पोखरा/ नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगितामा ३६ खेल खेलाइदैँ छ । तर, पुरै खेल गण्डकी प्रदेशमा भने हुने छैनन् ।
शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङसहित राखेपको टोलीले विभिन्न खेल मैदानको अवलोकन समेत गरेका छन् । पोखरामा अधिकांश खेल खेलाउन सकिने भएपनि केही खेलका लागि भने पुर्वाधार नै छैनन् । नवौंमा समावेश भएका मध्ये पौडी र सुटिङ गण्डकी प्रदेशमा नगराई काठमाडौंमा गराउने तयारी भइरहेको छ । यस अघि पटक पटक पौडी र सुटिङ रेन्ज निमार्ण हुने बताइएपनि सरकार परिवर्तन हुँदा उक्त योजना समेत परिवर्तन हुन पुगेको हो । पोखरामा सबै पूर्वाधार बनाउने गरी तयारी भइरहँदा कोरोना महामारीलाई देखाउँदै पुर्वाधार निमार्णको कुरालाई आलटाल गरिएको हो ।
पोखरा रंगशाला बाहेक पोखराका अन्य खेलमैदानमा समेत विभिन्न खेल खेलाउ सकिने भएपनि रग्वी र हक्कीको मैदान भने छैन् । यतिबेला त िदुई खेल कहाँ कहाँ खेलाउने भन्ने कुराले चर्चा पाइरहेको छ । यद्यपी रग्वी खेल सहारा एकेडेमीको खेलमैदानमा र हक्की हेम्जा स्थित गौरीशंकर खेलमैदानमा खेलाउने प्रस्ताव भएको छ ।
रग्बी पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको खेल हो । नेपालले केही समय अघि मात्रै बंगलादेशमा गएर रग्बी १५को औपचारिक खेल खेलेर फर्किएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बी ७(सेभेन्स) खेलाईने छ । रग्बी र हक्की दुवैको आफ्नो मैदान छैन् । जसका कारण कहाँ खेलाउने भन्ने यकिन भने भइसकेको छैन् । खेलस्थल व्यवस्थापन संयोजक राजेश गुरुङका अनुसार सहारा एकेडेमीको खेलमैदानलाई रग्बी, महिला फुटबल र हक्कीका लागि प्रस्तावना गरिएको हो । विशेष गरी उक्त मैदान रग्बीकै लागि प्रस्ताव गरिएको उनले जानकारी दिए । ‘हामीले आजबाट खेल मैदानहरुको अवलोकन गरिरहेका छौँ । सहारा एकेडेमीको खेल मैदानलाई रग्बी खेलका लागि प्राथमिकतामा राखेर प्रस्ताव गरेका छौँ यहाँ रग्बी नै खेलाइने छ’ उनले भने,‘त्यो बाहेकको विकल्पको
रुपमा हामीले यहाँ महिला फुटबल र हक्कीलाई पनि वैकल्पिकमा राखेका छौं, यहाँ कुनै एक खेल हुनेछ ।’
उनका अनुसार उक्त खेलमैदान खेल्नका लागि उपयुक्त रहेको र त्यहाँ खेलाडीले पोशाक परिवर्तन गर्ने कोठा र मैदानमा केही भाग सम्याउन पर्ने देखिएको छ । मैदान सम्याउने काम भने तत्कालै सुरु गरिने छ । यस्तै गौरीशंकर खेल मैदान भने हक्कीका लागि उपयुक्त रहेको उनले बताए । फुटबल मैदानमा हक्की खेलाउन मिल्ने भएकाले उक्त मैदान उचित रहेको उनले सुनाए । हक्कीका लागि लामाचौरमा रहेको गोस्ते खेलमैदानलाई समेत हेरिएको छ । पोखरालाई खेलकुदको शहरको रुपमा भनिरहँदा कतिपय खेलले भने मैदानै नपाउने पिडा छ । हक्की, रग्बी जस्ता खेलले खाली जग्गामा नै खेल्न बाध्य छन् । उनीहरुले जहाँ खेल्न पायो त्यही अभ्यास गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ ।
एकातिर खेलमैदान खोजिरहँदा अर्कातिर भने गण्डकी प्रदेशको प्रदर्सनीलाई लिएर समेत चिन्ता भइरहेको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङेले) यस अघि पनि एक कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काम नभएको अभिव्यक्ति दिएका थिए । प्रदेशमा खेलकुदको मेला आयोजना हुने मिति नजिकिदै गर्दा खेलकुद मन्त्रालय र गण्डकी प्रदेश खेलकुद परिषद्मा भने उत्साह देखिएको छैन् । यतिमात्र होइन प्रदेशको खेलकुद निकै खस्किएको छ । प्रदेश खेलकुद मन्त्रालयले विभिन्न प्रतियोगितालाई रकम दिइरहँदा नवौं तयारीका लागि भने उचित कदम अझै चालेको छैन् ।
खेलाडीलाई नवौं तयारी गराउनुपर्ने जिम्मवारीबाट टाढा हुँदै युवा तथा खेलकुद मन्त्रालयले भेट्रान्स फुटबल, व्यक्तिको नाममा गरिएको फुटसल जस्ता खेलमा रकम फालेको छ । गत साता काठमाडौंमा सम्पन्न १२ औं राष्ट्रपति कपलाई हेर्ने हो भनेपनि गण्डकीको खेल स्तर निकै खस्किएको देखिन्छ । जुन खेलमा पदकको आशा गरिएको छ गण्डकीको उही खेल खस्एिको देखिएको छ ।
उक्त प्रतियोगितामा गण्डकी पदकको हिसाबले कर्णली भन्दा पछि रह्यो । लुम्बिनी प्रदेश च्याम्पियन बनिरहँदा गण्डकी भने चौथो स्थानमा रह्यो । गण्डकीले कुल २७ पदक ल्याउँदा कर्णालीले ३० पदक हासिल ग¥यो । गण्डकीको यो अहिलेसम्मकै खराब नतिजा हो । राखेप सदस्य एवम् खेलस्थल संयोजक गुरुङले गण्डकीको पदक प्रति चिन्तित् भएको बताए । उनले प्रतियोगिता सम्पन्न गर्नुभन्दापनि गण्डकीको खेलाडीको खेल प्रदर्सनप्रति डर रहेको उनले सुनाए । एक खेलकर्मीका अनुसार गण्डकी प्रदेशको तर्फबाट नवौंका लागि गर्नुपर्ने तयारी भएको छैन् । उनले गण्डकी प्रदेश सरकारले यसप्रति त्यति चासोँ नदिएको र केन्द्रले नै जेजे गर्छ गरोस भन्ने किसिमका भावना देखाएको बताए । ‘यो प्रतियोगिता ४९ वर्षपछि पोखरामा आएको छ तर, गण्डकी प्रदेश सरकारले भने तदारुकता देखाएको हामीले पाउँदैनौं’ उनले भने,‘प्रतियोगिता तोकिएकै मितिमा होला या नहोला त्यो आफ्नो ठाउँमा छ तर, प्रदेशको तयारी त हुन प¥यो नी यति ठुलो प्रतियोगिता हुँदा ।’





