पोखरा/ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियागितामा भूमिका नदिइएको गुनासो गरेको छ ।
३९ वर्षपछि पोखरामा आयोजना हुने प्रतियोगिता सफल बनाउन सहकार्य नगरिएको र पूर्वखेलकर्मीसँग परामर्श नगरिएको जिकिर पनि संघको रहेको छ । बुधबार आयोजित भेलामा उपस्थित संघ समर्थित खेलकर्मीहरुले प्रतियोगिता मुल आयोजक समितिमा पोखराका खेलाडी नसमेटिएको भन्दै आपत्ति पनि जनाए । तर, प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्नेमा भने सबै एकमत देखिए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघक केन्द्रीय सदस्य रञ्जन थापाले प्रदेशको एक जनालाई मात्रसमेटेर उपसमितिको संयोजकतोक्नु केन्द्रीकृत मानशिकता भएको जिकिर गरे । प्रतियोगिताको लागि पोखराबाट राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य राजेश गुरुङलाई मैदान व्यवस्थापनको जिम्मा दिइएको छ । बक्सिङका पूर्वखेलाडी तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइले खेलकुद परिषद्ले खेल सफल बनाउन प्रदेशकै पूर्वखेलाडीहरुको अनुभव उपयपोग गर्नुपर्ने धारणा राखे । उनले प्रतियोगिता सफल बनाउन प्रदेशभरका पूर्वखेलाडी तथा खेल संघसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्ने माग गरे । उनले लोकतान्त्रिक खेलकुद संघ गण्डकी मैदानमा स्वतन्त्र भएपनि मैदान बाहिर पार्टीलाई हित हुने कार्यमा लाग्नुपर्ने धारणा राखे । २०४६ सालको आन्दोलनपछि नेपाली कांग्रेसले खेल क्षेत्रको नेतृत्व लिन नचाहेकै कारण पछिल्लो समय खेल क्षेत्रमा भ्रष्टाचार व्याप्त भएको उनको भनाइ थियो ।
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले तयारी सुरु भएको समाचारमा मात्र पढेको, सुनेको बताए । आफू जिल्ला क्रिकेट संघको अध्यक्ष भएपनि अहिलेसम्म कुनै भूमिका नपाएको उनको गुनासो थियो । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्व भलिबल खेलाडी हरी पराजुलीले खेल क्षेत्रमा हुने भ्रष्टाचार र बदमासीका विरुद्ध आवाज उठाउन नछाड्ने बताए । नेपाल आर्चरी संघका केन्द्रीय उपाध्यक्ष बसन्त थकालीले खेलकुद क्षेत्रमा लोकतन्त्रमा आस्था राख्ने खेलाडीको गुनासो र समस्या सुन्नका लागि पार्टीले नेतृत्व लिनुपर्नेमा जोड दिए । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य जयराम हमाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले आगामी असोजमा हुने राष्ट्रिय खेलकुदमा प्रदेशको अपनत्व हुने वातावरण बनाउन पहल गर्ने बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनले राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको भूमिका खोजिने प्रतिवद्धता जनाए । संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले गण्डकी प्रदेशमा हुने खेलमा सबै उपसमितिको सदस्यमा अट्नुपर्ने आफूहरुको माग रहेको उनले सुनाए । खेलकुद भनेपछि पछिल्ला समय भ्रष्टाचार बढी हुने क्षेत्रमा रुपमा चिनिएकाले करिब १ अर्ब खर्च हुने प्रतियोगितामा सबै खेलाडीले पाउनुपर्ने सुविधा पाउँन भनेर संघर्ष गरिरहेको उनको भनाइ थियो । ‘राष्ट्रिय खेलकुदका लागि ५४ करोड त रातो किताब मै छुट्टिएको छ । सबै गरेर एक अर्ब खर्च हुन्छ त्यसबाट खेलाडीले पाउनुपर्ने सुविधा पाउनुपनर्छ भनेर हामी लागेका छौं’,उनले थपे । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले पछिल्लो समय कांग्रेसले खेलकुदको महत्व बुझेको जिकिर गर्दैखेलाडीको भावनालाई संवोधन गर्ने प्रतिवद्धता जनाए ।





