आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नयाँ कार्यसमितिसँगै फिफा ड्रिम प्रोजेक्ट अन्यौलमा

नयाँ कार्यसमितिसँगै फिफा ड्रिम प्रोजेक्ट अन्यौलमा


  • विजय नेपाली
  • साउन २८ २०७९, शनिबार

पोखरा/ पोअखिल नेपाल फुटबल संघ (एन्फा) को तेस्रो बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न एजेण्डामा छलफल ग¥यो । तर, कास्कीको माछापुच्छे्र गाउपालिकामा बन्ने भनिएको फिफा ड्रिम प्रोजेक्टका बारेमा कुनै चर्चा नै चलेन । नव निर्वाचित कार्यसमिति आएपछि ३ बैठक समाप्तिसम्म परियोजना एजेण्डामा प्रवेश नगरेपछि यतिबेला गण्डकी प्रदेशका फुटबल प्रतिनिधिहरुमा असन्तुष्ट देखिएका छन् ।

उनीहरुले नयाँ कार्यसमितिले परियोजना नै रद्ध गर्ने योजना बनाएको आरोपसमेत लगाएका छन् । बोलपत्र आह्वान भइसकेको अवस्थामा समेत एन्फाले वेवास्ता गर्नु सामान्य कुरा नभएको उनीहरुको टिप्पणी छ । फिफा र एएफसीको आर्थिक सहयोगमा दक्षिण एशियाकै नमूना परियोजना नेपालले प्राप्त गरेको हो ।

२०७६ सालमा कास्कीको माछापुच्छे्र गाउँपालिका भेडाबारीमा जग्गा देखाएपछि उक्त परियोजना कास्कीले पाएको थियो । जसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइ काम अघि बढेको थियो । उक्त स्थानमा टेक्निकल सेन्टर बनाउनका लागि स्थानीय जनसमुदाय, स्थानीय तह र प्रदेश सरकारले समेत आर्थिक, भौतिक सहयोग छ ।

तर, पंकज विक्रम नेम्वाङ नेतृत्वको नयाँ कार्यसमितिसँगै ड्रिम प्रोजेक्ट छायाँमा परेको छ । जसको प्रभाव कास्की जिल्लाको नेतृत्वमासमेत देखिएको छ । नेम्वाङ पक्षकै रहेका कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्ज्वल रन्जितले आफूलाई परियोजना बारेमा केही ज्ञान नै नभएको प्रतिक्रिया दिए । उनले यसबारेमा पूर्वकार्यसमितिले कुनै समन्वयनै नगरेको र अहिलेको सबै कार्यसमिति नयाँ रहेकाले केही थाहा नभएको अभिव्यक्ति जिकिर गरेका हुन् । उनको यो अभिव्यक्तिले कास्कीमा परियोजना नबन्ने हो कि भन्ने आशंकालाई बल पु¥याएको हो । जबकि, परियोजना निर्माणको लागि राष्ट्रियस्तरकै पत्रिकामा बोलपत्र आह्वान भइसकेको छ भने कार्यसमितिमा उपाध्यक्षदेखि सदस्यसम्म पुरानै अनुहार छन् ।

कर्माछिरिङ शेर्पा अध्यक्ष हुदाँ ल्याइएको परियोजनामा पंकजले नै विरोध गर्दै आइरहेका थिए । खेलकुदको यो राजनीतिले गर्दा ठूलो योजना गुम्ने खतरा बढेको एन्फा कास्कीका एक सदस्यको भनाइ छ ।

गण्डकी प्रदेश फुटबल संघका महासचिव रमेश कार्कीले परियोजाबारे नयाँ कार्यसमिति मुकदर्शक बनेको आरोप लगाए ।सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तुष्टि जनाउँदै उनले नयाँ कार्यसमितिले यो योजनालाई विथोल्न षड्यन्त्र गरिरहेको आरोपसमेत लगाएका छन् ।
एन्फाको तेस्रो बैठकको एजेन्डामा समावेश नहुनु र बोलपत्र आह्वान भएको लामो समयसम्म पनि केही कुरा बाहिर नआउनाले थप शंकाको दायरामा ल्याएको उनको धारणा छ । ‘के गर्र्दै छ एन्फा ? तेस्रो बैठकमा पनि एजेण्डामा समावेश नहुनु, बोलपत्र आह्वान भएको महिनौ बित्दा समेत केही कुरा बाहिर नआउनुले कतै यो योजनामाथि षड्यन्त्र त भइरहेको छैन । फिफा र एएफसीको सहयोग र नेपाल सरकाले पनि लगानी गरिसकेको यहाँहरुलाई जानकारी नै छ’, उनले भने,‘एन्फाको नवनिर्वाचित टिमले जुनसुकै बहानामा यो योजना विथोल्ने प्रयास गरेमा नेपाली फुटबल विकासमा ठूलो दुर्घटना हुनेछ ।’

एन्फा कास्की अध्यक्ष उज्ज्वलले दोहोरो कुरा गरेका छन् । आफु अनभिज्ञ रहेको बताएका उनले नेम्वाङसँग आन्तरिक कुरा भएकोसमेत बताए । ‘वास्तविकता के हो हामी गएर बुझ्ने छौँ । परियोजनाबारेमा जानकारी लिन हामी त्यहाँ जानेछौँ । मलाई जानकारी नै भएन, अनभिज्ञ छु त्यसैले यो बारेमा बुझेर बोल्दा राम्रो होला’, उनले भने,‘यस विषयमा अध्यक्षसँग आन्तरिक कुरा भइरहेको छ । उहाँले पनि एकपटक गएर हेर्नु भन्नुभएको छ ।’ उनको यो कुराले पनि यसबारे पहिला नै कुरा भएको भन्ने बुझिन्छ । परियोजनाबारे जानकार हुदाँहुदैँ पनि वेवास्ता गरेकै देखिएको छ । उता मिलन गुरुङले भने नयाँ कार्यसमितिले फिफासँग जुम बैठक गरेर परियोजनाको सहयोगलाई रकमानान्तरण गरेर लिग लगायत अन्य कार्यमा खर्च गर्न प्रस्ताव गरेपनि फिफाले नमानेको बताए । अरबाँैको परियोजना विफल पार्न पंकज नेतृत्व हिजोदेखि नै लागि परेको उनले आरोप लगाए ।

यस्तो छ परियोजना

यो एक फुटबलको बहुउदेश्यीय परियोजना हो । विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै ड्रिम प्रोजेक्ट नेपाललाई दिएको हो । फिफा अन्तगर्तको यो एसियाकै सबैभन्दा ठूलो लगानी हो जुन, एन्फालाई दिइएको छ । एन्फाले उक्त प्रोजेक्ट कास्कीको भेंडाबारीमा बनाउने योजना अघि बढायो ।

मिनी रंगशालासहितको एन्फा टेक्निकल सेन्टरका लागि डिपिआर तयार भइसकेको छ । स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाईसमेत गरियो । एन्फाको टेक्निकल टिमले स्थलगत निरीक्षण गरेर भ्याए । सबै तरिकाले उक्त स्थल प्रोजेक्टका लागि योग्य ठहरियो ।
२०७६ सालमा नेपालले प्रोजेक्ट पाएसँगै कास्कीमा बनाउने योजना अघि बढेको थियो । २०७७ सालमा उक्त प्रोजेक्टको शिलान्यास गरिने बताएपनि कोरोना महामारीका कारण योजना अघि बढ्न सकेन् । योजनाको चौथो वर्ष अर्थात् २०७९ सालमा आएर बल्ल बोलपत्र आह्वान भएको छ ।

फुटबलको मात्र नभई स्थानीयस्तरमै विकासका गर्ने अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिने उक्त प्रोजेक्टको सपना देखेका स्थानीय पनि कहिले बन्छ भन्ने आशामा बसिरहेका छन् । फिफाको आर्थिक सहयोगमा बन्ने परियोजनाको लागत निकै ठूलोे छ । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैयाँ छुट्टिएको छ । एन्फाले ४ चरणमा काम सक्नेछ । ३ सय ५२ रोपनी जग्गामा बन्ने परियोजनाको पहिलो चरणअन्तर्गत अभ्यास मैदान, छात्रवास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ । टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, दुई कृतिम मैदान, दुई बालुवा मैदान, स्विमिङपुल, रेष्टुरेण्ट,पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा रहेको छ । पाँच सय रोपनी जग्गा २० वर्षका लागि भोगचलन लिएको उक्त योजना पूरा गर्न ८० देखि ९० करोडसम्म लाग्ने अनुमान छ ।

प्रोजेक्टको शिलान्यास नभएतापनि माछापुच्छे« गाउँपालिकाले भने खोलाले कटान हुन सक्ने क्षेत्रमा २ सय मिटरसम्म बाध लगाइदिएको छ भने, प्रदेश सरकारले पनि उक्त परियोजनाका लागि आवश्यक बजेटको विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->