टोल पुग्ने गरी नयाँ ट्रयाक १०४ किमी खोलिएको भने ११४ किलोमिटर सडक कालोपत्रे र १४ किमी सडक ग्राभेल गरिको छ । १२२ किमी सडक स्तरोन्ति भएको र करिब ९५ किमी ग्रामीण सडक मर्मत गरिएको पनि उनले जनाए । नगरक्षेत्रमा ससाना पुल ९ वटा र २४ वटा कल्भर्ट निर्माण भए पनि सबै ठाउँमा बाह्रै महिना गाडी गुडाउन असहज नै रहेको उनले स्वीकारे । खानेपानीअन्तर्गत २५ वटा योजना मर्मत, ५ वटा लिफ्टिङ खानेपानीका योजना बनेको उनले सुनाए ।
फोहर फाल्न पनि एप्स
सहरको समस्या हो, फोहर विसर्जन । फोहर बोक्ने गाडी कहिले र कतिबेला आउँछ ? थाहा हुँदैन । काठामाडौं र पोखराजस्ता सहरमै कयौंदिन फोहर उठ्दैन । तर, यो समस्याबाट वालिङ नगरपालिका भने मुक्त छ । नगरपालिकाले वेस्ट म्यापिङ गरेको छ । वेस्ट एप्स तथा फोहर बोक्ने गाडीहरुलाई जीपीएसमा जोडेको छ । त्यही एप्समार्फत् नागरिकले कुहिने, नकुहिने तथा दिसाजन्य फोहोरहरु बोक्ने गाडीको अवस्था पत्ता लगाउँछन् । दैनिक तालिका बुझ्छन् र फोहर फाल्ने समय मिलाउँछन् ।
यस्तै, वालिङले दिसाजन्य फोहरबाट बायो ग्यास र कम्पोष्ट मल उत्पादन गरेको छ । एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा वडा नंबर १ मजुवामा प्लाण्ट बनेको हो ।
प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने व्यवस्था छ । यो नगरपालिकाहरुमै पहिलो प्रयोग भएको प्रमुख दीपिपप्रताप खाँणको भनाइ छ । उनका अनुसार१४ वटै वडाका सेफ्टीट्याङी भरिएपछि दिसाजन्य फोहर ल्याइन्छ । सेफ्टीट्याङ्की सफा गर्न नगरपालिकाले ६ हजार ५ सय शुल्क लिन्छ । यो निजी यसअघि संचालनमा आएका निजी क्षेत्रका टंयाङ्करभन्दा सस्तो भएको पनि उनले जिकिर गरे । ‘घरघरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुल्ला ठाउँमा लगेर आफूखुसी फाल्ने चलन बन्द भएको र पानीका स्रोतहरु दूषित हुनबाट बँचेका छन्’, उनले थपे ।
सिकाइ केन्द्र पनि
नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र सिकाइ केन्द्रको रुपमा विकास भएको छ ।
वालिङले फोहरलाई मोहरमा परिणत गरेको हेर्न देशैभरबाट टोलीहरु आउने गरेका छन् । हालसम्म ६ सयको हाराहारीका संघ/संस्थाहरुले सो केन्द्रको अवलोकन गरिसकेका छन् ।
।वालिङ नगरपालिकाका बजार क्षेत्रका वडाहरुमा गठन गरिएको सरसफाई उपसमितिले आ–आफ्नो टोलमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाईकर्मीहरु नियुक्ति गरि सरसफाई कार्य अगाडि बढाएको उपप्रमुख कल्पना तिवारीले जानकारी दिइन् । वालिङ नगरपालिका र दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबीच फोहोरमैला ब्यवस्थापनको सम्झौता भएको छ । नगरपालिकाले फोहोर मैलाका क्षेत्रमा अगाडि बढाएको वालिङ मोडेल भनेको कुहिने/नकुहिने/सिसाजन्य फोहोर सङ्कलन गरी ‘ईण्डष्ट्रियल वेस’ मा लैजाने र कुहिनेबाट कम्पोष्ट मल बनाउनु,सेवामा आधारित हुनु र अधिकतम प्रविधिको प्रयोग गरी पुनः प्रयोग गर्नुले नै रहेको उनले बताइन् । नगरपालिकाले भने फोहोरमैलाको व्यवस्थापनबाट वार्षिक २४ लाखभन्दा बढी आम्दानी गर्दै आएको छ । वालिङ नगरपालिका फोहरमैलाको क्षेत्रमा पटक/पटक पुरस्कृत भइसकेको छ ।
कोभिडकालको कसरत : नवप्रवर्तनमा जोड
गण्डकीमा मृत्यु हुने वालिङका ६० वर्षीय पुरुष थिए । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाएका उनको अन्त्येष्टिको लागि पनि ठूलै पापड बेल्नुप¥यो । त्यसो त, कोभिडबाट वालिङमा सय जनाभन्दा बढीले ज्यान गुमाए । कोभिडबाट ज्यान गुमाएकाहरुको हकमा वालिङ चुप लागेर बसेन । ज्यान गुमाएकाको परिवारलाई काजकिरियावापत् २५ हजार उपलब्ध गरायो ।
कोभिड १९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावककोरुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालका लागि राहत र काजकिरियाकालागि रकम उपलब्ध गराइएको हो’,नगरप्रमुख खाँण भन्छन्,‘राहतको क्षेत्रमा हामीले सक्दो ग¥यौँ ।’नगरको १५ शैयाको अस्पताल र स्वास्थ्य केन्द्रहरुले नागरिकको स्वास्थ्यको अधिकार रक्षा गर्ने उनले जिकिर गरे । नगरभित्र सरकारी अस्पताल १, स्वास्थ्य चौकी ९, सहरी स्वास्थ्य केन्द्र ७, गाउँघर क्लिनिक ३५ आयुर्वेद केन्द्र १ सञ्चालनमा रहेको र वडाहरुमा ८ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको उनले जनाए । कोभिडपछिको असर कम गर्न नगरले उद्यमशीलतालाई जोड दिएको छ । युवाहरुमा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले नवप्रवर्तन कोष स्थापना गरी पहिलो चरणमा २० जना युवा युवती तथा समूहलाई जनही ५० हजारका दरले नगद उपलब्ध गराइएको उनले बताए । यही अभियानअन्तर्गत आप्रवासी प्रोफाइल तयारी थालेको छ । नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा वालिङ नगरपालिकाको आप्रवासी प्रोफाइल तयारी थालेको हो ।
नगरभित्रका नागरिकहरु वैदेशिक रोजगारीमा गएका वा गएर फर्केकाहरुको तथ्याङ्क संकलन गर्ने, उनीहरुमा रहेको सीप, योग्यता लगायतका विवरण संकलन गर्ने लक्ष्य रहेको छ ।
वैदेशिक रोजगारीमा गएका नागरिकहरुले पठाउने रेमिट्यान्स र घरपरिवारले त्यसको प्रयोग के काममा गरेका छन् भन्ने विवरणसमेत सो अभियानमा संकलन भएको छ ।
शिक्षा सुधार योजना
शैक्षिक गुणस्तर सुधार ब्रिटिश काउन्सिलसँगको साझेदारीमा विद्यालय परियोजना लागू भएको पनि उनले सुनाए । असल अभ्यासहरुको स्थानीयकरण र प्राप्त उपलब्धीहरुको संरक्षण जस्ता विषयहरुमा केन्द्रीत परियोजना तीनवर्षसम्म सञ्चालन हुने प्रमुख खाँणले बताए ।
ब्रिटिश काउन्सिलमार्फत उक्त परियोजना पहिलो चरणमा स्याङ्जाको वालिङ र नवलपरासीको कावासोती नगरपालिकामा नमूनाको रुपमा सञ्चालन गरिएको छ ।
परियोजना सञ्चालनका लागि पहिलो वर्ष ब्रिटिश काउन्सिलबाट कूल रकमको ७० प्रतिशत, दोस्रो वर्ष ६० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम उपलब्ध गराउने छ । वालिङ नगरपालिकाले पहिलो वर्ष ३० प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम खर्च गर्नेछ । नगरभित्रका ५६ आधारभूत विद्यालय र १६ वटा माध्यमिक गरी कूल ७२ वटा सामुदायिक विद्यालयमा यो परियोजना तीन वर्षसम्म संचालन हुन्छ ।
कृषिको पकेट क्षेत्र
वालिङ नगरपालिकाले १४ वटै वडामा कृषिको पकेट क्षेत्र संचालनमा ल्यायो । वडाभित्रको माटो, हावापानी तथा स्थानीयको मागका आधारमा आलु पकेट, तरकारी पकेट, सिताके च्याउ पकेट, सुन्तला पकेट, बंगुर पकेट, भैंसीजोन, बाख्रा कृषक पाठशालाहरु घोषणा गरी सञ्चालनमा ल्याएको छ । सम्भाव्यता अनुसार वडा नंबर १४ को करादीठानामा सुन्तला र १ को खहरे एवं त्रियासीमा आलु पकेट क्षेत्र घोषणा गरिएको उपाध्यक्ष कल्पना तिवारीले सुनाइन् । आर्थिक वर्ष २०७४÷०७५ मा २१ लाख २५ हजार बीऊ पूँजीबाट सुरु गरिएको कृषि कार्यक्रमअन्तर्गत व्यावसायिक कृषि फर्म विस्तार, किसानमैत्री प्रविधिको विस्तारमा जोड दिइएको उनले बताइन् । हाल नगरमा कृषक समूह ७८ वटा र कृषि फर्म २७९, कृषि सहकारी संख्या ५४ वटा रहेका छन । व्यावसायिक कृषकहरुले गरेका बाली बिमा संख्या २५ छ । यस्तै ६८७०२, पशुहरुलाई खोप सेवा ३६११०, प्रयोगशाला सेवा १४५७९, कृत्रिम गर्भाधान ९५६ रहेको छ । साथै गाई भैसी फार्म १०८, बाख्रा फार्म १८३ वटा, बंगुर फार्म ८० वटा, मत्यस्यपालन १२ वटा, कुखुरा फार्म २३२ वटा रहेको उनको भनाइ छ । नगरप्रमुख खाँणले २०७४ देखि हालसम्म तर्जुमा गरिएका नगरपालिकालका ऐन १८, नियमावली ६, कार्यविधि ३४, निर्देशिका ३ वटाले स्मार्ट सिटीको खाकालाई स्पष्ट आधार दिइएको जिकिर गरे । उनले नेपालको संविधानमा प्रदत्त एकल तथा साझा सूचीका अधिकारक्षेत्रलाई वालिङ नगरले संस्थागत गरेको छ । सबै वडामा मेलमिलाप केन्द्र,आवधिक र बहुवर्षीय योजना निर्माण,औद्योगिक ग्राम स्थापना,खेलकुद,पर्यटन र सामाजिक जीवनस्तरमा सुधार,सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणालगायतका फेहरिस्त प्रस्तुत गर्दै उनले भने,‘ ५ वर्षमा केही गरियो, केही कामको सुरुवाता भएको छ । स्थानीय तहमा हामीले गरेको काम पर्याप्त हैन तर यसले भविष्यको सुन्दर वालिङको बाटो तय गरेको छ ।’





