पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको प्याराग्लाइडिङ प्रतियोगिता पोखरामै हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले अन्यत्र प्रतियोगिता राखिए वहिष्कार गर्ने घोषणा पनि गरेका छन् ।
मंगलबार भएको छलफलमा प्याराग्लाइडिङका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरुले एकस्वरले सो घोषणा गरेका हुन् ।
प्याराग्लाइडिङको लागि पोखरा विश्वकै उत्कृष्ट ५ गन्तव्यमध्येको एक हो । एसियाडबाट मेडल ल्याउने खेल पनि हो, यो । खेलाडी विजय गौतमका अनुसार केही व्यक्तिले यो खेल स्याङ्जाको स्वरेकमा लैजान खोजेपछि विरोध गरिएको बताए ।
जोखिमपूर्ण खेल भएको र स्वरेकमा प्रतियोगिता आयोजना हुँदा दुर्घटना भएमा समयमै खेलाडीहरुको उद्धारमा समस्या हुने खेलाडी रविराज दर्लामी मगरले जिकिर गरे । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले प्याराग्लाइडिङ खेल पोखरा १८ स्थित सराङ्गकोट तोरीपानीमा हुने बताएको छ । सोही अनुसार खेलाडीलाई तयारी गर्नसमेत संघले आग्रह गरेको छ । तर, राष्ट्रिय खेलकुद परिषदले खेलस्थलका बारेमा आधिकारीक धारणा सार्वजानिक भने गरेको छैन् ।
प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले स्वरेकमा ठूला–ठूला पहाड र हावाको चाप बढी हुँदा नेटवर्कमा समेत समस्या हुने उद्धारमा ७/८ घण्टाभन्दा बढी समय लाग्ने भएकोले पोखराको विकल्प नरहेको जिकिर गरे । उता राखेप सदस्य तथा खेल मैदान व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले खेलाडीको सुरक्षा पहिलो प्राथमिकतामा रहेको बताए ।
असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ४ इभेन्ट्समा ८ स्वर्ण, ८ रजत र ८ काश्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा एक्युरेसी व्यक्तिगत (महिला/पुरुष), एक्युरेसी टिम (महिला/पुरुष), क्रसकन्ट्री व्यक्तिगत (महिला/पुरुष) र क्रस कन्ट्री टिम (महिला/पुरुष)तर्फ प्रतिष्पर्धा हुनेछ । तीमध्ये एक्युरेसी टिमतर्फ महिला २, पुरुष ५ जना तथा क्रसकन्ट्री टिम महिलातर्फ ३ र पुरुषतर्फ ५ जना रहने छन् ।





