आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

करारमै भएपनि प्रशिक्षक राख्छौँ : खेलकुद मन्त्री गहतराज

करारमै भएपनि प्रशिक्षक राख्छौँ : खेलकुद मन्त्री गहतराज


  • विजय नेपाली
  • भाद्र ६ २०७९, सोमबार

पोखरा/ आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य सचिवालय पोखरामा स्थापना गरिएको छ । खेलकुद संघीयतामा नगए पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई संघीयताको झनक दिँदै आइतबार सचिवालयको संयुक्त रुपमा उद्घाटन गरिएको छ । संघ, प्रदेश र स्थानीय तहकै जिम्मेवारी रहेका कारण संयुक्त रुपमा संघीय सरकारका खेलकुद मन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सचिवालयको उद्घाटन गरेका हुन् ।

सोही क्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले संघले रकम विनियोजन गर्दै प्रतियोगिता आयोजनामात्रै गरेको सुनाए । उनले प्रतियोगितालाई व्यवस्थापनदेखि लिएर सफल बनाउने काम प्रदेश र स्थानीय तहको रहेको सुनाए । उनले प्रमुख पर्यटकीय सहर पोखरा आयोजक रहेको र यसमा प्रदेशको अपनत्वको खाँचो रहेको बताए । उनले प्रतियोगिता व्यवस्थापनका लागि प्रदेश र स्थानीय तहलाई कुनै आर्थिक भार नपर्ने बताउँदै प्रतियोगितामा लोकप्रियता बढाउने किसिमको काम गर्नुपर्नेमा जोड दिए ।

यो पोखराका लागि ऐतिहासिक प्रतियोगिता रहेका कारण सम्पूर्ण व्यवस्थापनको जिम्मा पोखराले नै लिनुपर्ने उनको भनाइ थियो । ‘यो हामी तिनै तहको सरकारको साझा दायित्व र जिम्मेवारी हो । त्यसैले पोखरामा हामीले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छौँ’, उनले भने । विभिन्न खेलमा प्रशिक्षकको अभाव भएको कुरालाई तत्काल सम्वोधन गर्नका लागि करारमै भएपनि प्रशिक्षक राख्ने उनले बताए । ‘हाम्रो बोर्ड बैठकमा पनि प्रशिक्षकको कुरा उठेको थियो ।

राखेपका कति प्रशिक्षक छन् ? के कस्तो स्थिति छ, त्यो बारेमा सर्भे भइरहेको छ’, उनले भने,‘ नवौंका लागि देशभर प्राविधिक कति लाग्ने हो त्यो पनि हामीले सर्भे गरिरहेकै छौँ । प्रशिक्षक भएन भनेर चिन्ता लिन पर्दैन । करारमै प्रशिक्षक राख्ने केन्द्रले व्यवस्थापन गर्छ ।’ केन्द्रले १२५ जना प्रशिक्षक नवौंका लागि राख्न लागेको छ ।

प्रत्येक प्रदेशमा १० देखि १५ जनासम्म प्रशिक्षक पठाउने योजना बनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले अब पोखराबाट नै सबै काम हुने बताए । उनले केही समय काठमाडौंबाट पनि काम हुने र त्यसपछि पूर्ण काम पोखराबाट गरिने बताए । ‘अब पोखरामा केन्द्रीय सचिवालय स्थापना भएको छ । नवौंसम्बन्धी सम्पूर्ण काम पोखराबाट नै हुनेछ’, उनले भने, ‘यसका लागि म पनि पोखरामा नै हुनेछु तर केही समय काठमाडौंबाट पनि काम हुनेछ पछि सत्प्रतिशत पोखराबाट नै हुने हो ।’ उनले ३६ खेलको अन्तिम टुंगो लगाइने पनि बताए । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगितामा ३६ खेल हुने भनिएको छ ।

३६ खेलमा हुने विभिन्न इभेन्टका लागि कम्तिमा पनि ४ टिमको सहभागिता अनिवार्य छ । यदि ४ टिमको सहभागिता नरहेको खण्डमा त्यो इभेन्ट हुनेछैन् । उनले टिम तयारीबारेमा बोल्दै संघको काम प्रतियोगिता आयोजना गर्ने रहेको र टिम तयारी सम्बन्धित प्रदेशले नै गर्नुपर्ने बताए । टिम तयारी नभएको भन्ने गुनासोमा प्रदेश सरकार नै बढी जिम्मेवारी रहेको बताए । उनले राखेपले अन्तराष्ट्रिय स्तरमा प्रमाणपत्र प्राप्त व्यक्तिलाई प्रशिक्षक अभाव भएका स्थानमा पढाउने तयारी गरिसकेको बताए । ‘हामीले अन्तर्राष्ट्रिय नियम जानेका र बुझेकालाई नै प्रशिक्षकको रुपमा ल्याउँने छौँ । यसले गर्दा खेलाडीहरुले अन्तारष्ट्रिय नियमका बारेमा थाहा पाउनेछन्’, उनले भने ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफुहरु अनौपचारिक रुपमा छलफल गर्दै आइरहेपनि अब समय नजिकिएका कारण तीब्र रुपमा लागिपर्ने बताए । मुख्य मन्त्री गुरुङले यो प्रदेशको मात्रै नभइ राष्ट्रकै गौरवको कुरा रहेकाले तीनवटै तहको सरकारले संयुक्त रुपमा प्रतियोगिता सम्पन्न गर्नका लागि अभियान चलाएको बताए । उनले प्रतियोगिताले प्रदेशमा जिम्मेवारी थपिएको सुनाउँदै नेपालभर यसको व्यापक प्रचार गर्न अनुरोध गरे । नवौंका लागि प्रदेश सरकारको साथ र सहयोग रहेको सुनाउँदै उनले मुख्य सचिवालयलाई आवश्यकताका बारेमा जानकारी गराउँदै समन्वय गर्न अनुरोध गरे ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटकीय नगरीमा खेल हुन लाग्दा आफूहरुले गर्नुपर्ने काममा केही कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । उनले ३९ वर्षपछि पोखरामा आएको प्रतियोगितालाई ऐतिहासिक बनाउने गरि महानगर लाग्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->