नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (२५) घरेलु बन्धन र सामाजिक परिधि नाघेर आफू स्थापित मात्र भइनन््, प्रेरणाको स्रोतसमेत बनेकी छन् ।
छोरी अर्थात् नेपाली समाजमा घर सम्हाल्ने, अर्काको घर जाने, खुलेर हिँड्न नपाइने, सबै सहेर बस्नुपर्ने आदि इत्यादि । यो नेपाली समाजको चरित्र हो । नेपाली समाजले महिलालाई यसरी खेदेको छ कि उबेला जसरी राजाले प्रजालाई पिंजडामा राखेको थियो ।
एक महिला जो परिवारबाहेक समाजमा पुरुषकै आसपास हुर्किन्छ, बढ्छ, उनीहरुसँगै संगत गर्छ । त्यस्तो महिलालाई हाम्रो समाजले पक्कै पनि राम्रो ठान्दैन् । विशेष गरी ग्रामीण भेगमा त महिला पुरुषबीच विभेद हुने नै गर्छ । अझै पनि नेपाली समाजले महिलालाई सहजै स्वीकार गरेको अवस्था नै छैन् ।महिलाले केही गर्न लाग्यो भने समाजले नै तगारो लगाइदिन्छ । त्यहि तगारो र खरो पितृसत्तात्मक समाजबाट अघि बढ्दै सफलता चुमेकी युवती हुन् ‘साम्बा’ उर्फ सावित्रा भण्डारी । उनको नामै काफी छ । नहुन पनि कसरी ? दक्षिण एशियामै उत्कृष्ट युवा स्टार जो हुन् । सावित्रा अर्थात फुटबल, फुटबल अर्थात् विश्वकै अति लोकप्रिय खेल । नेपालमा पनि फुटबलको लोकप्रिय उखुम छ । त्यही खेलबाट उदाएकी दक्षिण एशियाकै उत्कृष्ट फरवार्ड हुन् साम्बा ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (२५) घरेलु बन्धन र सामाजिक परिधि नाघेर आफू स्थापित मात्र भइनन््, प्रेरणाको स्रोतसमेत बनेकी छन् । ब्राजिलियन ‘साम्बा’ नृत्याङ्गनालेजस्तै कपाल रंग्याएर खेल्ने भएकै कारण उनले साम्बा उपनाम पाएकी हुन् ।
लमजुङ, सिमपानीकी सावित्रा भण्डारी गाउँमा कृषि काम गर्ने उनी चार दिदीबहिनीमध्ये साहिंली हुन् । छोटो कपाल पाल्ने, कुर्था सारी नलाउने, कसैको डर नमान्ने घमण्ड नगर्ने उनीमा फुटबलको प्रतिभा लुकेर बसेको थियो । पितृसत्तात्मक समाजको नेपाली फुटबल इतिहासमा पुरुषले अहिलेसम्म बनाउन नसकेको दुर्लभ इतिहास उनको नाममा रहेको छ । छोटो समयमा उनले नेपाली फुटबलमा मात्रै नभइ दक्षिण एशियाकै फुटबलमा धमाका मच्काइन् । सावित्रालाई कसैले साम्बा भन्छन् त कसैले लेडी रोनाल्डो । हुन पनि उनको खेल कौशलले उनलाई रोनाल्डो नै बनाएको छ । रोनाल्डोझैँ उनको पनि रेकर्ड छ । जुन रेकर्ड नेपाली खेलकुदको इतिहासमा दुर्लभ नै हो । उनले ३८ अन्तर्राष्ट्रिय खेल खेल्दा ३८ अन्तर्राष्ट्रिय गोल नै गरेकी छिन् ।
महिला खेलाडी अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी भंग गर्दै उनले नयाँ कीर्तिमानी कायम गरेकी हुन् । पुरुषतर्फ अन्तर्राष्ट्रिय गोलको रेकर्ड १२ मात्रै हो । अझ रोमाञ्चक कुरा त के हो भने उनले कहिल्यै कुनै प्रतियोगिता खेलिनन् । कुनै क्लबमा आबद्ध भइनन् । जुन वर्ष फुटबल खेलिन् त्यही वर्ष ए डिभिजन क्लबमा पुगिन् र नेपालको लागि पनि खेलिन् । १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनीसँग न बुट थियो न त जर्सी नै, बल त परको कुरा । टोलमा सिनियर पुरुषहरु फुटबल खेल्दै गर्दा उनी आफै सामेल हुन जान्थिन् र खेल्थिन् । ‘मसँग बुट थिएन्, बल पनि थिएन, जर्सी हुन्थेन् कहिले काही दाइहरुसँग मोजाको बल खेल्थँे, त्यो पनि स्कुलबाट आएर घरको काम सकेपछि’ उनले भनिन् ।
फुटबलमा आउनुभन्दा अघि उनी एथलेटिक्स र भलिबल खेलाडी हुन् । उनले २०६८ र ०६९ मा अममर उमा.विबाट राष्ट्रपति रनिङ शिल्ड खेलिन् । १०० मिटर दौडमा स्वर्ण जितिन् । ८ महिनाको अवधिमा ग्रामीण फुटबलबाट सिधै अन्तर्राष्ट्रिय फुटबलमा चम्किने तारा सम्भवत् उनी नै पहिलो हुन् ।
सावित्राको फुटबलको यात्रा २०७० सालबाट सुरु भएको हो । लमजुङको घलेगाउँमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा महिला नकआउट फुटबल प्रतियोगिता भयो । त्यो प्रतियोगितामा उनी आफँले टिम बनाएर लगिन् । खेलमा सहभागिमात्रै होइन् उनको टिम च्याम्पियन नै बन्यो । सोही खेल खेलाउन काठमाडौंदेखि आएका रेफ्री शुक्र लामाले उनलाई काठमाडौं बोलाए । साउनमा उनको पाइला काठमाडौं लम्कियो । राजधानी लम्किएको उनको पाइला गाउँमा फर्किएन् । सन् २०१४ मा उनले राष्ट्रिय टिममा डेब्यु गरिन् । डेब्यु खेलमा नै उनले गोल गर्दै गोलको खाता खोलिन् ।
पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानलाई ८–० ले हराएको थियो । एकै वर्षमा पहिलो खेल त्यसपछि ए डिभिजन क्लब अनि राष्ट्रिय टिम, अन्तर्राष्ट्रिय खेल अनि गोल । त्यो वर्ष फलदायी नै भयो उनको लागि । ‘एपिएफमा ट्राइलको लागि साउनमा गएँ । भदौमा सिधै टिममा परँे अनि राष्ट्रिय महिला लिग खेलेँ । त्यहाँ देखि मेरो फुटबल यात्रा सुरु भयो’, उनले भनिन् । त्यसपछि नेपाली फुटबलमा मात्रै नभई विश्व फुटबलमा नै प्रख्यात हुदँै गइन् । उनले भारतमा हुने आइ लिगमा दुई सिजन फरक टिमबाट खेल्दा दुवै टिम च्याम्पियन बन्यो । दुई सिजननै उच्च गोलकर्ता भइन् । उनले सेथु र गोकुलमलाई च्याम्पियन बनाइन् । उनी आइलिगको अहिलेसम्मकै उच्च गोलकर्ता हुन् ।
उनको त्यो यात्रामा पुग्न नेपाली फुटबलरलाई अझै कति वर्ष लाग्ने हो थाहा छैन् । महिला मात्रै होइन्, उनको रेकर्ड पुरुषले समेत तोड्न सकिरहेका छैनन् । कुनैपनि उमेर समूहको खेल नखेलेकी सावित्राको फुटबल मोहले नै उनलाई त्यो स्थानसम्म पु¥याएको हो । उनीभित्र लुकेको कौशलताले आज दक्षिण एशियाकै उत्कृष्ट महिला स्ट्राइकरको रुपमा उभ्याएको छ ।
उनको त्यो यात्रा भने केही समय रोकिन पुग्यो । ०७७ साल फागुनमा भएको राष्ट्रिय महिला लिग दौरान नेपाल पुलिस क्लबसँगको खेलको क्रममा दायाँ घुँडामा गम्भीर चोट बोक्न् पुगिन् । खेलको ७९औं मिनेटमा मैदान छाडेकी उनी महिनौ मैदान बाहिर नै बसिन् । चोट लाग्नुअघि लिगको १० खेलमा सावित्राले ४३ गोल गरेकी थिइन् । सावित्रा लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् । ०७८ सालमा उनले कुनै प्रतियोगिता खेलिनन् । अहिले पुनः उनको पुनरागमन भएको छ ।
पुनरागमनसँगै उनी साफ च्याम्पियनसिप तयारीमा रहेकी छिन् । यस्तै भारतमा हुने आइ लिगका लागि पुनः गोकुलममा अनुबन्ध भएकी छिन् । ‘चोट बोकेपछि धेरै खेल गुमाए । निकै नरमाइलो लाग्यो । यो मेरो जिवनकै सबैभन्दा नरमाइलो पल रह्यो । फुटबलबाट टाढा रहनु प¥यो अब भने ठीक छु’ ,उनले भनिन् ।





