स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिकाले कृषकलाई अनुदानमा हाटे ट्याक्टर र कम्बाइन मिल वितरण गरेको छ ।
पालिकाले कृषकहरुलाई आधुनिक कृषि प्रणालीमा जोड दिँदै ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्याक्टर र ३२ वटा कम्बाइन मिल वितरण गरेको हो । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई बदल्दै यान्त्रिकीकरण र व्यावसायीकरण गर्ने उद्धेश्यले हाते ट्याक्टर र कुटानी पिसानीको सहजका लागि कम्बाइन मिल वितरण गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । पालिकाले हरेक वर्ष मागको आधारमा प्राथमिकतामा राखेर हाते ट्याक्टर र कम्बाइन मिल प्रदान गरेको बताइन् ।
अर्जुन चौपारी ४ का रिकु सार्कीले हाते ट्याक्टरले दिनभरी लगाएर खेतबारी जोत्ने पीडाबाट छुटकारा पाएकोमा खुसी व्यक्त गरे । वडा नं १ कटुवाकी सुधा कार्कीले कम्बाइन मिलले कुटानीका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको सुनाइन् । पालिकाले तीन हर्ष पावरको कम्बाइन मिल ३२ वटा तथा ६ हर्ष पावरका २० वटा र १२ वटा सात हर्ष पावरका हाते ट्याक्टर वितरण गरेको हो । ५० प्रतिशत अनुदानमा ती सामग्री वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बस्नेतले जानकारी दिए ।




