पोखरा/ २०७६ असारमा गण्डकी प्रदेशमा एउटा विश्व कीर्तिमान कायम गरियो । विश्वकै सबैभन्दा उचाईमा हक्की खेल्दै विश्व कीर्तिमानी कायम भएको थियो । तर, त्यो कीर्तिमानी नेपालले होइन्, युरोपियन मुलुक बेलायतले कायम गरेको हो ।
नेपालमा हक्की खेलको इतिहास निकै लामो छ । नेपालमा खेलकुदको इतिहासमा हक्की सबैभन्दा पुरानो खेल मध्येको एक हो । तर, यहाँ हक्कीकै लागि कुनै पूर्वाधार नै छैन् । नेपालमा हक्की खेलमा सम्भावना देखेर ४ वर्ष अघि बेलायतका व्यवसायीक हक्की खेलाडीको सिंगो टिम नेपाल आएका थिए । २०७६ असार ३१ गते बेलायतबाट आएका ३४ जना खेलाडी मध्ये ३१ जनाले मुस्ताङको थोरङ्लामा विश्व कीर्तिमानी कायम गरेका थिए । पाँच हजार २० मिटर उचाईमा १ घण्टा हक्की खेलेका थिए ।
विदेशीले आएर विश्व कीर्तिमानी कायम गरेको खेलको महत्व गण्डकीमा भने छैन् । उसो त गण्डकीले राष्ट्रिय खेलकुद प्रतियोगिता तथा अन्य राष्ट्रिय स्तरको प्रतियोगितामा पदक जित्न सफल मध्येको खेलमै पर्छ हक्की । विना खेलमैदान, विना प्रशिक्षक गण्डकीमा हक्कीका खेलाडी उत्पादन भई रहेका छन् । अझ पछिल्लो समय हक्की खेलको लोकप्रियता समेत बढ्न थालेको छ । सरकारले हेला गरेपनि खेलाडीले भने यस खेललाई लोकप्रिय खेलको रुपमा अघि बढाउन पोखरामा विद्यालयस्तरमा शिविर नै चलाएका छन् । जसरी समाजमा एउटा गरिब, दलित, असाहय व्यक्तिहरु राज्यबाट पिछडीएका छन्
त्यसरी नै यो खेल पनि राज्यबाट पिछडीएको छ,अन्यायमा परिरहेको छ ।
अहिले दैनिक ५०–६० जनासम्म खेलाडीहरु पोखरा रंगशालामा प्रशिक्षणमा आउने गर्दछन् । विडम्बना आफ्नै मैदान छैन् भएको मैदानमा पनि छुवाछुत गरिन्छ । नेपालमा जातिय रुपमा मात्रै नभई खेलकुदमा समेत छुवाछुत हुँदे आइरहेको छ । जहाँ खाली भेट्यो त्यहाँ खेल्न पुग्छन् हक्की खेलाडी । कहिले फुटबल मैदान, कहिले भलिबल, कहिले कर्भडहल त कहिले पार्किङ क्षेत्रमा गएर अभ्यास गर्ने गर्दछन् ।
गण्डकीको भलिबल, फुटबल भन्दा बलियो हक्कीको दयनिय अवस्थालाई अहिलेसम्म कुनै निकायले देखिरहेको छैन् । अहिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहेको अवस्थामा हक्की खेल कहाँ खेलाउने भन्ने नै अन्योलको विषय हो । खेलकुदको राजधानी कथित पोखरालाई राजधानिको रुपमा भन्ने अधिकार नै देखिदैन् । यदि खेल राजधानी बनाउने हो भने त यहाँ खेलिने सबै खेलले न्याय पाउन पर्ने हो तर, त्यसो हुन सकिरहेको छैन् । अन्य खेलमा स्वयम् सेवक प्रशिक्षक देखी राज्यकै संरक्षण भइरहँदा हक्की खेलले भने त्यो सेवा पाउन सकिरहेको छैन् । नवौं राष्ट्रिय खेलकुद नजिकिदैँ गर्दा खेलाडीहरु
आफै प्रशिक्षक, आफै व्यवस्थापक र आफै फिजियो थेरापिस्ट बन्न बाध्य भएका छन् ।
गण्डकीको प्रतिनिधित्व गर्दै आइरहेकी पेमा परियारले आफुहरुले जति जान्यो त्यति नै सिक्दै आइरहेको सुनाइन् । उनले खेल मैदान अभाव र प्रशिक्षक विनापनि अभ्यास गर्दै आइरहेको बताइन् । उनी भन्छिन्,‘हामीसँग कोच हुनुहुन्न । मैदानपनि छैन् कहिले यता कहिले उता खेल्ने गरेका छौँ ।’ गण्डकीको महिला हक्की पुरुष हक्की भन्दा केही अब्बल मानिन्छ । टोलीले हरेक प्रतियोगितामा कुनै न कुनै पदक लिएरै आएकै हुन्छ । ‘हामीलाई खेल्न मन लाग्छ । कसैले रोकेर हामी राकिदैनौँ । जता खाली ठाउँ देख्यो त्यतै खेल्छौँ गाली खाएरै भएपनि’ पेमाले भनिन् ।
यस्तै हक्की खेलमा रमाउँदै आएकी नयाँ
खेलाडी पुजा पुनले आफुले भारतमा हक्की खेल्छ भन्ने थाहा पाएपनि नेपालमा भने पछि मात्रै थाहा पाएको सुनाइन् । साथिको माध्ययमबाट हक्की आएकी उनी मैदान र प्रशिक्षक विनापनि खुसी साथ खेलिरहेकी छिन् । ‘हाम्रो आफ्नै ठाउँछैन् अर्काको ठाउँमा खेल्दा कहिले काहिँ त गाली गरेर धपाउँछन्’ उनले भनिन्,‘कहिले काहीँ त हामीलाई निकै हेपेको भन्ने लाग्छ र दुःख लाग्छ ।’ यस्तै खेलाडीहरुलाई सिकाउँदै आइरहेका अर्का खेलाडी राजन नेपालीले प्रशिक्षकको अभावले प्रशिक्षणमा निकै समस्या आएको सुनाए । ८ वर्षदेखी गण्डकीको प्रतिनिधित्व गरिरहेका उनले राज्यबाट कुनै सहयोग नगरेको बताए । नियमित प्रतियोगिता नहुने र राज्यको नजर नपर्दा यो खेलको महत्व पनि घटिरहेको छ । यतिमात्र होइन् राज्यका ठूला पदमा भएकाबाट नै भारतमा त यस्को महत्व छैन नेपालमा भएर के गर्ने ? भन्ने किसिमका अभिव्यक्तिले यो खेललाई उपेक्षित गरेको देखिन्छ । ‘ठूलो सरहरुबाट (नेतृत्वमा पुगेका पदाधिकारी) नै यो खेल भातरमा त खासै खेलिदैन नेपालमा के काम भनेको पनि सुनियो’ त्यसैमा थप्छन्,‘हामीले धेरै पटक मैदानका लागि यो कुरा राखेका हौँ । हामीलाई आफ्नै मैदान चाहिएको छैन् खेल्न मिल्ने मैदान दिए पुग्छ ।’
हक्की फुटबल खेल्ने मैदानमा पनि खेल्न मिल्छ । विशेषगरी अन्तराष्ट्रिय मापदण्ड अनुसार ११ जना खेल्ने गरेपनि सेभेन ए साइड, सिक्स ए साइड समेत खेल्न मिल्छ । हक्की इन्डोर, आउटडोर दुवै क्षेत्रमा खेल्न मिल्छ । हक्कीका लागि विशेष गरी लम्बाई ९४ मिटर र चौडाई ५५ मिटर हुने गर्दछ । गण्डकी प्रदेशले यसलाई महत्व दिने हो भने आगामी प्रतियोगितामा समेत यसले खेलकुदमा उचाई लिनेछ । खेलाडीको लगाव हुदाँहुदै पनि राज्यको ध्यान नजादा खेलको स्तरीयता बढ्न सकिरहेको छैन् । विदेशीले नेपाली भुमीमा होइन नेपालीले विदेशी भुमीमा विश्व कीर्तिमान कायम गर्ने वातावरणको सिर्जना हुन आवश्यक छ । यसका लागि राज्यको साथ र समर्थनको खाचोँ खड्कीएको छ ।





